Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘७० प्रतिशत बाथ मुटुराेगी उपचारको पहुँचमा छैनन्’

‘७० प्रतिशत बाथ मुटुराेगी उपचारको पहुँचमा छैनन्’

मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मी एक साताअघि मात्र ‘हार्ट हिरो २०१९’ बाट सम्मानित भए। यो सम्मानसँगै उनले विश्व मुटु महासंघसँग मिलेर मुटुरोगको क्षेत्रमा उपचार, एवं जनचेतनामूलक कार्यक्रममा लाग्ने अवसर पाउनेछन्। उनले पाएको यो सम्मान र नेपालमा बालबालिकामा हुने बाथ मुटुरोगको बारेमा गरिएको कुराकानी

यहाँले भर्खर मात्र हार्ट हिरो २०१९ सम्मान पाउनु भएको छ यसका बारेमा बताइदिनुस न!

विश्व मुटु महासंघले विश्व स्वास्थ्य संगठनसँग मिलेर मुटुरोग रोकथामका लागि विभिन्न काम गरिहेको छ। नेपाल हार्ट फाउन्डेसन महासंघको एउटा सदस्य हो। यसले गत वर्षदेखि आ–आफनो देशमा मुटुरोगको निदान, उपचार एवं जनचेतना फैलाउने एक जना व्यक्तिलाई ‘हार्ट हिरो’ घोषणा गरी विश्वव्यापी रूपमा परिचालन गर्न शुरु गरेको हो। नेपाल हार्ट फाउण्डेसनले मेरो नाम सिफारिस गरेको हो। अब मुटुरोगको क्षेत्रमा नेपालमा भएका गतिविधि सेयर गर्नेदेखि थप के गर्न आवश्यक छ भन्ने विषयमा ‘ग्लोबल नेटवर्क’मा रहेर काम गर्न सहयोग पुग्नेछ।

तपाईँ लामो समयदेखि बालबालिकाको बाथ मुटु रोगको क्षेत्रमा काम गर्दै आउनुभएको छ। के हो बाथ मुटुरोग ?

कतिपय बालबालिका जन्मिँदै मुटुरोग लिएर आउँछन्, जसलाई जन्मजात मुटुरोग भनिन्छ। तर अर्कोथरी मुटु रोग हुन्छ जुन स्कुल जाने उमेरका बालबालिकालाई लाग्छ। पाँच वर्षदेखि १८ वर्ष उमेरसम्मका बालबालिकामा हुने टन्सिलको समस्याको उपचार नगरे त्यसले जोर्नी हुँदै मुटुलाई असर गर्छ। त्यही रोगलाई बाथ मुटुरोग भनिन्छ।

यसलाई बाथ मुटुरोग भन्नुको पनि अर्थ छ। बालबालिकामा टन्सिलमा ब्याक्टेरियाले आक्रमण गर्छ। यसले बिस्तारै जोर्नीहरूमा असर पुर्याई जोर्नी दुख्ने समस्या आउँछ। यदि जोर्नीमा समस्या आइसक्दा पनि उपचार गरिएन भने यसले मुटुको भल्भमा असर गर्छ र मुटुमा असर पार्छ। यसरी टन्सिलबाट शुरु भएको बाथ हुँदै मुटुरोग निम्त्याउने हुँदा यसलाई बाथ मुटुरोग भनिएको हो। तर टन्सिल बढ्दैमा सबै बालबालिकामा बाथ मुटुरोग लागिहाल्छ भन्नेचाहिँ होइन।

नेपालमा कति होलान् बाथ मुटुरोगी ?

नेपालमा लगभग पाँच लाख बालबालिकामा बाथ मुटुरोग भएको अनुमान गरिएको छ। प्रत्येक वर्ष एक हजार बालबालिकाले यही रोगका कारण ज्यान गुमाइरहेका छन्। टन्सिल भएका बालबालिकामध्ये लगभग तीन प्रतिशत बालबालिकालाई जोर्नीको समस्या हुन्छ। त्यसैगरी जोर्नीमा असर गरेका आधा बालबािलकालाई मुटुमा समस्या हुने गरेको देखिन्छ। हाम्रो मुटुमा चारवटा भल्भ हुन्छन्, तीमध्ये दुई वटा भल्भलाई यसले असर पार्छ, जसका कारण रगत जुन दिशामा जानुपर्ने हो नगई उल्टो फर्किन्छ। त्यसपछि सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिन थाल्छन्।

यो रोगको उपचार छैन र?

किन नहुनु उपचार छ। अझ महत्वपूर्ण कुरा यो रोग लाग्नै नदिन पनि सकिन्छ। टन्सिल हुँदा तुरुन्त उपचार गर्ने हो भने यसले जोर्नीमा असर पुगेराएर मुटुसम्म पुग्नै पाउँदैन। मुख्य कुरा त यही हो। टन्सिललाई सामान्य रुपमा लिँदा मुटुसम्म रोग पुग्ने हो। अर्को कुरा यसले जोर्नीमा असर पुर्याउँदा बालबालिकामा जोर्नी दुख्ने, ज्वरो आउने समस्या हुन्छ यसमा चनाखो भएर जोर्नी दुख्ने बित्तिकै उपचार गराउन सके पनि मुटुसम्म असर पुर्याउन सक्दैन। तर यहाँ जनचेतनाको कमी छ जसका कारण यो रोगका शिकार भइरहेका छन् बालबालिका।

उपचारको कुरा गर्दा यो रोग लागको पहिचान भएमा औषधि उपचार सम्भव छ, जुन निकै सस्तो पनि छ। यस्ता बालबािलकालाई महिनामा एउटा ‘पेन्सिलिन’ नामक सुई दिनुपर्छ, जसको मूल्य जम्मा २० रुपैयाँ पर्छ। कति वर्षमा रोग देखिएको छ त्यसको आधारमा सुई कहिलेसम्म दिने भन्ने डाक्टरले निर्धारण गर्छन्। तर यही २० रुपैयाँ पर्ने सुुई नपाएर बालबालिका ज्यान गुमाउँछन्।

सरकारले मुटुको भल्भ फेर्न निःशुल्क गरेको छ नि ?

यहीँनेर सरकारको गल्ती देख्छु म। रोग लागिसकेपछि मुटुको भल्भ बिग्रिएर काम नलाग्ने भएपछि त्यो फेर्न चाहिँ सरकारले दिल खोलेर सहयोग गरेको छ। तर त्यस्ता बालबािलका, जसलाई बेलैमा उपचार गरेमा निको पार्न सकिन्छ, त्यस्तो सस्तो औषधि र सुई निःशुल्क र सर्वसुलभ बनाउन सकेको छैन।

हाम्रो भनाइ शल्यक्रिया भन्दा पनि रोगै लाग्न नदिन र उपचारका लागि लाग्ने औषधि निःशुल्क गर्न जरुरी छ, जुन गाउँ गाउँसम्म पुर्याउनुपर्छ।

अहिले सरकारले मुटुको भल्भ खोल्न प्रतिबिरामी ६० हजार र भल्भ नै फेर्न दुईदेखि तीन लाख दिने गरेको छ। समग्रमा सरकारले वार्षिक ३० करोड रुपैयाँ मुटुको शल्यक्रियाका लागि खर्च गरिरहेको छ। यो असाध्यै धेरै रकम हो।

उपचारको कुरा गर्दा अहिले ७० प्रतिशत बालबालिका उपचारको पहुँचमा छैनन्। जम्मा ३० प्रतिशतले मात्र उपचार गराइरहेका छन्। सबै आउने हो भने सरकारले धान्न सक्ने स्थिति नै हुँदैन।

सामान्यतया मुटुरोगका बिरामी कस्तो अवस्थामा विशेषज्ञकोमा आइपुग्छन् ?

हामीकहाँ आउने भनेको कुनै डाक्टरले ‘रिफर’ गरेपछि मात्र हो। शुरुमा त जोर्नी दुख्ने भएकाले हाडजोर्नी विशेषज्ञकोमा पुग्छन्। त्यसपछि सास फेर्न गाह्रो हुन थाल्छ। छातीरोग विशेषज्ञकोमा पुग्छन्। त्यसैले सबै ठाउँमा देखाइसकेपछि कुनै डाक्टरले पठाए मात्र आउने हो। धेरैलाई मुटुरोगमा जोर्नी दुख्छ भन्ने सोचाइ नै आउँदैन। त्यसैले कमै मात्र बालबालिका उपचारमा आउँछन्।

कति त यताउता भौतारिएरै ज्यान गुमाउँछन्। नेपाल हार्ट फाउण्डेसनले केही वर्ष अघि ललितपुरमा गरेको अध्ययन अनुसार त्यहाँका एक प्रतिशत मानिसलाई मात्र बाथ मुटुरोगबारे जानकारी भएको पाइयो। यसले पनि जनचेतना नै पुगेको छैन।

यसलाई रोक्न के गर्नु पर्ला त?

पहिलो कुरा त अन्य रोगको भार घटाउन सरकारले जसरी गतिविधिहरू तय गरेको छ, त्यसैगरी बाथ मुटुरोग पनि सरकारको प्राथमिकतामा पर्नुपर्छ। एक जनाले हल गरेर हुने समस्या नै होइन यो।  मुटुको  भल्भकाे जस्तै यसको शुरुकै उपचार निःशुल्क गर्नुपर्छ, जसले गर्दा धेरै जना यसको उपचार पहुँचमा आउँछन्। अर्को कुरा गाउँ गाउँसम्म यो रोगका बारेमा जनचेतनामूलक कार्यक्रम गर्न जरुरी छ।

यसमा मिडियाको सहयोग लिन सकिन्छ। छोराछोरीलाई टन्सिल भए उपचार गरिहाल्नुपर्छ भन्ने चेतना सबैमा फैलाउनुपर्छ। सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्ने हो भने यो रोग लाग्नबाट जोगाउन सकिन्छ। बालबालिकाको मुटु जोगाउन सरकारले यसलाई अभियानकै रूपमा अघि सार्न ढिलो गर्नु हुँदैन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार