‘ठूलाबडा’ थुनुवाको स्वास्थ्य समस्या : वास्तविक कि बनावटी?

‘ठूलाबडा’ थुनुवाको स्वास्थ्य समस्या : वास्तविक कि बनावटी?

ठगी, करणी र अन्य फौजदारी आरोपमा पक्राउ परेपछि उच्च पदस्थ तथा प्रभावशाली व्यक्तिहरू अचानक बिरामी पर्ने र अस्पताल भर्ना हुने प्रवृत्तिप्रति मानिसहरूको चासो बढ्दै गर्दा प्रहरी तथा चिकित्सकले त्यो प्रवृत्तिले आफूलाई पनि पेशागत चुनौती थपिदिएको प्रतिक्रिया दिएका छन्।

हालैका दिनमा विभिन्न फौजदारी मुद्दामा पक्राउ परेपछि त्यस्ता केही आरोपितहरू अचानक बिरामी परेर अस्पताल भर्ना भएका विवरणहरू सार्वजनिक भएपछि त्यस विषयमा धेरैको चासो बढ्न थालेको हो।

एक महिलाले आफूलाई करणी गरेको भन्दै उजुरी दिएपछि प्रहरीले मंसिर १६ गते विराटनगरको एक निजी अस्पतालको आईसीयूबाटै सिद्धबाबा तथा कृष्णदासजी महाराज उपनामले चिनिने एक साधुलाई नियन्त्रणमा लिएर सुनसरी जिल्ला अदालत पुर्‍यायो।

अनुसन्धानका लागि पटकपटक म्याद थप भएको भए पनि उनी अहिलेसम्म त्यही अस्पतालको आईसीयूमै छन्।

उनका एक सहयोगी श्याम पौडेलका अनुसार कृष्णदासजीको ‘मुटुको चाल एक्कासि बढेकाले’ उनलाई अस्पताल लगिएको थियो। ‘चिकित्सकका अनुसार उहाँलाई सामान्य हृदयाघात भएको रहेछ’, उनले भने, ‘तर अहिले उपचारका क्रममा उहाँको अवस्थामा सुधार भइरहेको छ।’

गत असोज १९ गते जबर्जस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा पनि पक्राउ परेको केही दिनपछि ‘सास फेर्न गाह्रो हुने’ समस्याका कारण काठमाडाैंको एक निजी अस्पताल भर्ना भए।

उनका एक सहयोगीका अनुसार महरालाई पहिलेदेखि नै उच्च रक्तचापको समस्या थियो। अहिले पुर्पक्षको लागि डिल्लीबजार कारागारमा राखिएका उनको स्वास्थ्यस्थिति सामान्य रहेको उनले बताए।

कृष्णदासजी र महरा दुवैले आफूविरुद्धका अभियोगको प्रतिवाद गर्दै आफूहरू निर्दोष रहेको बताउँदै आएका छन्।

‘नपर्नु पर्ने ठाउँमा परेपछि उहाँको रक्तचाप र सुगर (रगतमा चिनीको मात्रा) बढेछ’, महराको पक्षमा बहस गरेका अधिवक्ता रमणकुमार श्रेष्ठले भने, ‘उहाँलाई चिकित्सकको रिपोर्टकै आधारमा अस्पताल भर्ना गरिएको थियो।’

केही समययता पक्राउ परेका प्रायः प्रभावशाली व्यक्ति वा ‘ठूलाबडा’ मानिने आरोपितहरू ‘कुनै न कुनै स्वास्थ्य समस्या’ देखाउँदै अस्पताल भर्ना हुने गरेको नेपाल प्रहरीको भनाइ छ।

कतिपय थुनुवाको स्वास्थ्य समस्या ‘बनावटी’ हुन सक्ने भए पनि प्रमाणित गर्न नसकिने प्रहरी अधिकारीहरू बताउँछन्।

कृष्णदासजीका बारेमा सुनसरीका डीएसपी विनोद शर्माले भने, ‘दुई हप्तादेखि उहाँ अस्पतालमै हुनुहुन्छ। वहाँलाई अक्सिजन दिइरहेको देख्छौँ। स्वास्थ्य लाभ पनि भइरहेको छ। चिकित्सकहरू हामीसँगै रिसाउँछन्। हामीले उहाँहरूको मानवअधिकारको सम्मान गर्नैपर्छ।’

 कस्ता कस्ता स्वास्थ्य समस्या?

चिकित्सक तथा प्रहरीका अनुसार हालैका दिनमा पक्राउ परेर अस्पताल लगिएका फौजदारी कसुरका आरोपितहरूमा ‘रक्तचाप तलमाथि हुने, छाती दुख्ने र अत्तालिने’ जस्ता स्वास्थ्य समस्या देखिएका छन्।

राजधानी काठमाडौंमा स्वास्थ्यमा समस्या भएको गुनासो आउनेबित्तिकै प्रहरीले धेरैजसो थुनुवालाई उपचारका लागि वीर अस्पतालमा लैजाने गर्छ।

त्यहाँको इमर्जेन्सी विभागका एक चिकित्सक वजिर देवानको भनाइमा गम्भीर बिरामी भएका थुनुवालाई मात्र अस्पतालमै भर्ना गरी उपचार गर्ने गरिन्छ।

उनी भन्छन्, ‘हामी बिरामीको अवस्था हेरी निर्णय गर्छौँ। भर्ना गर्नु नपर्ने बिरामीलाई भर्ना गर्न सिफारिस गर्दैनौँ।’

उनले केही ‘ठूलाबडा’ आरोपितलाई ‘हिरासत छल्न केही नभई अस्पताल भर्ना गरिएकोबारे’ अपुष्ट समाचार आफूले पनि सुनेको बताए।

आईसीयूमै प्रहरी

सुनसरीका डीएसपी विनोद शर्माका अनुसार चतराका कृष्णदासजी पक्राउपुर्जी जारी गर्ने बेलादेखि नै बिरामी परेर विराटनगरस्थित एक अस्पताल भर्ना भएका थिए। उनी अस्पताल भर्ना भएको पनि दुई साता बितिसकेको छ।

उनलाई अदालतमा उपस्थित गराउनुपर्ने बेलामा अवस्था झनै खस्किएको खबर प्रहरीले पायो।

‘पछि उहाँलाई सामान्य खालको हृदयाघात नै भएको भनेर चिकित्सकहरूले भन्नुभयो। त्यसपछि उहाँ निरन्तर आईसीयूमा नै हुनुहुन्छ’, शर्माले भने, ‘हामीलाई उहाँको निगरानीका लागि प्रहरीलाई अस्पतालमा नै तैनाथ राखेका छौँ।’

अस्पताल खोज्ने अर्को कारण

प्रहरी अधिकारीका अनुसार प्रायः प्रहरी हिरासतको अवस्था सामान्य र सुविधासम्पन्न नभएका कारण पनि आरोपितहरू ‘हिरासत छल्न अस्पताल जान खोज्ने’ प्रवृत्ति बढेको हुन सक्छ।

‘सुविधा र विलासयुक्त वातावरणमा बस्न अभ्यस्त ठूलाबडा आरोपितहरूलाई सामान्य प्रहरी हिरासतमा बस्न कठिन हुन सक्छ’, काठमाडाैं प्रहरीका डीएसपी होबिन्द्र बोगटीले भने, ‘त्यसैले पनि उहाँहरूले अस्पताल जान खोज्ने होला।’ तर बिरामी सक्कली हो कि नक्कली हो भनेर छुट्याउन प्रहरीलाई गाह्रो हुने उनले बताए।

‘थुनुवाले ‘अचानक छाती दुख्यो’, वा ‘सास फेर्न गाह्रो भयो’ भनेपछि हामी अस्पताल लगिहाल्छौँ। त्यहाँ फेरि चिकित्सकले बकाइदा ‘भर्ना गरी उपचार गर्नुपर्छ’ भनेर लेखिदिएपछि हामीले के गर्ने?’

बीबीसी नेपाली