‘क्यान्सर मृत्यु होइन, यसलाई जित्न सकिन्छ भन्ने उदाहरण म आफैँ हुँ’
क्यान्सर बुढेसकालमा लाग्ने रोग हो यो सामान्यतया उमेर काटेपछि मात्र लाग्छ भन्ने कुरा कञ्चन रेग्मीका लागि गलत साबित भएको छ। गोरखा घ्याल्चोककी २३ वर्षकी कञ्चनलाई डेढ वर्षअघि क्यान्सर भएको देखियो तर अहिले उनी क्यान्सरमुक्त भइसकेकी छिन्
पेशाले नर्स उनी नेपाल क्यान्सर सपोर्ट ग्रुपले पुस २७ मा आयोजना गर्न लागेको र्याम्प शोमा भाग लिँदैछिन्।
डेढ वर्षअघि कञ्चनलाई खाना खाएपछि अचानक पेट दुख्ने, खानामा अरुचि हुने, महिनावारीमा गडबडी हुनेजस्ता समस्या देखा पर्यो। सामान्य होला भनेर केही दिन कसैलाई भनिनन्। अति नै दुख्न थालेपछि आमालाई सुनाइन्। र तत्काल जाँचका लागि अल्का अस्पताल गइन्।
‘म आफैँ अल्का अस्पतालको नर्सिङ कलेजमा नर्सिङ तेस्रो वर्षमा पढ्दै थिएँ’, उनले भनिन्, ‘जाँच गर्दा डाक्टरले ओभरीमा ट्युमर छ भने।’ सिटी स्क्यान लगायतका जाँचहरु गरे। र शल्यक्रिया गर्नुपर्ने भयो। शल्यक्रियासँगै उनकोे ‘बायोप्सी’ पनि गरे। त्यसमा क्यान्सर देखिएछ। तर डाक्टरले खुलाउन हिच्किचाए।
क्यान्सरले कञ्चनलाई जीवनको अर्थ सिकाएको छ। सानै उमेरमा परिपक्व बनाएको छ। ‘अब जीवनभर क्यान्सररोगीको सेवामा लाग्ने इच्छा छ’, उनी भन्छिन्, क्यान्सरबारे जुन भ्रम छ, त्यसलाई हटाउन जरुरी छ। क्यान्सर मृत्यु होइन। यसलाई जित्न सकिन्छ भन्ने उदाहरण म आफैँ हुँ।’
‘म आफैँ मेडिकल विद्यार्थी भएकाले डाक्टरलाई सोधेँ, मलाई क्यान्सर त छैन डाक्टर सा’ब भनेर’, उनले भनिन्, ‘डाक्टरले त्यस्तै छ तर आत्तिनुपर्दैन भने।’
कञ्चनलाई डर लाग्यो, यो उमेरमै क्यान्सर लाग्यो भनेर। ‘तर, त्यो भन्दा बढी परिवारलाई कसरी सम्झाउने भन्ने चिन्ता थियो’, उनले थपिन्, ‘ममीबुवा अस्पतालमा बेहोशै हुनुभयो।’ आफ्नोबारेमा भन्दा पनि ममी बुवालाई केही होला कि भन्ने पिर भयो उनलाई। ममीबुबालाई सम्झाइन्, पिर गर्नुपर्दैन, ‘उपचार गरेपछि निको हुन्छ।’
आमाबुबाको चिन्ता अस्वाभाविक थिएन। भर्खर २२ लागेकी छोरीलाई क्यान्सर लाग्यो भन्दा चिन्तित नहुने को होला र! ‘तर मैले मेरो रोगको पिर गर्ने समय नै पाइनँ’, उनले सम्झिन्, ‘किनभने मलाई उहाँहरुको चिन्ता बढी थियो।’
आफैँ मेडिकलकी विद्यार्थी भएका कारण क्यान्सर लाग्दैमा मरिहालिँदैन भन्ने उनले बुझेकी थिइन्। त्यसैले उनी उपचारमा लागिन्। अल्का अस्पतालमा ट्युमर आधा मात्र निकालिएको थियो। नेपाल क्यान्सर अस्पतालमा दोस्रोपटक शल्यक्रिया गरियो। उनलाई केमो दिइयो।
‘केमो दिँदा मेरो कपाल पूरै झर्यो। त्यो बेला पनि ममीबुबा धेरै चिन्तित हुनुहुन्थ्यो’, उनले भनिन्, ‘तर मैले यो एउटा साइड इफेक्ट हो भन्ने बुझेकी थिएँ। पछि आइहाल्छ भनेर खासै चिन्ता लाग्दैनथ्यो।’
केमोले कञ्चनलाई बेस्सरी गलायो तर, हिम्मत भने गलेन। ‘दुई पटकको शल्यक्रिया र तीनपटकको केमो पछि म अहिले पूर्णरूपमा निको भएकी छु। फलोअपमा गइरहन्छु’,उनले भनिन्।
उपचार चलिरहेकै वेला नर्सिङको तेस्रो वर्षको पनि रिजल्ट आयो। उनी राम्रो नम्बर ल्याएर पास भइछन्।
अहिले आफूले उपचार गरेकै अस्पाताल नेपाल क्यान्सर अस्पतालमै कार्यरत छिन् उनी। क्यान्सर लागेका बिरामीको सेवामा खटिइरहेकी हुन्छिन्। ‘आफूजस्तै धेरै बिरामीको सेवा गर्न पाउँदा निकै खुशी लाग्छ’, उनी भन्छिन्।
क्यान्सरमा धेरैजनाको मनोबल कमजोर हुने र त्यसले गर्दा रोगले बढी च्याप्ने उनको बुुझाइ छ। आफू त्यसैबाट गुज्रेर आएको हुनाले अहिले उनी बिरामीलाई काउन्सिलिङ पनि गर्छिन्।
‘आफू क्यान्सर लागेर निको भएको उदाहरण दिँदै उनीहरूलाई बुझाउने गरेकी छु’, उनी भन्छिन्, ‘उनीहरू पनि मलाई हेरेर मन बलियो बनाउँछन्।’
क्यान्सरले कञ्चनलाई जीवनको अर्थ सिकाएको छ। सानै उमेरमा परिपक्व बनाएको छ। ‘अब जीवनभर क्यान्सररोगीको सेवामा लाग्ने इच्छा छ’, उनी भन्छिन्, क्यान्सरबारे जुन भ्रम छ, त्यसलाई हटाउन जरुरी छ। क्यान्सर मृत्यु होइन। यसलाई जित्न सकिन्छ भन्ने उदाहरण म आफैँ हुँ।’




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य