Health TV Online
Health TV Online

आगोले शरीर कुरुप बनायो, सकेन हिम्मत जलाउन

आगोले शरीर कुरुप बनायो, सकेन हिम्मत जलाउन

नेपालमा आगोले पोलेका बिरामी दिनप्रतिदिन बढिरहेका छन्। आगोले पोलेर बल्लबल्ल बाँच्नुकाे दुःख जति छ त्यो भन्दा बढी पीडा छ, समाजमा घुलमिल हुन।

तर आज हामी यस्तै साहसी ‘बर्न सर्भाइभर’को कुरा गर्दैैछौँ, जाे समाजका अपहेलना र तिरस्कार सहेरअात्मनिर्भरताकाे बाटाेमा अाफू मात्र लम्किरहेकी छैनन्, अाफूजस्तै अागाेले पाेलेका अरूकाे पनि मार्गनिर्देशक बनेकी छिन्। उनी हुन् काठमाडौं कपुरधाराकी ३९ वर्षीया राधा श्रेष्ठ।

ठ्याक्कै १२ वर्ष अघि राधा आशा नेपाल नामक एनजीओमा सामाजिक कार्यकर्ता रूपमा काम गर्थिन्। आफ्नै ‘बिजनेस’ पनि थियो। एचआईभीबारे सचेतना जगाउने काममा देशविदेश जानुपथ्र्याे। उनको घरमा विवाहको पनि कुरा चलिरहेको थियो। अचानक सन् २००६ को मार्च ३०मा उनको जीवनले अर्कै मोड लियो।

मार्च महिनाको एक दिन उनी भान्सामा पस्दा ग्यास गन्हाएजस्तो लाग्यो। आमाले बन्द गर्न बिर्सनुभयो होला भनेर बन्द गर्न लागिन् तर ग्यास पड्क्यो। उनको जीवनले रातारात अर्कै रूप लियो। ग्यास पड्केलगत्तै  आमा र उनलाई त्रिवि शिक्षण अस्पताल लगियो।

पूरै शरीर जलेकाले अामाछाेरी नै बाँच्न नसक्ने बताए, चिकित्सकले। उनीहरुलाई ‘रिफर’ गरियो सुष्मा मेमोरियल अस्पताल साँखुमा। पूरै शरीर जलेकी उनकी आमालाई चिकित्सकले बचाउन सकेनन्। उनलाई आमा बितेको जानकारी दिइएन। ‘आमाको काजक्रियामा सहभागी हुन कहाँ पाउनु?’ उनी सम्झिन्छिन्। त्यसो त उनको पनि बाँच्ने अवस्था निकै कम थियो। तर उनले हिम्मत छाडिनन्।

चिकित्सकको प्रयासले बाँच्न सफल भइन्। ३९ दिनको अस्पताल बसाइपछि उनी बाहिर त निस्किन् तर आगोले शरीर जलेका कारण चिन्नै नसक्ने अवस्था थियो। त्यसपछि झण्डै २ वर्ष त घरबाहिरै निस्किनन्।

आगोका कारण उनको अनुहारमा दाग बसेको छ। त्यो मेटिएको छैन। समाजले छिःछिः र दूरदूर गर्दा मैले के बिराएछु जस्तो लाग्छ रे उनलाई। ‘बाटोमा हिँड्दा मेरो जलेको अनुहार देखेर बाघ नै आएजस्तो गरेर मानिस तर्किन्छन्’, उनी गम्भीर हुँदै भन्छिन्, ‘शुरुशुरुमा निकै अप्ठ्यारो लाग्थ्यो तर आजभोलि बानी नै परिसक्यो।’

आगोले पोलिसकेपछि उनले जाागिरका लागि एक दुई ठाउँमा ‘अप्लाई’ पनि गरिन्। आगोले पोलेर शरीर नै कुरुप बनेकी उनलाई कसले दिने जागिर। पोलेको अनुहारले धोका दियो। उनीहरू सोझै भन्थे, ‘तपाइँको अनुहार नै यस्तो डरलाग्दो छ। तपाइँलाई देखेर मान्छे डराउलान्। कसरी जागिर दिने! पढाइ, सिप, अनुभव सबै हुँदाहुँदै पनि उनले काम पाइनन्। ‘त्यसपछि मैले आफैँ केही गर्नुपर्छ भन्ने भावना आयो’, उनले ती दिन स्मरण गरिन्।

आफन्त उनै हुन्। साथीभाइ उनै। समय फेरिएको छ। उनीहरूले गर्ने व्यवहार पनि बदलिएको छ। ‘आफ्नैले पनि नजिक नआए हुन्थ्यो जस्तो व्यवहार गर्दा भने साह्रै चित्त दुख्छ’,उनी भन्छिन्। अहिले अाफूलार्इ समाजले गरेको व्यवहार देखेर आमाको निधनले पनि उनलाई दुःखी बनाएन। किन? ‘मैले त समाजको अवहेलना सहने हिम्मत गरेर अगाडि बढेँ’ उनी भन्छिन्, ‘आमा रहनुभएको भए त्यसो गर्न सक्नुहुन्थेन।’

