कोरोनाको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’: फेरि संक्रमण फैलिन सक्ने चेतावनी
हेल्थ टिभी अनलाइन : विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको नयाँ भेरिअन्टलाई भेरिअन्ट अफ कन्सर्न घोषणा गरेको छ र यसलाई ओमिक्रोन नाम दिएको छ।
यो भेरिअन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको छ र प्रारम्भिक प्रमाण अनुसार यो भेरिअन्टबाट सङ्क्रमणको जोखिम उच्च रहेको डब्लुएचओले जनाएको छ।
यो भेरिअन्ट पहिलो पटक नोभेम्बर २४ तारिखमा दक्षिण अफ्रिकामा पाइएको डब्लुएचओलाई जानकारी गराइएको थियो। हालसम्म ओमिक्रोन बोत्स्वाना, बेल्जियम, हङकङ अनि इजरेलमा पनि पुष्टि भएको छ।
कैयौँ देशहरूले दक्षिण अफ्रिका जाने वा आउने क्रमलाई पूर्ण प्रतिबन्ध लगाएका वा सीमित पारेका छन्। दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीबाट आउने यात्रुहरूमा उनीहरू यूके वा आयरल्यान्डका नागरिक वा यूकेका वासिन्दा रहेको अवस्था बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ। अमेरिकाले पनि यस्तै खाले व्यवस्था कायम गरेको छ। यी व्यवस्था सोमवारबाट लागु हुने छ।
युरोपेली सङ्घ अन्तर्गतका राष्ट्र र स्वीट्जरल्याण्डले पनि अस्थायी रूपमा दक्षिण अफ्रिकी राष्ट्रहरूसँगको हवाई यात्रामा रोक लगाएका छन्। समय अनुसार भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्नु वा उत्परिवर्तन हुनु नयाँ विषय होइन। भाइरसको कुनै पनि भेरिअन्ट तब भेरिअन्ट अफ कन्सर्न बन्छ जब यसमा हुने उत्परिवर्तनले सङ्क्रामक क्षमता, खोपको प्रभावकारिता अनि यसले गर्न सक्ने खराबीमा प्रभाव पार्छ।
शुक्रवार विश्व स्वास्थ्य सङ्गठनले सुरुमा ओमिक्रोन भेरिअन्टका कारण दक्षिण अफ्रिकाका सबै जसो राज्यहरूमा सङ्क्रमण बढी रहेको पाइएको जनाएको थियो।
वैज्ञानिकहरूले यो भेरिअन्ट कत्तिको सङ्क्रामक छ भन्ने कुराको अनुसन्धान गरिरहेका बेला उसले यो नयाँ भेरिअन्टको प्रभाव बुझ्न केही हप्ता लाग्ने जनाएको छ।
बीबीसीबाट :





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण