Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘नेपालमा पछिल्लो समय अनुसन्धान गर्ने संस्कृति बढ्दै गइरहेको छ’

‘नेपालमा पछिल्लो समय अनुसन्धान गर्ने संस्कृति बढ्दै गइरहेको छ’

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आजदेखि तीनदिने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको पाँचौं शिखर सम्मेलन गर्दैछ। एक हजार भन्दा बढी वैज्ञानिकहरुलाई एकै थलोमा भेला पारेर हुन गइरहेको उक्त सम्मेलनका विषयमा परिषदका कार्यकारी अध्यक्ष प्रा. डा.अन्जनीकुमार झासँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी:

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको पाँचौ शिखर सम्मेलनको मुख्य उद्धेश्य के हो ?

यो एउटा यस्तो सम्मेलन हो जसले नेपालका स्वास्थ्य तथा जनसंख्या विशेषज्ञहरुलाई एउटै फोरममा जम्मा गरी यसका विभिन्न आयाममा गरिएका अनुसन्धानका बारेमा छलफल गरिन्छ । यसपटकको सम्मेलनको नारा ‘संघीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ छ। देश संघीय संरचनामा जाँदा अबको स्वास्थ्यको नीति कस्तो हुने भन्ने बहस चलेको छ । यो बेला अनुसन्धानको अझ बढी आवश्यक छ । त्यसैले पनि अनुसन्धानवारे छलफल गर्न र जिम्मेवारीपूर्ण अनुसन्धान गर्न अनुसन्धानकर्तालाई प्रेरित गर्न सम्मेलन गरिएको हो ।

त्यसो त  यो भन्दा पहिलेका  पदाधिकारीले  नै सम्मेलन गर्न शुरु गर्नु भएको हो । त्यसलाई हामीले निरन्तरता दिंदै आएका छौं । अहिले आएर यसको आवश्यकता अझ बढी छ । परिषदले आफ्नो स्थापनाको अवसरमा सम्मेलन आयोजना गर्दै आएको छ। नयाँ पुस्तालाई अनुसन्धान कार्यमा लाग्न प्रेरणा मिलोस् र स्वास्थ्यमा अनुसन्धानको विकास र विस्तार होस् भनेर नै शिखर सम्मेलनको आयोजना गरिएको हो।

यसअघिका सम्मेलन भन्दा यसपटकको सम्मेलन केही फरक छ की ?

पक्कै छ । यसअघिका सम्मेलनमा हामीले अनुसन्धानबाट निस्केका परिणाम र तथ्यलाई सम्मेलनमा मात्र प्रस्तुत गर्ने गर्दथ्र्यो भने यसपटक हामीले अनुसन्धानबाट आएका तथ्यलाई समेटेर सम्पूर्ण विवरण नेपाल सरकारलाई बुझाउने भएका छौं । त्यसका लागि छुट्टै समूह नै बनेको छ । त्यस समूहले सम्मेलन सकिएको ६ साताभित्र अनुसन्धानबाट आएका प्रमाण,सुझाव एवम तथ्यलाई स्वास्थ्य नीति बनाउन सजिलो होस भनी सरकारलाई बुझाउन लागिएको हो । यसले गर्दा सरकारलाई पनि सजिलो हुन्छ जस्तो मलाई लाग्छ ।

ती सुझावहरु नीति निर्माण, योजना तर्जुमा, कार्यक्रम विकास तथा मूल्यांकन कार्यका लागि पक्के पनि उपयोगी हुनेछन्। सम्मेलनमा उठेका विषयवस्तुले हाल देशमा देखिएको रोगको भार तथा प्रकृति र त्यसलाई समाधान कसरी गर्ने भन्नेमा समेत सहयोग मिल्नेछ।त्यसबाहेक यसपटक हामीले आमन्त्रित अतिथी अनुसन्धानकर्ताहरु पनि बोलाइका छौं । जसले गर्दा अन्य देशमा कसरी अनुसन्धान हुन्छ भन्ने सिकाईको आदानप्रदान हुनेछ ।

सम्मेलनमा के कस्ता विषयमा प्रस्तुती रहने छन्?

सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरूले १३७ वटा विषयमा अनुसन्धान प्रस्तुत गर्नेछन्। तीमध्ये ३३ वटाको मौखिक प्रस्तुतिकरण र १०४ वटाको पोस्टर प्रस्तुतिकरण हुनेछ । यसका साथै १० वटा आमन्त्रित प्रस्तुतिकरण समेत रहेने छ । विज्ञहरुबाट बाट सामाजिक स्वास्थ्य बीमा,नसर्ने रोग,मातृ स्वास्थ्य,बाल स्वास्थ्य,किशोर किशोरी स्वास्थ्य,सरुवा रोग सम्बन्धी लगायतका विषयमाप्रस्तुतीकरण हुनेछ। सम्मेलनको अन्तिम दिन ७ वटा विधाहरुमा उत्कृष्ट वैज्ञानिकहरुलाई अवार्डद्धारा सम्मानित समेत गरिने छ ।

नेपालमा स्वास्थ्य अनुसन्धानको अवस्थालाई कसरी हेर्नुहुन्छ ?

पछिल्लो समय स्वास्थ्यमा अनुसन्धान संस्कृति बढेको छ । युवा वैज्ञानिकहरु पनि यसप्रति लागेको पाइन्छ । यो निकै खुशीको कुरा हो । त्यसैले पनि यस्ता अनुसन्धान गर्ने र यसमा रुचि राख्नेलाई प्रोत्साहन होस भनेर नै हामीले यो सम्मेलन गरेका हौं । केही वर्ष अघिसम्म अनुसन्धानमा खासै लगानी गरेको पनि पाइँदैनथ्यो । तर अहिले समय बदलिएको छ । नेपालमा राम्रा र गुणस्तरीय अनुसन्धान भइरहेका छन्। ती अनुसन्धानलाई यो शिखर सम्मेलनले बाहिर ल्याउन सहयोग गर्नेछ । साथै अनुसन्धानकर्ताहरुलाई प्रोत्साहन मिल्नेछ भने सरकारलाई नीति तथा कार्यक्रम बनाउन सहयोग मिल्नेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार