Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘मिर्गौलामा पत्थरी हुँदैमा सबैको शल्यक्रिया नै गर्नुपर्छ भन्ने हुँदैन्’ (भिडियाेसहित)

‘मिर्गौलामा पत्थरी हुँदैमा सबैको शल्यक्रिया नै गर्नुपर्छ भन्ने हुँदैन्’ (भिडियाेसहित)

हेल्थ टिभी अनलाइन : हाम्रो शरीरको महत्वपूर्ण अंगमध्ये एक हो मिर्गौला । यही मिर्गौलामा विभिन्न कारणले समस्याहरु आउन सक्छ । ती समस्याहरुमध्ये एउटा समस्या हो मिर्गौलामा हुने पत्थरी । मिर्गौलामा पत्थरी किन हुन्छ मिर्गौलामा पत्थरी हुँदैमा शल्यक्रिया नै गर्नुपर्छ कि पर्दैन ? नेपालमा उपचार पद्धतीहरु के के छन् ? यसबाट जोगिन के गर्न सकिन्छ लगायतका विषयमा ललितपुरको कुपन्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीका मेडिकल निर्देशक एवम वरिष्ठ युरोलोजिस्ट डा सन्जय खड्गीसँग हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यले गरेको कुराकानी :

मिर्गौलामा पत्थरी किन हुन्छ ? कस्ता व्यक्ति जोखिममा हुन्छन् ? 

हेर्नुस् मिर्गौलामा पत्थरी किन हुन्छ भन्ने जवाफ खोज्ने हो भने ८० प्रतिशत त हाम्रो आफनै शरीरको मेटाबोलिजमका कारण हुने गरेको पाइएको छ । यसको पनि कारण खोज्ने हो भने अहिलेसम्म यही नै हो भन्ने पत्ता लागेको छैन्। बाँकी २० प्रतिशतचाहिं हाम्रो आनीबानी खानपान, जीवनशैलीका कारण मिर्गौलामा पत्थरी बन्ने गरेको पाइएको छ । ती बानीहरुमा पानी कम पिउने, शारीरिक व्यायाम नगर्ने, नुनको प्रयोग बढी गर्ने, प्रोटिन र क्याल्सियमयुक्त खानेकुरा बढी खानेजस्ता कारण पर्छन्। कतिपय अवस्थामा यो वंशाणुगत कारणले पनि जन्मजात पत्थरी हुने गर्छ । यसैगरी आन्द्राको समस्या, पिसाब नली ब्लक भएमा, प्याराथाइराइड ग्लान्डका कारण पनि पत्थरी हुनसक्छ । एकदमै गर्मी ठाउँमा काम गर्ने व्यक्ति जसको पसिना धेरै बग्छ र पानीको मात्रा पुग्दैन त्यस्ता व्यक्तिमा पनि पत्थरीको जोखिम रहन्छ । तर समग्रमा ८० प्रतिशत कारण चाहिं हाम्रो हातमा छैन् । यहाँ बुझ्नुपर्ने कुरा पत्थरी भन्ने बित्तिकै धेरै जनाले ढुंगा नै होकी भन्ने सोच्नुहुन्छ । तर यो ढुंगा नभई हाम्रो पिसाबमा भएका साना साना कण मिलेर एक कडा खालको वस्तु बन्ने हो जसलाई हामी स्टोन वा पत्थरी भन्छौं । यो एकैपटक बन्न सक्दैन् यसका लागि धेरै समय लाग्छ । कत्तिको त पत्थरी बन्न वर्षौ लाग्छ । विश्वभर आफनो जीवनकालमा १ देखि १५ प्रतिशतलाई मिर्गौला पत्थरी हुने अनुमान गरिएको छ ।

मिर्गौलामा भएको पत्थरी कुन अवस्थामा निकाल्न पर्छ ?

मिर्गौलामा पत्थरी सबै उमेर समूहका व्यक्तिलाई हुन सक्छ। यद्यपी हरेक उमेर समूह र महिला तथा पुरूषलाई हुने पत्थरीका कारणहरू भने फरक फरक हुन सक्छन्। तुलनात्मक रुपमा महिलालाई भन्दा पुरुषलाई पत्थरी हुने समस्या बढी हुन्छ । मिर्गौलामा पत्थरी भयो भन्दैमा सबैलाई शल्यक्रिया गरेर निकाल्नै पर्छ भन्ने चाहिं हुँदैन्। पत्थरीको साइज, कुन ठाउँमा छ ? कति दुख दिने खालको छ वा मिर्गौलामा समस्या गराएको छ की छैन सबै हेरेर मात्र निकाल्ने की ननिकाल्ने निर्णय गरिन्छ । सामान्यतया ५ एमएम साइजसम्मको पत्थरीलाई हामी निकाल्न सल्लाह दिंदैनौं । यो आफै पिसाबबाट झर्न सक्छ । पानीको मात्रा बढाएर यसलाई आफैले निकाल्न सकिन्छ । तर यसोभन्दैमा सानै साइजको भए पनि दुख दिने खालको छ भने चाहिं निकाल्न पर्छ । यो बिरामीको सबै अवस्था हेरेर मात्र भन्न सकिन्छ । ५ एमएम भन्दा बढीका स्टोन भएकालाई पनि दुख दिएको छैन् भने हामी वेट एण्ड वाच भनेर राख्छौं । यसो गर्नुको पछि पनि कारण छ यो पत्थरी फेरि पनि आउने सम्भावना हुन्छ । त्यसैले दुख नदिने खालको पत्थरी भए ननिकाल्ल सल्लाह दिइन्छ वा अलि पछि निकाल्न भन्छौं । कुनै कुनै पत्थरी सानै भए पनि मिर्गौलामा सिधै असर गर्ने खालका हुन्छन् भने कति पत्थरी साइजमा ठूलो भए पनि मिर्गौलालाई केही असर नगर्ने स्थानमा हुन्छ । त्यो अवस्था हामी भिडियो एक्सरे तथा सिटी स्क्यान गरेर हेरेर पत्ता लगाउँछौं । बिरामीलाई जे प्रभावकारी हुन्छ त्यही अनुसार सल्लाह दिने गर्छौ ।

के के विधिबाट मिर्गौला पत्थरीको उपचार गर्न सकिन्छ ?  उपचार पद्धति के छन् ?

मिर्गौलामा पत्थरी हुने धेरै कारण भए जस्तै उपचारको पद्धति पनि फरक फरक हुन्छन्। यसको उपचार पहिलेभन्दा अहिले धेरै नै फरक छ। उपचारको कुरा गर्दा पहिले पहिले भने ठूलो चिरफार गरेर पत्थरी निकाल्न पर्दथ्यो । तर अहिले मेसिनद्वारा बिना चिरफार पत्थरी निकाल्न सकिन्छ। सबै खालका पत्थरी मेसिनको सहयोगले निकाल्न मिल्छ। पत्थरी कुन ठाउँमा छ त्यस अनुसार कुन विधि अपनाउने भन्ने हुन्छ । बिरामीसँग पनि धेरै अप्सन छन् अहिले । पत्थरी अनुसार दुरबिनबाट, लेजरबाट वा सानो प्वाल पारेर त्यहाँ भएका ढुंगा फुटाएर बाहिर निकालिन्छ। किड्नीको कुन ठाउँमा छ र पत्थरी कडा छ कि, छैन भनेर जाँच गरेपछि मात्र उपचारको विधि तय हुन्छ । जुनसुकै विधिबाट भए पनि बिरामीलाई कम बाधा हुनेगरी पत्थरी निकाल्न सकिन्छ। अहिले त एक प्रतिशतभन्दा कमलाई मात्र चिरफार गरेर पत्थरी निकालिन्छ । त्यो पनि बिरामीलाई अन्य विधिले काम नगर्ने भएमा । स्टोन १० एमएम देखि १५ एमएमको छ र स्टोन सफ्ट छ भने र त्यसको बाटो सहज छ भने लिथोट्रिप्सीबाट निकालिन्छ । यसमा रेको माध्यमबाट बाहिरबाट रे दिएर स्टोन फुटाइन्छ । यसका लागि बिरामीलाई भर्ना गर्ने पर्दैन्। तर स्टोन सफ्ट भए नभएको सिटी गरेर पत्ता लगाउनैपर्छ । अर्को १५ एमएम २ सेन्टिमिटरसम्म बिना चिरफार दुरबिनको माध्यमबाट बिरामीलाई बेहोस गराएर दुरबिन नै भित्र पठाएर स्टोन निकाल्न सकिन्छ । पत्थरी ठूलो छ भने त्यसमा सबैभन्दा प्रभावकारी प्रविधि भनेको मिनी पीसीएनएल विधि हो । यसमा बिरामीकाे काेखामा एउटा मात्र सानो प्वाल पारेर भित्रै सबै पत्थरी फुटाएर सोही प्वालबाट निकाल्ने गरिन्छ । ठूलो पत्थरीमा यो विश्वमै सबैभन्दा प्रभावकारी विधि मानिन्छ । तर फेरी पनि के गर्दा बिरामीलाई बेस्ट हुन्छ हामी त्यही गर्छौ ।

एकपटक पत्थरी निकालिसकेपछि फेरि आउने सम्भावना कति हुन्छ ?

हो, धेरै बिरामीले अब त मैले सबै पत्थरी निकालिसकें अब ढुक्क भएँ भन्नुहुन्छ । पत्थरीको केसमा त्यस्तो हुन्न । एकपटक पत्थरी भएर निकालिसकेपछि फेरि पत्थरी हुने सम्भावन ५ वर्षपछि ५० प्रतिशत रहन्छ । यसको मतलब ५० प्रतिशत बिरामीको फेरि पनि पत्थरीको समस्या आउन सक्छ । तर ५० प्रतिशतमा भने आउँदैन्। त्यसैले एकपटक पत्थरी भएका बिरामीले बेला बेलामा जाँच गराइराख्नुपर्छ । यस्ता व्यक्तिले पानी प्रसस्त पिउने, स्वस्थ खाना खाने, व्यायाम गर्ने गर्नुपर्छ । र चिकित्सकको निगरनीमा बसेको राम्रो । पत्थरी पहिलेकै मिर्गौलामा वा अर्को मिर्गौलामा पनि बन्न सक्छ । यो विश्वव्यापी तथ्यांक हो । कोही व्यक्ति पत्थरी बन्ने जोखिम समूहमा छ भने उसलाई फेरि हुने सम्भावन सधैं ५० प्रतिशत रहिरहन्छ । त्यसैले हामी सकेसम्म बिरामीलाई दुख नदिएको पत्थरी निकाल्न हतार नगर्न भन्छौं किनकी अहिले निकाले पनि ५ वर्षपछि फेरि आउनसक्छ । यो कुरा सबै बिरामीलाई हामी सम्झाउँछौं । तर त्यसो भन्दैमा पत्थरी ननिकाल्ने भन्ने हुँदैन । दुखिरहेको छ , मिर्गौला सुन्निन थालेको छ , पिसाबमा समस्या छ भने चाहिं पर्खन हुँदैन । सानो ठूलो जस्तो भए पनि त्यसलाई निकाल्नै पर्छ ।

कुन उमेर समूहमा बढी हुन्छ ?

विश्वको तथ्यांक हेर्ने हो भने २० देखि ४० वर्षका मानिसमा मिर्गौलामा पत्थरी हुने सम्भावना बढी भएको देखिन्छ । यो उमेर पछि पत्थरी हुने सम्भावना कम हुन्छ तर हुँदै हुँदैन भन्ने चाहिं हैन। २० देखि ४० वर्षको समूहलाई पत्थरी हुने सम्भावना बढी भएको समूहमा राख्ने गरिन्छ । विश्वका आँकडा हेर्ने हो भने पनि त्यस्तै देखिन्छ । महिला पुरुषको कुरा गर्नेहो भने पुरुषको तुलनामा महिलामा पत्थरीको समस्या कम देखिन्छ । त्यसमा महिलाको आफनो शरीरको हर्मोन, मेटाबोलिज्मका कारण हुनसक्छ । दुई जना पुरुषलाई पत्थरीको समस्या देखिएमा महिलाको संख्या एक हुन्छ । नेपालमा पनि त्यस्तै छ।

पत्थरी भएपछि के कस्ता लक्षणहरु देखिन्छन् ?

पत्थरी भएका सबैलाई लक्षण नै देखिन्छ भन्ने छैन्। केही बिरामीहरुको पत्थरीले मिर्गौलामा धेरै नै असर गरिसक्दा पनि कुनै पनि लक्षण देखिंदैन्। उनीहरुको अन्य कारणले भिडियो एक्सरे गर्दा वा अन्य जाँच गर्दा सो रोग पत्ता लाग्छ । र तुरून्त पत्थरी  निकाल्न पर्ने हुन्छ । तर केही बिरामीहरुमा भने स्पष्ट रुपमा लक्षणहरु देखिने गर्छन । जस्तै :

ज्वरो आउने
पिसाबमा रगत देखा पर्ने
कोखा दुख्ने
पिसाबमा गरे पनि ननिख्रिए जस्तो हुने
बान्ता हुने,
तर कहिलेकाहीं पत्थरी ठूलो भए पनि कुनै लक्षण नै नदेखिन सक्छ । त्यसैले नियमित जाँच गर्ने बानी बसाल्नुपर्छ । ताकी केही भएमा समयमै उपचार गर्न सकियोस्।

समस्या आउनै नदिन के गर्ने ? कसरी बच्ने ? 

पत्थरीको उपचार गरेपछि वा समस्या आउनै नदिन पानीको मात्रा बढाउनुपर्छ। पानी यतिउती खाने भन्दा पनि दिनभरमा जति पिसाब हुन्छ त्यसमा ७ सय मिलि लिटर थपेर त्यति नै मात्रामा पानी पिउनुपर्छ । जस्तो दिनमा २ लिटर पिसाब हुन्छ भने त्यसमा ७ सय मिलि लिटर प्लस गरेर पानीको मात्रा लिनुपर्छ । अर्को कुरा तराई पहाड कस्तो वातावरणमा बसोबास छ त्यस अनुसार पनि आफूले पानीको मात्रा ध्यान दिन जरुरी हुन्छ । तराईमा बढी गर्मी हुन्छ बढी पसिना जान्छ त्यहाँ बस्नेले धेरै पानी पिउनुपर्छ । पहाडमा कम पसिना जान्छ भने अलि कम पानी पिए पुग्छ । तर पानी चाहिंं पिउन पर्यो । ? अर्को कुरा नुनको मात्रा कम खानुपर्छ भने आफूलाई सक्रिय राख्न जरुरी हुन्छ । मैले अघि नै भनिंसके ८० प्रतिशत कारण हाम्रो हातमा छैन्। तर २० प्रतिशत भने हाम्रै हातमा छ । पत्थरीको समस्याबाट जोगिने केही उत्तम उपायहरू यस्ता छन्।

-पानी प्रसस्त पिउने

-नुनको मात्रा कम गर्ने

-नियमित शारीरिक व्यायाम गर्ने

– स्वस्थ खाना खाने

साथै कुनै समस्या नै नभए पनि वर्षको एकपटक मिर्गौला जाँच गर्ने ।

भिडियाे :

]

थप समाचार