Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा फेरी कोरोना संक्रमण फैलिने खतरा बढ्यो, सावधानी अपनाऔं (भिडियोसहित)

नेपालमा फेरी कोरोना संक्रमण फैलिने खतरा बढ्यो, सावधानी अपनाऔं (भिडियोसहित)

यतिबेला नेपालमा फेरी एकपटक कोरोना संक्रमण फैलिन्छ की भन्ने जनमानसमा त्रास देखिन थालेको छ । छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो वेभ तीब्र गतिमा फैलिरहेको सन्दर्भ र नेपालसँगको खुला सीमानाका कारण पनि नेपाल उच्च जोखिममा रहेको भनिएको छ । के नेपालमा फेरी संक्रमण दर बढिसकेको हो ? दोस्रो चरणको संक्रमणबाट जोगिन सरकारले के तयारी गरिरहेको छ ? भन्ने विषयमा हेल्थ टिभी अनलाइनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलसँग गरेको कुराकानी : 

भारतमा कोरोना संक्रमण फैलिरहँदा नेपाल कत्तिको जोखिममा छ ?

भारतमा जब जब कोरोना संक्रमण फैलिन्छ तब तब हामीले पनि विशेष होशियारीका साथ तयारी गर्नुपर्ने हुन्छ । यसको प्रमुख कारण भनेकै खुला सीमाना हो । हरेक दिन भारतबाट नेपालमा नेपालीहरुको आवतजावत हुन्छ त्यसले गर्दा पनि नेपाल संक्रमणको उच्च जोखिममा पर्ने गरेको छ । केही अघि संक्रमित कम भइसकेको भए पनि अहिले भारतमा संक्रमित बढ्ने क्रम दिनप्रतिदिन बढ्दो छ । विशेष गरी महाराष्ट्र, गुजरात, मध्यप्रदेश, पञ्जाब लगायतका शहरहरुमा कोरोना संक्रमण अत्यधिक बढिरहेको छ । जुन शहरमा नेपालीहरु बढी छन्। अध्ययन र रोजगारीको सिलसिलामा त्यहाँ रहेका नेपालीहरु कलेज र रोजगारका कार्यक्रम प्रभावित हुँदा घर फर्किन थालेका छन्। उनीहरु घर फर्किने बेला भाइरससँगै लिएर आउने सम्भावना बढेको छ र हामी जोखिममा परेका छौं । त्यसैले पनि भारतमा कोरोना बढ्दा नेपालमा पनि विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

अहिले नै नेपालमा संक्रमितको संख्यामा वृद्धि भइसकेको हो र ?

होइन । अहिले नै संक्रमितको संख्यामा वृद्धि भइसकेको छैन्। भारतबाट फर्किएका केही व्यक्तिहरुमा कोरोना पोजेटिभ भने देखिएको छ । उहाँहरुलाई हामीले व्यवस्थापन गरिरहेका छौं । तर यसो भन्दैमा संक्रमण नबढ्ला भनेर भन्न सकिन्न। भारतबाट नेपाल भित्रिने वैधानिक र अवैधानिक थुप्रै बाटाहरु छन्। त्यसैले पनि हामीले होशियारी चाहिं अपनाउनैपर्छ । विशेष गरेर सुदूरपश्चिममा भारतबाट आउनेको संख्या बढी देखिएको छ । त्यसैले उक्त प्रदेश बढी जोखिममा छ । हामीले नाकाहरुमा निगरानी र परीक्षण गरे पनि अन्य बाटो हुँदै आउनेहरु हाम्रा लागि चुनौतीपूर्ण हुनसक्छन्। तर अहिले नै नेपालमा कोरोनाका संक्रमित बढिसके भन्ने चाहिं हैन्। तयारी अवस्थामा बस्नुपर्छ भन्ने हो । अर्को कुरा भारतमा डबल म्युटेन्ट भाइस भेटियो भन्ने कुरा पनि आएको छ । तर त्यही भाइरसले संक्रमण फैलायो भन्ने चाहिं पुष्टि भएको छैन्। भाइरसले रुप फेर्नु सामान्य हो । नेपालमा भने अहिलेसम्म उक्त भाइरस भेटिएको छैन्।

कोरोनाको दोस्रो वेभ आउन नदिन सरकारले के तयारी गरिरहेको छ ?

