Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा सन् २०३० सम्मलाई पुग्ने नर्स उत्पादन भइसकेका छन् : प्रा. गोमा निरौला

नेपालमा सन् २०३० सम्मलाई पुग्ने नर्स उत्पादन भइसकेका छन् : प्रा. गोमा निरौला

३२ वर्षदेखि नर्सिङ क्षेत्रमा रहेकी प्रा. गोमा निरौला हाल नेपाल नर्सिङ परिषदकी अध्यक्ष छिन्। वीर असपतालमा कार्यरत निरौलासँग नर्सिङ क्षेत्रमा देखिएका श्रमशोषण, बेरोजगारीलगायत विषयमा हेल्थ टिभी अनलाइनले गरको कुराकानी–

नर्सिङ के हो र बिरामीको उपचारमा नर्सको भूमिका कस्तो हुन्छ?

नर्सिङ सेवामूलक पेशा हो। चिकित्सा सेवालाई पूर्णता दिन यो सेवा पनि चाहिन्छ। बिरामीको सेवा गर्नका लागि चिकित्सा सेवा भएर मात्रै हुँदैन नर्सिङ सेवा पनि आवश्यक छ। चिकित्सा सेवाभित्रै नर्सिङ सेवा पर्छ भन्ने आम बुझाइ छ। तर नर्सिङ छुट्टै विधा हो। तथापि यो स्वास्थ्य सेवाकै अंग हो।

बिरामीलार्इ राम्ररी परामर्श दिने, बिरामीको कुरा राम्ररी सुनिदने, उनीहरूलाई परेको समस्या सम्बोधन गर्ने आदि कुरा नर्सिङ सेवामा आउँछ। बिरामीलाई समयमा औषधि दिने, वेलावेलामा बिरामीको स्वास्थ्य अवस्था हेर्ने र आईसीयू जस्तो ठाउँमा हरेक घण्टा जाँच गर्ने नर्सको काम हो। त्यसैअनुसार अस्पतालमा नर्सको दरबन्दी छुट्याइएको हुन्छ।

यति नर्स चाहिन्छ भनेर राज्यले आँकडा बनाएको देखिँदैन। कति काम गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क पनि छैन। करिब १२ हजार जति नर्सहरु नेपाल सरकारअन्तर्गत काम गर्छन् भन्ने अनुमानित तथ्याङ्क छ। जब पब्लिक प्राइभेट पार्टनरसिपको कुरा आयो त्यसपछि त्यो नीति सरकारी संस्थाबाट मात्रै नभएर निजी संस्थाहरूले पनि स्वास्थ्य सेवा दिइरहेका छन्। जहाँ स्वास्थ्य सेवा छ त्यहाँ नर्सिङ सेवा हुन्छ। त्यसमा दुईमत छैन, नर्सिङ सेवाविनाको स्वास्थ्य सेवा अपूरो हुन्छ। नर्सिङका लागि नीति बनेको छ तर लागू हुन सकेको छैन। नर्सिङ र मिडवाइफ्री छुट्टै विधा हो भन्ने तथ्य नबुझी नीति बनाइएको छ। त्यो नीति अब कता कता विधेयकमा थन्किएको छ भन्ने सुनिन्छ। त्यो पास भएपछि नर्सिङको व्यवस्थापनमा भूमिका खेल्न सक्छ।

नर्सिङ सेवामा विशेषगरी कस्ता समस्या देखिन्छन्?

एकातिर विभिन्न शैक्षिक संस्थाहरुले नर्स उत्पादन गरेको गर्यै छ। अनमीबाहेक स्टाफ नर्स र बीएस्सीहरू सबै गरेर वार्षिक चार हजार ४६० उत्पादन हुन्छन्। उत्पादन यति धेरै छ र काम गर्दाखेरी स्वयंसेवकको रूपमा काम गर्न बाध्य छन्। वीर अस्पतालमै पनि ३६ सालको दरबन्दीमा काम गरिरहेका छौ। त्यतिबेला २० जना स्टाफ नर्सको दरबन्दी र २० जना अनमीको दरबन्दी थियो। त्यतिबेला काम गर्दा एक सय ४३ सरकारी थियौँ। अब प्रतिष्ठान भयो। त्यसबाट पनि नर्सहरु कार्यरत छन्। तर पनि अझै पनि पुग्ने अवस्थामा छैन। त्यो के आधारमा भनेको भने नेपाल सरकार स्वास्थ्य मन्त्रालयले २०७० सालमा स्वास्थ्य संस्था स्थापना तथा स्तराेन्नति निर्देशिका २०७० भनेर बनाएको थियो। यसमा स्पष्ट भनिएको छ, यतिवटा बिरामीको बेडमा यति जना नर्स अावश्यक पर्छ।

जनरल वार्डको हकमा ६ देखि आठ जना बिरामीका लागि एक जना नर्स हुनु पर्छ। भन्नुको अर्थ एक नर्सले ६ देखि आठ बिरामी हेर्नु पर्छ तर कतिपय ठाँउमा ४ देखि ६ जना भनेर पनि तोकिएको छ। जस्तो पोस्ट अपरेटिभ र आकस्मिक कक्षमा एक नर्सले दुई जना बिरामी हेर्नु पर्छ त्यसरी निर्देशिका बनाएको छ मन्त्रालयले नै। वीर अस्पताल पनि मन्त्रालय अन्तर्गतको निकाय हो। त्यस्तै अरु अस्पतालहरू पनि तर जहा पनि त्यो निर्देशिका बमोजिमको नर्सहरु सेवामा खटाइएको छैन। त्यसले गर्दा काम गर्ने नर्सहरुलाई काममा भारको अवस्था छ।

नेपालमा अहिलेसम्म कति नर्स उत्पादन भए?

असारको ९ गते परिषदको १९औँ लाइसेन्स परीक्षा भायो। त्यो परीक्षामा उत्तीर्ण भएकाहरु ८१ हजार एक सय २५ जना दर्ता भएका छन् तर दर्ता भएकामध्ये पनि कतिपय विदेशमा छन्। कतिपयको मृत्यु समेत भइसकेको छ। अब काउन्सिलले यथार्थमा नेपालमा कति नर्स छन् भनेर तथ्यांक निकाल्न पहल गरिरहेको छ। त्यसमा मृत्यु भएकाहरुलाई घटाउने र त्यसैगरी विदेशिनेहरुको पनि यकिन आँकडा छैन। यो किन नभएको भने विदेश जानेको सम्पूर्ण काम एलओआई र शिक्षा मन्त्रालयले गर्छन्। त्यो सेवा हामीले लिने भनेका छौ।

यसबाट बल्ल नर्सिङ काउन्सिलबाट विदेश कति जना जान्छन् भन्ने रेकर्ड हुन्छ। वर्षमा करीब एक हजारको हाराहारीमा विदेशबाट पढेर आउने गरेका पनि छन्। नेपालमै करिब पाँच हजार उत्पादन हुन्छन्। तर, त्यो अनुसारको खपत हुन सकेको छैन।

नेपालमा कति नर्सले काम पाएका छन् त?

तथ्यांककै रूपमा भन्न सकिँदैन तर देश संघीयतामा गएकाले यो सेवा विस्तार हुने अवस्थामा छ। हेल्थपोष्टमा पनि पहिलाको भन्दा छिटो निस्किने गरेर नीति बनाइएको छ। त्यो अनुसारले भयो भने लगभग अहिले उत्पादन भएका नर्सहरु खपत हुन्छन्। सीटीईभीटीमार्फत र माथेमा आयोगले गरेको रिपोर्टअनुसार करिब सन् २०३० सम्मलाइ पुग्नेगरी नर्स उत्पादन भएको छ। खपत नहुने बर्सेनि उत्पादन हुँदै जाने कारण पनि बेरोजगारीको समस्या उत्पन्न भएको छ। मुलुक संघीयतामा गइसकेकाले नयाँ दरबन्दी सिर्जना गरेर, अस्पतालहरुमा सेवा विस्तार गरेर नर्सहरुको व्यवस्थापन गर्यो भने समस्या समाधान हुने देखिन्छ।

बिरामी र कुरुवाहरूलाई राम्रो व्यवहार नगरेको भन्ने पनि सुनिन्छ नि!

नर्सहरु छुची भए, बिरामी र कुरुवालाई राम्रो व्यवहार गरेनन् भन्ने त सुनिन्छ तर यथार्थमा उनीहरुले के कस्ता समस्या भोगिरहेका छन् त्यो कुरा बाहिर आउँदैन। एउटा नर्सले अहिले कम्तीमा पनि २५ जना बिरामी हेर्नु परेको अवस्था छ। वीर अस्पतालमै पनि रातिको ड्युटीमा एक नर्सले २२ देखि २५ जना हेर्नु पर्छ। नर्स पनि मानिस नै हो। अन्य कुनै ग्रहबाट आएको विशेष गुण भएको प्राणी होइन। उसमा पनि तपाइँमा भएको मानवीय गुण नै हुन्छन्। यो कोणबाट हेरिदिनुपर्छ कि जस्तो लाग्छ।

नर्सिङ पेशालार्इ व्यवस्थित र मर्यादित गर्न के गर्नु पर्छ?
यसका लागि अधिकार सम्पन्न नर्सिङ महाशाखा चाहिन्छ। नर्सको अहिले आवाज सुन्ने निकाय नै छैन। हुन त नर्सिङ शाखा भनेर छ तर उनीहरूलार्इ खासै अधिकार दिइएको छैन। त्यो चिकित्सा महाशाखाअन्तर्गत राखिएको छ। अनि परिषदकै काम अन्तर्गत उत्पादित जनशक्तिबारे अनुगमन गरेर गुणस्तरमा ध्यान दिनुपर्छ।

सरकार लगायत एसोसियसन, नर्सिङ परिषद, उत्पादक संस्था तथा विश्व विद्यालयहरु सबैजना बसेर योजना बनाउनु पर्यो। राज्यलाइ कति आवश्यकता हो त यथार्थमा, अब हामी संघीयतामा गइरहेको अवस्थामा कतिजन चाहिन्छ त्यो सेवाको र स्तरको आधारमा छुट्याइनु पर्यो नर्सहरलाई। जसले गर्दा गुणस्तरीय सेवा पनि हुन्छ र सर्वसाधारणको आशा पनि  पूरा हुनसक्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार