Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘राेग जटिल भइसकेपछि बिरामी आफूकहाँ आएको देख्दा साह्रै नरमाइलो लाग्छ’

‘राेग जटिल भइसकेपछि बिरामी आफूकहाँ आएको देख्दा साह्रै नरमाइलो लाग्छ’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. बुद्धि पौड्याल बाथरोगका अब्बल विशेषज्ञ चिकित्सक हुन्। उनी धेरै बिरामीको रोजाइमा पर्ने विशेषज्ञ हुन्। बिरामीलाई समय दिएर काउन्सिलिङ गर्ने बानीका कारण पनि उनको अस्पतालमा बिरामीको घुइँचो हुन्छ। सन् २००५ देखि पाटन अस्पतालमा बिरामी हेरिरहेका पौड्याल क्यानडाबाट बाथरोगमै ‘फेलासिप’ गरेर आएका हुन्।

‘परिवारमा बुवालाई बाथरोग थियो। त्यसबेला उहाँ यति कडा कडा औषधि खानुहुन्थ्यो कि’, उनी भन्छन्, ‘ती औषधि अहिले म कसैलाई पनि सिफारिस गर्न सक्दिन।’ ती कडा औषधिले मिर्गौला ‘फेल’सम्म गराउन सक्ने उनले बताए।
‘बुवाको रोग देखेर डाक्टर नै बन्छु, त्यसमा पनि बाथरोगकै भन्ने अठोट थियो’, उनले सम्झिए। पछि एमडी सकेर पाटन अस्पताल आउँदा संयोग पनि त्यस्तै पर्याे।

त्यही क्रममा उनले बाथरोगीसँग नजिक हुने मौका पाए र निर्णय गरे बाथरोगमै विशेषज्ञता हासिल गर्ने। त्यसबेला उपचार कम, बिरामीको समस्या बढी थियो।

 ‘बाथरोगी शहरमा मात्र छैनन्’, उनी भन्छन्, ‘गाउँगाउँमा समस्या छ तर सेवा छैन।’ शुरुमा उपचार गरेर राेकथाम गर्न सकिने भए जटिल भइसकेपछि मात्र बिरामी आफूकहाँ आएको देख्दा साह्रै नरमाइलो लाग्छ उनलाई।

बाथरोगका एक जना विशेषज्ञ यहाँँ छोडेर विदेश जाने भए। सबै जिम्मेवारी उनकै काँधमा आयो। ‘अब यही विषयमा विशेषज्ञता हासिल गर्नुपर्छ भन्ने सोच आयो’, उनले भने, ‘त्यसपछि क्यानडाको टोरन्टो गएँ, फेलोसिपका लागि।’ बाथरोगमा यसरी शुरु भएको थियो उनको यात्रा।

यकिन तथ्यांक नभए पनि नेपालमा अहिले झण्डै ६० लाख मानिसमा कुनै न कुनै प्रकारको बाथरोग छ। ‘पाटन अस्पतालबाहेक नेपालमा अन्य कुनै पनि सरकारी अस्पतालमा बाथरोगसम्बन्धी विशेषज्ञ चिकित्सक नै छैनन्’, उनी दाबी गर्छन्, ‘मोफसलको त कुरै नगरौँ।’

विशेषज्ञ चिकित्सकको कमीका कारण आएको समस्या कम गर्न नेपालमै बाथरोगको पढाइ हुनुपर्छ भनेर लामो समयदेखि लागिरहेका छन्, डा. पौड्याल। त्यसकै परिणाम यो पटकदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाका लागि ‘रुमाटोलोजी’मा दुर्इ वर्षे विशेष फेलोसिप पढाइ शुरु हुने भएको छ।

‘फाराम खुलिसकेको छ। यही सेप्टेम्बारदेखि पढाइ हुन्छ’, उनले भने। देशमै जनशक्ति उत्पादन हुँदा बाथरोगकाे उपचारमा देखिएको जनशक्ति समस्या कम हुँदै जाने उनको ठहर छ। ‘इन्टरनल मेडिसिन’मा एमडी गरिसकेका चिकित्सकले यसमा निवेदन दिन सक्नेछन्।

पाटन अस्पतालमा हाल सातामा तीन दिन बाथरोगीका लागि ओपीडी सेवा छ जहाँ सेवाग्राहीले सस्तोमा विशेषज्ञ सेवा लिन पाउँछन्। तर दैनिक सयौँको संख्यामा बिरामी जाँचका लागि आउँछन्। यसैगरी बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले सातामा एकदिन ‘पेइङ क्लिनिक’ समेत चलाएको छ।

बाथरोगका बिरामी दिनप्रतिदिन बढिरहेका छन्। तर विशेषज्ञ चिकित्सकको कमीका कारण बिरामीहरू सही ठाउँमा नपुग्ने कारण उपचारमा समस्या भइरहेको छ। यसैको फाइदा उठाउँदै ‘तीन महिना तालिम गरेर आएकाले पनि विशेषज्ञ हुँ’ भन्दै उपचार गरिरहेका छन्। यसले गुणस्तरीय सेवामा समस्या आइरहेको छ।

डा.पौड्याल बाथरोगका यस्ता प्राध्यापक हुन् जाे सरकारी अस्पतालमा बिरामी मात्र हेरिरहेका छैनन् जनचेतनाका लागि पनि अनवरत लागिरहेका छन्। ‘बाथरोगी शहरमा मात्र छैनन्’, उनी भन्छन्, ‘गाउँगाउँमा समस्या छ तर सेवा छैन।’ शुरुमा उपचार गरेर राेकथाम गर्न सकिने भए जटिल भइसकेपछि मात्र बिरामी आफूकहाँ आएको देख्दा साह्रै नरमाइलो लाग्छ उनलाई।

सरकारले मुटु मिर्गाैला लगायतका रोगमा सहुलियत दिएको छ। तर बाथरोगमा त्यस्तो कुनै सहयोग छैन। यो रोग झन् लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा लाग्ने हुँदा व्यक्तिको उत्पादशीलतमामै असर गर्छ। यो रोग निको नहुने रोकथाम मात्र गर्ने भएकाले औषधि खानुपर्ने हुन्छ। ‘सरकारले कम्तीमा औषधिमा मात्र सहयोग गरिदिए बिरामीलाई राहत हुन्थ्यो’, उनले भन्छन्, ‘अथवा स्वास्थ्य बिमाभित्र यो सेवालाई पार्न सके बिरामीलाई सजिलो हुन्थ्यो।’

दूरदराजसम्म औषधि नपुग्ने कारण यसकै लागि टाढाटाढाबाट शहर आउनुपर्ने बाधयता छ। यसलाई कम गर्नुपर्ने पौड्याल बताउँछन्। सरकारले बाथरोगको सहज पहुँचका लागि जनचेतनामूलक कार्यक्रम गर्न जरुरी रहेको उनको भनाइ छ।

जे होस् नेपलमै बाथरोगको पढाइ शुरु भएपछि अब भने केही राहतको महसुस गरेका छन् उनले। ‘कहिलेसम्म एउटा क्याम्पमा एकै दिनमा २०० जना बिरामी हेरेर बस्न साध्य हुन्छ’, उनी भन्छन्, ‘यसले उपचारको गुणस्तर झनै खस्किन्छ।’
यस्तो क्याम्पले अस्पतालको व्यापार मात्र बढाउने बिरामीलाई राहत नदिने बुझाइ छ उनको। नेपालमा बाथरोगको उपचारका लागि धेरै गर्न बाँकी रहेको उनले बताए।

थप समाचार