हामी भारतमा संक्रमण बढेदेखि नै उच्चस्तरीय छलफल र परामर्श गरिरहेका छौं । एक साताअघि मात्र हामीले एउटा निर्णय गरेर भारतबाट नेपाल भित्रिने सबै नाकाहरुमा कोरोनाको एन्टिजेन परीक्षण गर्ने र यदि कसैलाई पोजेटिभ आएमा सम्बन्धित निकायलाई भनेर व्यवस्थापन गर्ने साथै नेगेटिभ आए पनि १० दिन होम आइसोलेसनमा बस्न आग्रह गर्ने भनिएको छ । जसअनुसार देशका सबै नाकाहरुमा यो परीक्षण र निगरानी गर्ने काम भइ नै रहेको छ । यसले हामीलाई कोरोना नियन्त्रण गर्न ठूलो मद्दत गर्छ भन्ने हो । योसँगै यसरी नाकामा आएलाई प्रति व्यक्ति १० वटा मास्क समेत दिएर पठाउने निर्णय भएको छ । यसो गर्दा कम्तीमा कुनै व्यक्तिलाई पोजेटिभ भए पनि उसले अर्को व्यक्तिलाई रोग सार्न नसकोस भन्ने हो । त्यसबाहेक नाकाहरुमा हेल्थ डेस्कलाई अझ सक्रिय बनाउने, परीक्षण र निगरानी बढाउने काम पनि भई नै रहेको छ । स्थानीय निकायमा रहेका क्वारेन्टाइन तथा आइसोलेसनलाई पनि तयारी अवस्थामा राख्न भनिएको छ । उता मास्क पीपीई लगायतका स्वास्थ्य सामग्रीको कमी नहोस भन्नका लागि आपूर्ति व्यवस्थापन महाशाखाले काम गरिरहेको छ । हामी सकेसम्म संक्रमण आउनै नदिन प्रवेशमै कडाइ गरिरहेका छौं भने संक्रमण आइहालेमा त्यसलाई नियन्त्रण र व्यवस्थापनमा पनि जुटिरहेका छौं ।

सर्वसाधारण त विना मास्क बाहिर हिंडिरहेका छन् त ?

हो, अहिले हामीलाई डर नै त्यसको छ । हामीले बारम्बार जनस्वास्थ्यका मापदण्ड पालना गर्दै मास्क लगाउन, दूरी कायम गर्न, भिडभाडमा नजान तथा साबुन पानीले हात धोइरहन भन्दै आइरहेका छौं । तर यसको पालना सबैले गरेको जस्तो लाग्दैन्। यो भनेकै आफू र आफनो परिवारलाई जोखिममा राख्नु हो । कोरोना संक्रमण एक व्यक्तिलाई भए पनि यसले सिंगो समाज र देशलाई नै असर गर्छ । त्यसैले मास्क नै नलगाएर हिड्नु भनेको आफनो र परिवारको ख्याल नगर्नु हो । जसले यस्तो गरिरहनु भएको छ कृपया यस्तो नगरिदिनुहोला । हामीले कोरोना संक्रमण कम भए पनि जोखिम कम नभएको कुरा बारम्बार विभिन्न माध्यमबाट भन्दै आइरहेका छौं । संक्रमण फैलाउने की रोक्ने भन्नेमा प्रत्येक व्यक्ति त्यत्तिकै जिम्मेवार छन् । त्यसैले संक्रमण रोक्ने काम सरकारले वा कुनै निकायले मात्र गरेर हुने होइन यसका लागि सबै जना लाग्नुपर्ने हुन्छ ।

अन्तिममा कोरोना संक्रमणबाट बच्न के सल्लाह दिनुहुन्छ ?

कोरोना संक्रमण नियनत्रण गर्ने भनेको तपाइँ हाम्रै हातमा छ । हामीले उचित तरिकाले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हातको सरसफाइमा ध्यान दिने काम बिर्सन भएन र यो नै कोरोनाबाट बच्ने ठूलो अस्त्र हो । त्यसपछि सकेसम्म भिडभाडमा नजाने , जोखिम हुने कामहरु नगर्ने जस्ता काम गरौं। भारतमा फेरी फैलिरहेको कोरोना संक्रमण अब नेपालमा नआउला भन्न सकिन । त्यसैले आफनो र परिवारको सुरक्षाका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न नबिर्सौं ।

थप समाचार