यस्ताे छ डा.ज्याेतिकाे फिटनेस रहस्य
जाडाेमा जिम, गर्मी मौसममा ‘स्विमिङ’

डा. ज्योति भट्टराई अहिलेकी व्यस्त मधुमेह रोग विशेषज्ञ हुन्। काठमाडौं महाराजगञ्जस्थित मेट्रो काठमाडौं अस्पतालमा कार्यरत डा. ज्योति ३ छोरीकी आमा हुन्। वास्तविक उमेरभन्दा निकै कम देखिन्छिन् उनी। व्यस्त दैनन्दिनमा पनि उनी आफूलाई कसरी तन्दुरुस्त राखिरहेकी छिन्? उनकाे सुन्दरताकाे रहस्य के हाे? पढ्नुस्, उनकै शब्दमा–
यसरी शुरु हुन्छ मेराे दिनचर्या
प्रायः म ५ बजेदेखि ६ बजेम्म उठिसकेको हुन्छु। उठेर पानी पिएपछि २० मिनेट जति कोठामा गीत बजाएर मज्जाले नाच्छु। पहिले पहिले ‘मर्निङ वाक’ गर्थेँ। आजभोलि बाहिरको वातावरण सफा छैन। धुलो, धुवाँकाे प्रदूषण असाध्यै छ। त्यसैले पनि घरमै ‘एक्सरसाइज’ गर्छु । मलाई नाच्न मजा लाग्छ। नाचेपछि मन पनि चंगा हुन्छ। एक्सरसाइज पनि भइहाल्छ। सामान्यतया तीनवटा गीतमा नाच्ने गर्छु।
एक्सरसाइजपछि ‘ब्रेकफास्ट’
७.३० तिर म ब्रेकफास्टमा रोटी अण्डा र दूध खाने गर्छु। कहिलेकाहीँ रोटीको सट्टा ‘ब्राउन’ पाउरोटी लिन्छु। दूध र अण्डा कहिल्यै छुटाउँदिन। त्यसो त म ‘भेजजिटेरियन’ हुँ । माछा मासु खाँदिनँ तर अण्डा नियमित खान्छु। दिनहुँ ८ बजेसम्ममा अस्पताल पुगिसक्नुपर्छ। बिरामीको लाइन शुरु भइसकेको हुन्छ। ८ देखि १२ बजेसम्म बिरामी हेर्छु। म मरिहत्ते गरी आफैँले बिरामी हेर्ने कुरामा विश्वास गर्दिन। मलाई टिममा काम गर्न मनपर्छ। त्यसैले अस्पतालमा हामीले कामको बाँडफाँड गरेका छौँ।
१२ देखि २ बजे जिममा
यो दुई घण्टा मैले आफ्नै लागि छुट्याएको छु। यो समयमा म जिम जान्छु। र् याडिसन होटलको जिममा गएर लगभग डेढ घण्टा बिताउँछु। जान नभ्याएका बेला अस्पतालमै समय निकालेर एक्सरसाइज गर्छु । स्वस्थ रहन हामीले एक्सरसाइज गर्नैपर्छ। गर्मी मौसममा भने यो दुई घण्टा ‘स्विमिङ’ जान्छु। अस्पतालमै बस्दा पनि फुर्सद भयाे भने मलाई एक्सरसाइज गर्न जान मन लाग्छ। यो दुई घण्टा अरु साथीहरूले बिरामी हेर्नुहुन्छ।
२ बजेदेखि पुन: अस्पताल
‘लञ्च’को खासै ठेगान हुँदैन। माैसमी फलफूल, ड्राइफ्रुट्स र हल्का केही खानेकुरा खान्छु। मलाइ भात नै चाहिन्छ भन्ने छैन्। २ बजेदेखि पुनः बिरामी हेर्न थाल्छु। यो क्रम ५ बजेसम्म चल्छ। इमरजेन्सी नपरे म अबेरसम्म अस्पतालमा बस्दिनँ। आफ्नो लागि समय छुट्याउनुपर्छ भन्ने मान्यता छ मेरो। शरीर नै स्वस्थ रहेन भने कसरी काम गर्ने? बिरामी जति आउँछन् त्यति नै हेर्नुपर्छ भन्ने पनि म ठान्दिनँ। साथीहरूले हेर्नुहुन्छ। जसको जे विशेषज्ञता हो त्यही काम गर्दा कसैलाई पनि ‘लोड’ पर्दैन। चिकित्सा क्षेत्रमा पनि त्यही हो।
साँझमा घर
६ देखि ७ बजेको बिचमा घर पुगिसक्छु। घर पुगेर जे पाकेको छ, त्यही खान्छु, यही नै चाहिन्छ भन्ने छैन। खानामा साधारणतया दाल, रोटी र तरकारी हुन्छ। शाकाहारी भएकाले पनिर र दही मेरो खानामा प्राय टुट्दैन। त्यसपछि बच्चाहरूसँग रमाइलो गर्छु। बसेर परिवारसँग कुराकानी गर्न निकै रमाइलो लाग्छ। छोरीहरू मसँग बढी ‘अट्याच’ छन्। खाना पकाउन खासै रुचि छैन। त्यसैले भान्सामा कमै मात्र जान्छु। राती १० बजेसम्म प्राय सुतिसकेको हुन्छु । स्वस्थ रहन निद्रा पुग्न जरुरी छ।
आफूलाई प्राथमिकतामा राख्नुस्
धेरै महिलाले आफूलाई प्राथमिकतामा नै राख्दैनन्। परिवार, श्रीमान्, छोराछोरी सबैको ख्याल गर्न भ्याउँछन् तर आफ्नै भ्याउँदैनन्। म मेरा महिला बिरामीलाई सम्झाउने गर्छु, ‘कम्तीमा एक घण्टा त आफ्ना लागि समय निकाल्नुस्।’ आज समय दिइएन भने भोलि समस्या आउँछ। त्यसैले जति व्यस्त भए पनि केही समय निकालेर ‘एस्सरसाइज’ गर्नुस्। स्वस्थ रहनुस्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights