प्यारालाइसिसका बिरामीलाई पुरानै अवस्थामा फर्काउने एकीकृत प्राकृतिक चिकित्सा

‘अरुजस्तै ठमठम हिँड्ने कहिले होला?’ ‘अरुले गरेजस्तै कुराकानी गर्न म कहिलेदेखि सक्छु होला?’ यी र यस्तै कुरा मनमा खेलाएर बसेका छन्, दक्षिणकाली फर्पिङका ४२ वर्षीय आत्माराम बस्नेत। स्पार्क हेल्थ होम अस्पतालमा रहेका उनको दिनचर्या अहिले बिहान उठेदेखि फिजियोथेरापी, अकुपञ्चर, मसाज लगायतका सेवा लिएर बितिरहेको छ।
झट्ट हेर्दा उनी बिरामीजस्ता देखिँदैनन्। खाइलाग्दा देखिने बस्नेतलाई झण्डै आठ महिनाअघि दुबईमा ‘ब्रेन स्टोक’का कारण ‘प्यारालाइसिस’ भएको थियो। डाक्टरले आश नै मारिसकेका उनमा अहिले धेरै सुधार भएको छ। बोलीसमेत गुमाएका उनी बोल्न समेत प्रयास गरिरहेका छन्। ‘आमा’ सम्म भन्ने भएका छन्। त्यसो त उनको ‘स्पिच थेरापी’ पनि जारी छ। उपचार गराउँदा दुबईमा झण्डै डेढ करोड रुपैयाँ सके आत्मारामले तर सुधार भएन।
यहाँ आएर उपचार थालेदेखि उनमा आएको सुधार देखेर छोरा पुजन निकै खुशी छन्। ‘पाँच जनाले उठाउनु पथ्र्याे’, उनी भन्छन्, अहिले त बाबा अलि अलि हिँड्न थाल्नुभएको छ।’ सिन्धुपाल्चोकका फुर्वा तामाङको समस्या पनि त्यस्तै छ। दशैँको फूलपातीका दिन खाना खाँदाखाँदै उनी ढल्न पुगे। ‘किन ढलेँ’ भन्ने पनि थाहा छैन, उनलाई। तर चिकित्सकले ‘प्रेसर हाइ’ भएका कारण उनलाई पनि ब्रेन स्ट्रोक भएको बताए। यसका कारण उनको देब्रे पाखो नचल्ने भयो।
उनी मुख बांगिएको अवस्थामा स्पार्क अस्पताल आएका थिए। अहिले त धेरै सुधार भएको बताउँछन्, ‘फिजियोथेरापिस्ट’ डा.अनिल महतो। तामाङ दुई महिनादेखि मसाज, फिजियोथेरापीलगायत उपचार गराइरहेका छन्। बोली भने फर्किसकेको छ। यी दुई बिरामीभन्दा अलि फरक प्रकृतिको समस्याका कारण प्यारालाइसिस भएकी ललितपुरकी अमृता सुब्बा न त हिँड्न सक्छिन् न त बोल्न नै। ३२ वर्षकी अमृतालाई ‘लुपस’ भन्ने रोगका कारण प्यारालाइसिस भएको बताउँछन्, चिकित्सक सुनिल पौडेल।
‘हामीकहाँ आउने अधिकांशमा प्यारालाइसिसका कारण उच्च रक्तचापको समस्या छ’, उनी भन्छन्, ‘तर उहाँको अलि फरक रोग हो। उहाँको रोगले नशामा असर गरेपछि प्यारालाइसिस भएको हो। उहाँको अलि समय लाग्छ तर सुधार हुन्छ।’ कोहलपुरका रेशमबहादुर सुनारको पनि व्यथा कम दर्दनाक छैन। तीनपटकसम्म ब्रेन ट्युमरको शल्यक्रिया गराएका उनको तेस्रोपटकको शल्यक्रियाका वेला शरीर नचल्ने भयो। यति मात्र होइन बोली पनि गयो। ‘औषधिले बचायो। अब थेरापी गराए बिसेक हुन्छ र कम्तीमा आफ्नै कामसम्म गर्ने हुनुहुन्छ कि भनेर यहाँ ल्याएकी हुँ’, उनकी श्रीमती भन्छिन्।
स्पार्क हेल्थ होम अस्पतालमा भेटिएका यी बिरामी त प्रतिनिधि पात्र मात्र हुन्, यिनीहरु जस्ता सयौँ बिरामी उपचाररत छन्। प्यारालाइसिसका बिरामीका लागि एकीकृत प्राकृतिक उपचार अन्तिम विकल्प भएको बताउँछन्, प्राकृतिक चिकित्सक डा.पौडेल। ब्रेन स्ट्रोक भइसकेपछि अधिकांश बिरामीमा प्यारालाइसिस हुन्छ। तत्काल एलोपेथिक चिकित्सकले औषधि उपचार गरेर उनीहरुको ज्यान बचाएपछि हाम्राे ‘ड्युटी’ शुरु हुन्छ।
प्यालाइसिस कुनै रोग भइसकेपछिको ‘साइड इफेक्ट’ हो। यसलाई औषधिले ठीक गर्न गाह्रो हुन्छ त्यसैले यसको अन्तिम विकल्प भनेकै एकीकृत प्राकृतिक चिकित्सा हो। ‘एलोपेथीले बिरामीको जे रोग हो, त्यो मात्र ठीक हुन्छ’, पौडेल भन्छन्, ‘प्यारालाइसिस ठीक पार्न एकीकृत प्राकृतिक सेवा लिनुको विकल्प नै छैन।’
एकीकृत प्राकृतिक चिकित्साका अस्पतालमा विभिन्न खालका थेरापी, मसाज, अकुपञ्चर लगायतका एकीकृत सेवा नियमित गराएमा उनीहरुलाई आफ्नो काम आफैँ गर्ने बनाउन सकिन्छ। ‘दुःखको कुुरा कतिपय चिकित्सकले शल्यक्रियापश्चात् बिरामीलाई घर पठाइदिँदा उनीहरू जिन्दगीभर अरुको बोझ बन्नुपर्ने हुन्छ’, पौडेल थप्छन्, ‘प्यारालाइसिसका बिरामीको अवस्था हेरेर उनीहरुलाई भर्ना गरेर उपचार गर्दा रिजल्ट राम्रो आउँछ।’
विगत २५ वर्षदेखि यस्तै बिरामीको सेवामा लागिरहेका अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजाल भन्छन, ‘ह्विल चेयरमा आउने बिरामी हामीकहाँ उपचार गरेर आफैँ हिँडेर जान सक्ने भएको देख्दा साह्रै खुशी लाग्छ।’ यो उपचारमासमय लाग्ने हुँदा कतिपय बिरामी बिचमै छोडेर हिँडेको अनुभव छ, रिजालसँग। तर समस्या बल्झिएपछि फेरि आउँछन्।
यो एक दिनको समस्या होइन। एकजनामा प्यारालाइसिस हुँदा घरका अन्य व्यक्ति पनि प्रभावित हुन्छन्। उसको स्याहारसुसारमा जीवनभर लाग्नुपर्छ। ‘त्यसैले यस्ता बिरामीलाई घर राखेर हुँदैन। बिरामीकाे पुन: स्थापनाका लागि एकीकृत प्राकृतिक उपचार गराउनुपर्छ’, रिजाल भन्छन्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights