मुटुुरोग विशेषज्ञ बन्न चाहेकी दिव्या यसरी बनिन् मिर्गौलारोग विशेषज्ञ

मुटुुरोग विशेषज्ञ बन्न चाहेकी दिव्या यसरी बनिन् मिर्गौलारोग विशेषज्ञ

प्रा.डा.दिव्या सिंह मुटुरोग विशेषज्ञ बन्न चाहन्थिन् तर, बनिन् मिर्गौलारोग विशेषज्ञ। नेपालमा मिर्गौला प्रत्यारोपणकी सूत्रधार उनै दिव्या हेल्थ टिभी अनलाइनसँगको कुराकानीमा यसरी खुलिन्

म स्कुलदेखि नै पढन्ते थिएँ। असाध्यै पढ्नुपर्ने। किताबसँग मेरो विशेष लगाव नै थियो भन्दा पनि हुन्छ। स्कुल पढ्दादेखि नै डाक्टर बन्छु भन्थेँ र त्यो बाहेक मेरो दिमागमा केही आएन पनि। अहिले मलाई ‘तपाईँ डाक्टर नभएको भए के बन्नुहुन्थ्यो’ भनेर सोध्नुभयो भने मसँग जवाफ नै छैन। किनभने मैले बच्चादेखि नै डाक्टरको विकल्प सोचिनँ।

मैले एसएलसीपछि अस्कलमा आइएस्सी पढेँ। डाक्टर बन्ने एउटै उद्देश्यसहित। त्यसलगत्तै एमबीबीएस पढ्न सन् १९८६ मा भारतको इलाहाबाद गएँ।

त्यहाँ भारतीयहरू ‘नेपाली त हो के राम्रो गर्ली र’ भन्ने मानसिकताले हेप्ने गर्थे तर जाँचमा राम्रो गरेपछि भने मलाई हेर्ने उनीहरूको दृष्टिकोण बदलियो।

एमबीबीएस सकेर नेपाल आएँ। घरमा विवाहको कुरा चल्यो तर मलाई भने एमडी गर्न मन थियो। सम्झाएँ। र एमडी पढ्न फेरि भारत गएँ।

मैले ‘इन्टरनल मेडिसिन’ पढ्न फर्म भरँे। तर धेरैले केटी मान्छे भएर नि किन मेडिसिन पढेको भनेर हतोत्साही गर्न खोजे। ‘गाइनो’ पढ्न धेरैको सुझाव थियो। तर मैले ‘मेडिसिन’ नै पढ्ने अठोट गरेँ एमडी पढाइ सकेर आउँदा नेपालमा एमडीको पढाइ भर्खर शुरु भएको थियो।

भारतबाट फर्केर शिक्षण अस्पतालमा काम शुरु गरेँं। मलाई कार्डियो विभागमा काम गर्न मन थियो तर नेफ्रो विभागमा काम गर्न भनियो। मन नलागी नलागी काम शुरु गरेँ।

नेफ्रो विभागमा काम गर्दै जाँदा बिरामीको समस्या देखेर साह्रै दुःख लाग्थ्यो। त्यतिखेर नेपालमा मिर्गौला रोगीको अवस्था असाध्यै दुःखदायी थियो। रोगले दिने पीडा आफ्नो ठाउँमा थियो उपचार गराउँछु भन्दा पनि नपाउने। कैयौँ बिरामी उपचार नपाएर आफ्नै अगाडि मरेको देख्थेँ।

अस्पतालमा रहँदा बिरामीका परिवारले आएर गरेको गुनासो नजिकबाट हेन मौका मिल्यो। त्यसैले पनि बिस्तारै मलाई यही विभागमा काम गर्न रुचि बढ्यो। पछि निर्णय गरेँ, अब म यही विषय पढ्छु र यसमै केही गर्छु भन्ने।

अहिले शिक्षण अस्पतालमा मिर्गौलारोग विशेषज्ञ बन्ने अभिलाषा बोकेर आएका विद्यार्थीलाई पढाउँछु। त्यसबाहेक शिक्षण अस्पतालमा मेरो सहभागितामा हप्तामा दुईजनाको मिर्गौला प्रत्यारोपण हुन्छ। मिर्गौला प्रत्यारोपणको क्षेत्रमा यति छोटो समयमा यति ठूलो फड्को मारेका यो देख्दा खुशी लाग्छ तर अंग प्रत्यारोपणमा भने काम गर्न बाँकी छ।

त्यो दिनदेखि मैले नेपालमा मिर्गाैलाको उपचार सहज रूपमा कसरी गराउन सकिन्छ भनेर लागिपर्न थालेँ। सन् १९९७ मेरो विवाह भयो। बच्चा पनि भयो। तर यो क्षेत्रमा काम गर्न सानातिना अवरोधले रोक्ने कुरै थिएन। ममा दृढ अठोट थियो।

मलाई असाध्यै पढ्न मनपर्ने, बिस्तारै मैले विदेशमा मिर्गौला रोगीको अवस्था के छ नेपालमा के गर्न सकिन्छ भनेर ‘सर्च’ गर्न थालेँ।

त्यतिवेला वीर अस्पताल र शिक्षण अस्पतालमा दुईतीन वटा डायलासिस मेसिन थिए। त्यसैबाट बिरामीको डायलसिस हुन्थ्यो। प्रत्यारोपणका लागि भारत नै जानुपर्थ्यो।

त्यही बिचमा ‘फेलोसिप इन नेफ्रो ट्रान्सप्लान्टेसन’ का लागि अप्लाई गरेर सन् २००४ मा दुई वर्षका लागि अष्ट्रेलिया गएँ। साना दुई बच्चा छोडेर जान सजिलो थिएन। तर पनि म गएँ। त्यहाँ बस्दा नेपालमा कसरी मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ भनेर सिक्ने प्रयास गर्थेँ। गुरुहरूसँग पनि यही विषयमा छलफल गर्थेँ।

कोर्स सकिने बेलामा एक जना प्रत्यारोपण विशेषज्ञ डेभिड फ्रान्सिसलाई भेटेर नेपालको अवस्थाबारे कुरा गरेँ। उनी अष्ट्रेलियाको रोयल मेलबर्न अस्पतालका प्रत्यारोपण विशेषज्ञ थिए। डेभिडले मलाई सल्लाह मात्र दिएनन्, परेको खण्डमा यहाँ आएर प्रत्यारोपणमा सहयोग गर्ने वचन पनि दिए।

सन् २००६ मा कोर्स सकेर आएँ। अब एउटै उद्देश्य थियो, नेपालमा मिर्गौला प्रत्यारोपण शुरु गर्ने। त्यसअघि २००४ मा प्रत्यारोपण शुरु गर्ने प्रयास भए पनि सफल भएको थिएन। मलाई त्यही डर थियो। त्यसैले कोही अनुभवी व्यक्तिको सहयोग लिएर शुरु गर्न पाए हुन्थ्यो भन्ने लागेर मेरा गुरुलाई भनेकी थिएँ।

मैले यहाँ आएर कुरा गर्दा धेरैले गर्न सकिँदैन भन्थे। अस्पताललाई बल्ल बल्ल तयार पारेँ। अस्पतालको पैसा खर्च नगर्ने काम चाहिँ गर्ने शर्तमा। प्रत्यारोपणका लागि धेरै दुःख झेल्नुपर्यो।

अन्ततः लाइसेन्स पायौँ। यही बिचमा मैले मेरा गुरु र कलेजलाई भनेर नर्स र केही स्टाफलाई विशेष तालिम लिन बाहिर पठाएँ। किनभने यो टिम वर्क हो। एकजनाले मात्र राम्रो गरेर हुँदैन भन्ने मलाई थाहा थियो।

त्यो वेलाको दुःख कति कति। औषधि नेपालमा पाइँदैनथ्योे। भारतबाट मगाउनुपथ्र्याे। अनेकौँ झञ्झटका बावजुत पनि हामी २००८ अगष्ट ८ मा नेपालमा मिर्गौला प्रत्यारोपण गर्न सफल भयौँ। काठमाडौंका हेमराज श्रेष्ठ नेपालमा मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्ति हुन्। उनलाई अहिले पनि ‘फिट’ देख्दा असाध्यै खुशी लाग्छ।

प्रत्यारोपणपछि शिक्षण अस्पतालले पत्रकार सम्मेलन गर्यो तर त्यो वेला मेरो नाम नै लिइएन। अचम्म लाग्यो, देशमै मिर्गौला प्रत्यारोपण गराउन भनेर त्यत्रो दौडधुप गरेकी म तर, मेरै नाम आएन। त्यसबेला साह्रै दुःख लागेको थियो। नाम नआए पनि बिरामीले अब दुःख पाउनुपर्दैन भन्ने लागेर चित्त बुझाएँ।

अहिले त मिर्गौला उपचारमा नेपालले धेरै नै फड्को मारेको छ। यो सँगै नेपालमै एमडीको पढाइ हुन थालेको छ।

अहिले शिक्षण अस्पतालमा मिर्गौलारोग विशेषज्ञ बन्ने अभिलाषा बोकेर आएका विद्यार्थीलाई पढाउँछु। त्यसबाहेक शिक्षण अस्पतालमा मेरो सहभागितामा हप्तामा दुईजनाको मिर्गौला प्रत्यारोपण हुन्छ।

मिर्गौला प्रत्यारोपणको क्षेत्रमा यति छोटो समयमा यति ठूलो फड्को मारेका यो देख्दा खुशी लाग्छ तर अंग प्रत्यारोपणमा भने काम गर्न बाँकी छ। यो उमेरमा यति ठूलो उपलब्धि हासिल गरेकाले मलाई मुटुरोग विशेषज्ञ बन्न नपाएकोमा अहिले कुनै गुनासो छैन।