अर्गानिक खेतीमा डाक्टर जनक बस्नेत

अर्गानिक खेतीमा डाक्टर जनक बस्नेत

काठमाडौंको महाराजगञ्जस्थित वेलनेस अस्पतालका अध्यक्ष जनकबहादुर बस्नेतको परिचय हो, प्राकृतिक चिकित्सकको। उनी बिहान ७ देखि ४ बजेसम्म अस्पतालमै बिरामीको सेवामै रहन्छन्।

चिकित्सकबाहेक उनकाे छुट्टै पहिचान छ, अर्गानिक कृषकको। जब दिउँसोको ४ बज्छ, उनी अस्पतालनजिकै रहेको खेतमा जान्छन्। डा. बस्नेत साँझको २ घण्टा फार्ममा बिताउँछन्। ‘यसरी काम गर्दा एक त ज्यान फुर्तिलो हुने’, उनी भन्छन्, ‘अर्को स्वस्थ र ताजा तरकारी खान पाइने।’

‘फार्ममा पुग्दा स्वर्गीय आनन्द आउने उनी बताउँछन्। तरकारी लगाउने, गोडमेल गर्ने, टिप्ने सबै काममा सहभागी हुन्छन्। यसले आफूलाई स्वस्थ हुन सघाएको उनी बताउँछन्।

जीवनशैली सुधार्न आवश्यक छ र खानपानमा ध्यान दिन जरुरी छ भन्दै उनी आफैँ अर्गानिक खेतीमा लागेका हुन्। हाल उनलाई भेट्नेले ‘बारीमा के फलेको छ’ भन्ने प्रश्न गर्छन्। ‘साथीभाइहरू शुरुमै ‘बारीमा के छ? हामी आउँछौं’ भन्नुहुन्छ। खुशी लाग्छ’, उनले हाँस्दै भने, ‘धेरै जनाले हाम्रो फार्म ‘भिजिट’ गरिसक्नुभएको छ । मेरा गुरुहरू, समकालीन चिकित्सक, विद्यार्थीहरु धेरैजना यो ठाउँमा आउनुभएको छ।’

शुरुमा उनले ‘टाइम पास’का लागि तरकारी लगाउन शुरु गरेका थिए। तर अहिले यसलाई बिस्तार गरी फार्मकै रूपमा दिएका छन्। अस्पताल रहेको स्थानबाट नजिकै हात्तीगौंडामा विभिन्न तरकारी लगाएका छन्। यतिखेर उनको बारीमा लटरम्म काँक्रा फलेका छन्। साग, लौका, सिमी, बोडी, फर्सी त्यतिकै झुलिरहेका छन्।

प्रकतिमा रमाउँदा पनि मानिसका धेरै रोग आफैँ कम हुँदै जाने विशवास गर्छन्,डा बस्नेत। आजभोलिको भागदौडको जिन्दगीमा मानिसलाई अत्यन्त तनाव छ। त्यसलाई कम गर्न प्रकृतिमा आएर एकैछिन समय बिताउँदा र खेल्दा तनाव व्यवस्थापन हुने उनको बुझाइ छ। त्यसैले उनले हिँडडुल गर्नसक्ने आफ्ना बिरामीलाई फार्ममा लगेर हरियाली हेर्न लगाउने, चराचुरुंगीको आवाज सुनाउने र तरकारी टिप्न लगाउने गर्छन्।

‘एकातिर ‘एक्सरसाइज’ पनि हुन्छ, अर्कोतिर बारीमा लटरम्म फलेका तरकारी र फलफूल आफैँले टिपेर खान पाउँदा उनीहरूमा छुट्टै किसिमको आनन्द महसुस हुने रहेछ’, उनी भन्छन्, ‘प्रकृतिले कतिपय कुरा आफैँ ‘हिल’ गर्छ।’

कृषिकर्ममार्फत उपचार गर्न सकिन्छ भन्ने लागेर  बिरामीलाई एग्रो थेरापी दिइरहेको उनी बताउँछन्। ‘कृषिमार्फत खेतबारीमा काम गरेर, टहलिएर गरिने काम, जसबाट एक किसिमको सन्तुष्टि र शारीरिक व्यायाम समेत हुन्छ। यसले बिरामीलाई ठूलो लाभ भएको पाइएको छ।’, उनले भने।

गाउँमा जन्मे–हुर्केको भएर पनि होला उनलाई माटोसँग काम गर्न असाध्यै मन पर्छ। त्यसैले उनी यहाँ आएपछि दिनभरिको सबै थकान मेटिएको अनुभव गर्छन्। उनले ताजा तरकारी आफू र बिरामीलाई मात्र खुवाउने होइन, बिक्रीसमेत गर्ने गरेका छन् । ‘पैसा कमाउने भन्दा पनि सन्तुष्टिका लागि गरिएको काम हो यो’, उनले भने। यो काममा उनलाई श्रीमती झरनाले पनि उत्तिकै साथ दिएकी छिन्। फार्मको व्यवस्थापनमा उनलाई साथ दिएका छन् उनका ससुराले।

पछिल्लो समय विभिन्न रासायनिक विषादी प्रयोग नभएका तरकारी बजारमै पाउनै गाह्रो छ। तर डा. बस्नेतको फार्ममा तरकारीमा विषादी प्रयोग गरिँदैन। रोग लागिहाल्यो भने प्रकृतिमै पाइने तितेपाती, पुदिना, गाईको गहुँत, खुर्सानीको धुलो बनाएर विषादी बनाउने गरिएको छ। तरकारी र फलफूलमा रासायनिक मलसमेत प्रयोग नगरिने उनको दाबी छ। ‘मलका लागि गाईपालन गरेका छौँ’, उनले भने, ‘फार्मको सरसफाइमा त्यत्तिकै ध्यान दिने गरेका छौँ।’