‘संघ र प्रदेशको समन्वय नहुँदा डेंगु नियन्त्रणमा समस्या भयो’

‘संघ र प्रदेशको समन्वय नहुँदा डेंगु नियन्त्रणमा समस्या भयो’

धरानमा तीन सातादेखि फैलिएको डेंगु अझै नियन्त्रणमा आएको छैन। तीन सातामा अस्पतालमा आएर उपचार गराएका र रेकर्ड भएका बिरामीको संख्या बिहीबार साँझसम्म १६३ पुगेको छ। यही विषयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेक कुमार लालसँग गरिएको कुराकानी–

धरानमा फैलिएको डेंगु अझै नियन्त्रणमा आउन नसक्नुको कारण के हो?

धरानमा तीन सातादेखि फैलिएको डेंगु नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय तहमा काम भइरहेको छ। तर यो अझै सम्पूर्ण रूपमा नियन्त्रणमा आइसकेको अवस्था भने छैन। अहिले देश संघीय संरचनामा गइसकेपछि रोग नियन्त्रणको जिम्मा प्रदेश र स्थानीय सरकारको कार्य क्षेत्रभित्र पर्छ। हामीलाई सहयोग मागियो भने मात्र हामी त्यहाँ पुग्छौँ। अहिलेसम्म उहाँहरूले डेंगु जाँच गर्ने किट पठाइदिने बाहेक अन्य कुनै सहयोग माग्नुभएको छैन।

त्यसोभए रोग नियन्त्रण महाशाखाको काम के त?

यही कुरामा यहाँ अन्योल सिर्जना भएको छ। हामीलाई अब तिमीहरू स्थानीय र प्रदेश तहमा जानपर्दैन नीति निर्माणतर्फ लाग भनिएको छ। हामी त्यसमै लागेका छौँ। पहिला भएको भए हामी तुरुन्त ‘रेपिड रेस्पोन्स टिम’ लिएर महामारी फैलिएको स्थलमा पुगेर काम गर्न सक्थ्यौँ। तर अहिले त्यस्तो अवस्था छैन। हामीसँग टिम पनि छ तर, काम लगाउन सक्दैनौँ। मैले अघि नै भने, यो हाम्रो कार्यक्षेत्र भित्र पर्दैन। त्यसैले हामी यहाँबाट यसो गर्नुस्, उसो गर्नुस् भन्न सक्ने अवस्थामा पनि छैनौँ। उहाँहरूले आफनै हिसाबले काम गरिरहनु भएको छ।

यसो हुँदा त रोग नियन्त्रण गर्न गाहो हुँदैन त?

पक्कै पनि हुन्छ। कुनै पनि महामारी नियन्त्रण गनर्का लागि प्राविधिक साथीहरूको आवश्यकता पर्छ। स्थानीय तहमा पर्र्याप्त रूपमा प्राविधिक छैनन्। त्यसो हुँदा काम गर्न गाह्रो त हुन्छ। तर देशले बनाएको संरचनामा त सबै चल्नैपर्यो। यो संरचनामा भर्खरै अभ्यास थालेको भएर होला के के नमिले जस्तो भइरहेको छ।

तपाईँहरू विश्वास गर्नुहुन्न होला, इपिडिमियोलोजीले धरानमा डेंगु फैलियो भनेर मिडियामा समाचार आएपछि मात्र थाहा पाएको हो। त्यसैले हामीलाई उहाँहरूले आवश्यक ठानेर सहयोग चाहियो भन्नुभयो भने सहयोग गर्न सक्छौँ। तर आफैँ हस्तक्षेप चाहिंँ गर्न सक्दैनौँ।

डेंगु नियन्त्रणका लागि अहिले के के भइरहेको त धरानमा?

डेंगु नियन्त्रण गर्नु असाध्यै गाह्रो काम हो। लामखुट्टे पूरै नष्ट नगरेसम्म यो सम्भव नै छैन। यसका लागि एक जना डाक्टर वा प्राविधिक मात्र लागेर हुँदैन, समुदाय र सबै संघसंस्था लाग्नुपर्छ। यसको बासस्थान पत्ता लगाएर लार्भा र लामखुट्टे दुवै नष्ट गर्नुपर्छ। यसलाई ‘सर्च एण्ड डिस्ट्रोइ’ भनिन्छ। लामखुट्टे खोज्ने र नष्ट गर्ने काम नियमित रूपमा भइरहेको छ। यसका साथै स्थानीय तहमा जनचेतनामूलक कार्यक्रम पनि भइरहेकै छन्। लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो कार्यक्रम पनि गरिएको छ।

अहिलेसम्म यहाँबाट कति डेंगु जाँच गर्ने किट पठाउनुभयो?

हामीले शुरुमा २०० किट पठाएका थियौँ। पछि ५०० वटा पठायौँ। बिरामीको संख्या बढेर होला उहाहरूले बिहीबार एक हजार किटको लागि पत्र पठाउनुभएको छ।
खासमा यो किट हामीसँग देशभरका लागि भनेर १० हजार वटा मात्र छ। यो हिसाबले उहाँहरूले नै दुई हजार जति माग गरिसक्नुभएको छ। यो डेंगु फैलिने मौसम हो। चितवन, धादिङ लगायत क्षेत्रमा पनि यो फैलिन सक्ने सम्भावना त्यत्तिकै छ। अघिल्ला वर्षहरूमाती स्थानमा डेंगु फेला परेका हुनाले सतर्क रहनै पर्छ। यसो त काठमाडौंखतरामुक्त छैन। त्यसैले यो किटको पनि अभाव हुने देखिएको छ ।

अन्त्यमा, डेंगुबाट बच्न के गर्नुपर्छ?

पहिलो कुरा त यसबाट जोगिने उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै हो। तर हामीले जान्नुपर्ने कुरा डेंगु हुनेमध्ये ९९ प्रतिशतमा सामान्य ज्वरो आउनेबाहेक केही असर गर्दैन। एक प्रतिशतमा भने गम्भीर असर गरी बिरामीको मृत्यु समेत हुनसक्छ। त्यो एक प्रतिशतमा जो कोही पनि पर्नसक्छ भनेर संवेदनशील हुन जरुरी छ। यो सबैले बुझुनुपर्छ।

हालसम्म यसको कुनै औषधि वा खोप त्यस्तो केही छैन। आफनो वरिपरि लामखुट्टे बस्न नदिने र भए नष्ट गर्नु नै उत्तम उपाय हो। यो लामखुट्टे सफा पानीमा बस्छ। कुलर, गमला, बाल्टीमा राखिएको पानी आदिमा यो बस्ने गर्छ। राति भन्दा पनि बिहान र साँझको बेला बढी सक्रिय भई टोक्ने गर्छ। यस्ता कुरामा ध्यान दिएर लामखुट्टेको टोकाइबाट जोगिनु नै यो रोगबाट बच्ने उपाय हो।

थप समाचार