Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘१० वर्षअघि मिर्गौला प्रत्यारोपण गर्न सक्छौँ भन्दा धेरैले पत्याएनन्’ : प्रा.डा.शाह

‘१० वर्षअघि मिर्गौला प्रत्यारोपण गर्न सक्छौँ भन्दा धेरैले पत्याएनन्’ : प्रा.डा.शाह

नेपालमा मिर्गौला प्रत्यारोपण शुरु गरेको १० वर्ष पुगेको छ। विभिन्न आरोह, अवरोह र चुनौतीपूर्ण अवस्थामा मिर्गौला प्रत्यारोपण शुरु गर्ने चिकित्सक हुन् प्रा.डा. दिव्या सिंह शाह। नेपालमा शुरूमा मिर्गौला प्रत्यारोपण गर्दाकाे अवस्थालार्इ कसरी सम्झिन्छिन् उनी? मिर्गौला प्रत्यारोपणका यी १० वर्षलाई उनी कसरी हेर्छिन्? उनै प्रा.डा. दिव्या सिंह शाहसँग हेल्थ टिभी अनलाइनले गरेको संक्षिप्त कुराकानी–

नेपालमा मिर्गौला प्रत्यारोपण शुरु गर्ने सोच कसरी आयो ?

त्यसबेला म एमडी सकेर त्रिवि शिक्षण अस्पतालमा काम गर्न थालेकी थिएँ। मिर्गौला विभागमा काम गर्ने अवसर मिल्यो। यस क्रममा मेरो दैनिक रूपमा बिरामीका समस्यासँग नजिक हुने मौका पाएँ। बिरामीको चाप अत्यधिक हुन्थ्यो तर उपचार थिएन। ‘डायलाइसिस’ शुरु त भएको थियो। तर त्रिवि शिक्षण अस्पतालमा जम्मा दुई वटा मेसिन थियो।

डाइलाइसिसकै लागि बिरामी महिनौँ कुर्न पर्ने हुन्थ्यो। कति त बिचमा बढी समस्या आएर ज्यान गुमाउँथे। नेपालमा प्रत्यारोपण सम्भव थिएन। सक्नेहरू घरखेत बेचेर भए पनि भारत जान्थे। त्यही देखेर मलाई नेपालमै मिर्गौला प्रत्यारोपण गर्न पाए धेरैको ज्यान जोगाउन सकिन्थ्यो भन्ने सोचेर यसमा लागेँ।

पहिलो प्रत्यारोपण कसरी सम्झिनु हुन्छ ?

यसको लामो कथा छ। अहिले सम्झिँदा पनि कसरी शुरु गरियो होला भन्ने लाग्छ। मैले शुरुमा मिर्गौला प्रत्यारोपण गर्न सक्छौँ भन्दा स्वास्थ्य मन्त्रालय लगायतका धेरैले पत्याएनन्। जसले गर्दा लाइसेन्सकै लागि मैले १८ महिना कुर्नुपर्यो।

पहिले सन् २००४ मै वीर अस्पतालले प्रत्यारोपणको प्रयास गरे पनि सफल हुन सकेको थिएन त्यसले पनि धेरैले शंका गर्थे यसपटक पनि सफल हुन्छ भन्नेमा। तर पनि मैले आँट र विश्वास छोडिनँ। मिर्गौला प्रत्यारोपणकै लागि विशेष तालिम र अनुभवका लागि अष्ट्रेलियामा रहँदै प्रत्यारोपण विशेषज्ञ डा.डेभिडसँग कुरा गरिसकेकी थिएँ। उनी तयार भए, नेपाल आई हामीलाई सहयोग गर्न।

 हामीले शुरु गर्दा औषधि नपाएर बिरामीको लागि भारतबाट कुरियर गरेर मगाउनु पर्थ्याे। विशेषज्ञ पनि कम मात्र थिए। तलमाथि भयो भन्ने डर त्यत्तिकै हुन्थ्यो। तर अहिले समय परिवर्तन भएको छ। कम्तीमा अहिले बिरामीले उपचारका लागि घर खेत बेच्नु पर्दैन। उपचार देशभित्रै सहज र सुलभ भएको छ।

बिरामी मिर्गौला प्रत्यारोपण गराउन तयारी अवस्थामा छ। सर्जन पनि तयार भयो। तर सरकारले अन्तिम अवस्थासम्म लाइसेन्स दिएन। त्यसवेलाको तनाव कुरै नगरौँ। लामो प्रयासपछि अन्ततः सरकारले हामीलाई लाइसेन्स दियो। त्यसको दुई दिनपछि सन् २००८ अगस्ट ८ अर्थात् २०६५ साल साउन २४ गते दिन हामीले प्रत्यारोपण नै गर्यौँ।

मिर्गौला उपचारमा नेपालले फड्को मारेकै हो त?

हो, मिर्गौला उपचारको क्षेत्रमा एकदमै छिटो प्रगति भयो। हामीले निकै दु:ख गरेर शुरु गरेको मिर्गौलाको उपचार यो अवस्थासम्म आएको देख्दा निकै खुशी लाग्छ। अहिले त बिरामीलाई सरकारले डायलाइसिस र प्रत्यारोपण दुवैमा सहुलियत दिएको छ। यसको सम्पूर्ण उपचार यहीँ हुन्छ। हामीले शुरु गर्दा औषधि नपाएर बिरामीको लागि भारतबाट कुरियर गरेर मगाउनु पर्थ्याे।

विशेषज्ञ पनि कम मात्र थिए। तलमाथि भयो भन्ने डर त्यत्तिकै हुन्थ्यो। तर अहिले समय परिवर्तन भएको छ। कम्तीमा अहिले बिरामीले उपचारका लागि घर खेत बेच्नु पर्दैन। उपचार देशभित्रै सहज र सुलभ भएको छ।

त्यसबेला मिर्गौला रोग लाग्नु भनेको मृत्युसरह ठानिन्थ्यो। ९० प्रतिशत बिरामी उपचार गराउन सक्दैनथे। उपचार गराउने पनि महंगो उपचारका कारण बिचमै औषधि छोड्थे। जसले गर्दा अकालमै ज्यान गुमाउन बाध्य थिए।

अहिले नेपालमा बर्सेनि कति मिर्गौला प्रत्यारोपण हुन्छन्?

शिक्षण अस्पतालको मात्र कुरा गर्ने हो भने हालसम्म्म ५०६ जनाको मिर्गौला प्रत्यारोपण गरिसेकेका छौँ। यसबाहेक वीर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र र निजी क्षेत्रबाट ग्रान्डी अस्पतालले प्रत्यारोपण गरिरहेका छन्। यो १० वर्षमा १३ सय जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ। यो संख्या निकै ठूलो हो।

अझै के चुनौती छ त यो क्षेत्रमा?

अझै पनि बिरामी र चिकित्सकसामु चुनौती नभएका हैनन। उपचार त सहज भयो तर औषधिकोे उपलब्धता अझै पनि गाउँ गाउँसम्म पुग्न सके्को छैन। यो रोग शहरी मानिसलाई मात्र लाग्ने त हैन नि! गाउँ गाउँमा बिरामी छन उनीहरू शहरमा आएर प्रत्यारोेपण गरेर त गए। तर उनीहरुले जीवनभर औषधि खानुपर्ने हुन्छ।

मिर्गाैलाका रोगीलाई एक दिन पनि औषधि नछोड्न सुझाव दिन्छौँ, हामी। यसले सिधै मिर्गौलाको काममा असर गरिहाल्छ। त्यसैले सरकारले अाैषधिको उपलब्धता शहरमा मात्र केन्द्रित नगरी कुना काप्चासम्म पुर्याउन जरुरी छ।

अर्को कुरा, अझै पनि नेपालको कानुनअनुसार नजिकको नातामा मात्र मिर्गौला दिन मिल्छ। यसले गर्दा मिर्गौला दान दिने नातेदार नहुनेहरू अझै पनि बाहिर जान बाध्य छन्। उनीहरूलाई सम्बोधन गर्न सरकारले यसबारे सोच्नैपर्छ।

थप समाचार