आगोका कारण उनको अनुहारमा दाग बसेको छ। त्यो मेटिएको छैन। समाजले छिःछिः र दूरदूर गर्दा मैले के बिराएछु जस्तो लाग्छ रे उनलाई। ‘बाटोमा हिँड्दा मेरो जलेको अनुहार देखेर बाघ नै आएजस्तो गरेर मानिस तर्किन्छन्’, उनी गम्भीर हुँदै भन्छिन्, ‘शुरुशुरुमा निकै अप्ठ्यारो लाग्थ्यो तर आजभोलि बानी नै परिसक्यो।’

आगोले पालेका धेरै त बाँच्दैनन्। बाँचेका पनि विशेषगरी महिलालाई बस्नै गाह्रो पर्छ। आगोले पोल्दा शुरुमा अनुहार नै पर्ने भएकाले अनुहार बिग्रिनेबित्तिकै समस्या उत्पन्न हुन्छ। यो १२ वर्षमा उनी यस्ता धेरै दिदीबहिनीकी कथा व्यथाबाट परिचित भइन्। ‘अरुको भरमा बाँच्न अझै कठिन छ’, उनले भनिन्, त्यसैले आफ्नै व्यवसाय शुरु गरेको।’

समाजसेवाप्रतिको भावना र काम गर्ने आत्मविश्वास हराउन सकेन, मरेको थिएन। अहिले उनी आफैँजस्तै आगोले पोेलेका दिदीबहिनीलाई आत्मनिर्भर बनाउनतर्फ तल्लीन छिन्। उनले ‘राधाको बर्न लेडी ग्रुप’ बनाएर हस्तकलाका सामग्री बनाउन शुरु गरेकी छिन्। जसमा अहिले १९ जना आगोले पोलेका दिदीबहिनीले काम गर्छन्। ‘आगोले पोलेर अंगभंग हुँदा घर परिवार र समाजले सजिलै ‘एडजस्ट’ गर्दैन’, उनले भनिन्, ‘त्यसैले उनीहरुले पनि बाँच्न त पर्यो भनेर यो काम सुरु गरेकी हुँ।’ यहाँ उनी यस्ता व्यक्तिलाई काम दिन्छिन्।

‘उनीहरू यतिखेर परिवारलाई बोझ होइन, हामी पनि परिवारलाई ‘सपोर्ट’ गर्न सक्छौँ’ भन्नेतर्फ लागेका छन्’, राधा भन्छिन्, ‘आगोले मेरो शरीर पोल्यो। कुरुप बनायो तर हिम्मत भने जलाउन सकेन।’ उनको यो काममा उनी जस्तै दिदीबहिनीले साथ दिएका छन्। उनको समूहमा आगोले पालेकै कारण श्रीमानले छाडेकादेखि घरपरिवारले ‘काम नलाग्ने’ भनेर घरनिकालासम्म गरेकाहरू छन्।

‘मैले शुरु गरेको यो काममा धेरै दिदीबैनी काम मात्र हैन एक अर्काका कुरा सुन्ने सुनाउने पनि गर्छन्’, उनी भन्छिन्, ‘म जस्ता अरु पनि छन् भन्ने अनुभूति हुन्छ।’ उनीहरु जम्मा भएर पोते, माला बनाउने लगायत काम गर्छन्। यस्तै कोही मैनबत्ती बनाउँछन्। कोही यी सामान बजारमा लग्छन्। २० प्रकारका सामान उत्पादन गर्छन्, उनीहरू।

उनीहले दुई तीनवटा मेलामा आफ्नो ‘स्टल’ समेत राखिसकेका छन्। राधा अहिले पूर्ण उद्यमीको रूपमा अघि बढीरहेकी छिन्। ‘आगोले पोलेकाहरु धेरै समाजको अवहेलनाकै कारण लुकेर बसेका छन्। उनीहरुलाई बाहिर ल्याएर आत्मनिर्भर गराउने प्रयास गरिरहेकी छु’, उनले भनिन्, ‘एक वर्ष पनि पुगेको छैन तर निकै राम्रो भएरहेको छ।’

उनीहरु यतिखेर तीज मेलाका लागि धमाधम काम गरिहेका छन्। तीजमा पोतेको माला धेरै बिक्ने भएकाले उनीहरू त्यसैमा लागिरहेका हुन्। यसरी समूहमा काम गर्दा उनीहरु आफ्ना सबै पीडा भुल्न सक्छन्। ‘काममा व्यस्त हुँँदा उनीहरुको नराम्रो कुरातिर ध्यान जाँदैन’, उनी थप्छिन्, ‘अर्को महत्त्वपूर्ण कुरा त कसैसँग हात फैलाउनु पर्दैन।’

‘यो मान्छे कामै लाग्दैन भनेर परिवारद्वारा हेलाँ गरिएकाहरू धेरै छन्’, उनी भन्छन्, ‘यस्ता व्यक्तिले केही गरेर देखाउन सक्छन्। उनीहरूले पनि परिवार पाल्न सक्छन् भन्ने हामी देखाउँदैछौँ।’

छुट्दाछुट्दै उनले सन्देश दिइन्, ‘आगोले पोल्दैमा जीवन समाप्त हुँदैन।’

थप समाचार