Health TV Online
Health TV Online

भान्छामा दैनिक प्रयाेग हुने पाँच सेता विष

भान्छामा दैनिक प्रयाेग हुने पाँच सेता विष

कतिपय खाद्य पदार्थ यस्ता हुन्छन्, जसले शरीरलाई फाइदा पुर्याउने वा कमजोर बनाउनेमात्र होइन कि नोक्सानी नै गर्छन् । केही यस्ता खाद्यपदार्थ छन्, जसलाई विशेषज्ञ चिकित्सकहरू ‘ह्वाइट प्वाइजन’ अर्थात् ‘सेतो विष’ भन्छन्।

चिनी, नुन, मैदा, सेतो चामल, वनस्पति घिउजस्ता खाद्य पदार्थको नियमित र अधिक सेवनबाट स्वास्थ्यमा नोक्सानी पुग्छ। यिनको अधिक सेवनबाट स्वास्थ्यमा विभिन्न किसिमले हानि पुग्छ।

चिनी

सेतो चिनीलाई ‘रिफाइन्ड सुगर’ पनि भनिन्छ । यसलाई प्रशोधन गर्न सल्फर डाइअक्साइड, फस्फोरिक एसिड, क्याल्सियम हाइड्रोअक्साइड र एक्टिभेटेड कार्बनको उपयोग गरिन्छ। प्रशोधनपछि यसमा रहेको भिटामिन, खनिज, प्रोटिन एन्जाइम र अन्य लाभदायक पोषक तत्त्व नष्ट हुन्छन् र केवल सुक्रोज बाँकी रहन्छ, जुन तत्त्वको अधिक मात्रा शरीरका लागि घातक हुन्छ ।

अधिक चिनी उपभोगले मेटाबोलिजमसँग सम्बन्धित रोग जस्तै कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप हुन्छ। यस्तै पेटमा बोसोको पत्र जम्ने क्रमका साथै मोटोपन, दाँत र रोग प्रतिरोध समस्या देखापर्न सक्छन्। चिनीले कपाल, हड्डी, रगत र दाँतबाट क्याल्सियम सोस्छ। शरीरमा भिटामिन ‘बी’ को कमी र प्रतिकूल प्रभाव देखापर्नु पनि चिनीकै कारण हो।

प्रशोधित चिनीका कारण मस्तिष्कमा रासायनिक क्रिया हुन्छ, जसले ‘सेरेटोनिन’ रसायनको श्राव हुन सक्छ। जुन हामीलाई राम्रो महसुस त गराउँछ तर केही समयपश्चात् थकान र क्रोध एवम् स्मरण शक्तिमा ह्रास आदिको महसुस हुन्छ।

नुन 

सामान्य मात्रामा नुनको सेवन हाम्रो शरीरलाई सुचारु रूपमा काम गर्न पनि आवश्यक छ तर अधिक मात्रामा नुनको सेवनले गम्भीर रोगहरूको जोखिम बढाउँछ। नुनको अधिक सेवनबाट मुटुसम्बन्धी रोग र उच्च रक्तचापको जोखिम बढ्छ। बढी नुन खाँदा रगतमा फलाम तत्त्वको मात्रामा कमी हुनुको साथै यसबाट एसिडिटी पनि बढ्छ, जसले भोक नलाग्दा पनि भोकको महसुस हुन्छ।

फलस्वरूप हामी खानेकुरा खोज्छौँ र परिणाम क्यालोरीको मात्रा बढेर मोटोपनको समस्या आउन सक्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार नुन प्रतिदिन पाँच ग्रामभन्दा कममात्र लिनुपर्छ। नुनिला तयारी खाना वा खाजाजन्य पदार्थ कमभन्दा कम खाने, तारेको पदार्थ कम खाने, पापड, चटनी र तयारी खाना सकभर कम खाने, मुटु, फोक्सो, मिर्गौलाको समस्या भएकाले कम सोडियमयुक्त नुनको सेवन गर्नुपर्छ।

मैदा

मैदालाई ‘ग्लु अफ गट्स’ भनिन्छ । यसमा फाइबरको अंश हुँदैन, यसैले गर्दा यसको सेवनले पाचन प्रणाली प्रभावित हुन्छ । पाचन प्रणाली कमजोर हुँदा मेटाबोलिजम पनि कमजोर हुन्छ। यसकारण तौल बढ्छ । तनाव, टाउको दुख्ने र माइग्रेनजस्तो समस्याको शङ्का बढ्छ। मैदाको अधिक सेवनबाट बच्नुपर्छ तर कहिलेकाहीँ र कम मात्रामा प्रयोग गर्न भने सकिन्छ।

चामल 

सेतो चामललाई ‘रिफाइन्ड ग्रेन’ या ‘रिफाइन्ड कार्बन’ भनिन्छ। प्रशोधनका समयमा यसबाट भुससँगै बोक्रा निस्कन्छ, जसबाट भिटामिन ‘बी’ कम्प्लेक्स, आइरन र फाइबरजस्ता तत्त्व बाहिरिन्छन्। ‘ह्वाइट राइस’ लाई आकर्षक बनाउनका लागि चम्किलो बनाउने चलन पनि छ, यसबाट पोषक तत्त्वको मात्रामा झनै कमी हुन्छ।

‘ह्वाइट राइस’ का दानामा ‘एन्डोस्पर्म’ हुन्छ, जुन शुद्ध स्टार्च हो। स्टार्चलाई स्वास्थ्यका दृष्टिले हानिकारक मानिन्छ किनकि यसले इन्सुलिनको मात्रा बढाइदिन्छ। यसलाई खाँदा रगतमा सुगरको स्तर बढ्छ, जसले मधुमेहको जोखिम वृद्धि हुन्छ।

सेतो  घिउ

वनस्पति घिउका नाममा बजारमा देखिने सेतो घिउ पनि शरीरका लागि फाइदाजनक मानिँदैन। यसमा विभिन्न नाममा मिसाइने मिश्रणका कारण यसको प्रयोग घटाउनु नै श्रेयष्कर हुन्छ। यस्ता घिउमा ट्रान्स फ्याटको मात्रा बढी हुन्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ।

वनस्पति वा डाल्डा घिउका नाममा बिक्री हुने यस्ता सेतो डल्लो घिउ सामान्य होटल तथा रेस्टुराँहरूमा बढी नै प्रयोग हुन्छ, जुन विभिन्न थरीका रोग निम्त्याउन सहयोगी हुन्छन्।

थप समाचार