बनारसकी यी चिकित्सक, जाे छाेरी जन्मिँदा लिँदिनन् ‘नर्सिङ हाेम’काे शुल्क
‘मुख मिठो गर्नुस्, नर्सिङ् होममा छोरीले जन्म लिएकी छिन्’, यो वाक्य डा.शिप्राधर श्रीवास्तवबाट प्रायः सुन्न सकिन्छ। छोरी जन्मिएकोमा खिस्रिक्क पर्ने वा निराश हुने नेपाल र भारतका अधिकांश समाजका लागि यो अनौठो हुनसक्छ तर, खुशीयालीमा डा. धर नर्सिङ होममा रहेका सबैलाई मिठाइ बाँड्छिन्।
बनारस हिन्दु युनिभर्सिटी (बीएचयू)बाट एमबीबीएस र एमडी गरेकी उनी वाराणसीको पहाडी इलाकामा नर्सिङ होम चलाउँछिन्। मिठाइ बाँड्ने मात्र होइन यहाँ डेलिभरीका आएका महिलाले छोरी जन्माइन् भने कुनै शुल्क नै लिँदिनन्।
भ्रूण हत्या रोक्न र छोरीको जन्मलाई प्रोत्साहन गर्न उनले यस्तो गर्दै आएकी हुन्। छोरीको जन्म हुँदा परिवारमा फैलिने निराशा हटाउन यस किसिमको कार्य सुरु गरेको बताउँछिन्, डा.धर। भ्रूण हत्याजस्तो कुरीतिले मन उनको सँधै विचलित बनाउँथ्यो। त्यसैले आममानिस छोरीप्रति रहेको सोच परिवर्तन गर्न यो प्रयास सुरु गरेकी हुन्।
‘डाक्टर सा’ब यो के गर्नुभयो? पेट पनि चिर्नुभयो अनि छोरी निकाल्नुभयो’, यस्तो कुरा उनले धेरै पटक सुनिन्। परिवारमा छोरीको जन्म हुने खबर पाउँदा सबैको मन् खिन्न हुने गरेको छ। गरिबीका कारण कतिपयले आँसु समेत झार्ने गरेका छन्।
‘मानिसमा छोरीप्रति अहिले पनि नकारात्मक सोच छ। यो सोच बदल्न म यो प्रयास गरिरहेकी छु’, उनी भन्छिन्, ‘म चाहन्छु छोरा हुन् या छोरी अबोध शिशुलाई मानिसले खुशीले अपनाउन्।’ यसकारण नर्सिङ् होममा छोरी जन्मिँदा उनी शय्याको मात्र होइन, शल्यक्रिया गर्दा पनि शुल्क लिँदिनन्। अहिलेसम्म उनले १०० छोरीको जन्म गराउँदा कुनै किसिमको शुल्क लिएकी छैनन्।
यति मात्र होइन डा. धरले गरिब परिवारकी छोरीहरूको शिक्षाको जिम्मेवारी पनि लिएकी छिन्। उनी आफ्नो नर्सिङ होममा गरिब परिवारकी छोरीहरुलाई पढाउँछिन्। यी कार्यमा उनलाई श्रीमान् डा.मनोजकुमार श्रीवास्तवको पनि साथ छ। श्रीवास्तव फिजिसियन हुन्।
यो खबर सुनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वाराणासी भ्रमणका क्रममा उनको नर्सिङ होम पुगे र डा. धरको प्रशंसा गरे। प्रधानमन्त्री मोदीले प्रत्येक महिनाको ९ तारिखमा जन्म लिने हरेक छोरीको परिवारसँग कुनै किसिमको शुल्क नलिन आह्वान गरेका छन्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights