Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विदेशमा सम्मानित, नेपालमा अपहेलित नर्स

विदेशमा सम्मानित, नेपालमा अपहेलित नर्स

नर्सिङ ‘नरेसमेन्ट’ शब्दबाट आएको हो। यसको शाब्दिक अर्थ हुन्छ, बिरामीलाई पोषक खानेकुरा खुवाउने हेरचाह गर्ने। १८औँ शताब्दीको अन्त्य र १९औँ शताब्दीको शुरुताका बिरामीहरूको सेवा चर्चहरूमा गरिन्थ्यो। बिरामीहरूको सेवा गरिब, पिछडिएका, अनपढ महिलाहरूले गर्नुपर्छ भन्ने धारणा व्याप्त थियो।

सन् १८२० मा इटलीमा जन्मेकी फ्लोरेन्स नाइटिंगेल सम्पन्न परिवारकी र पढेकी युवती थिइन्। एकपटक घाइते जनावरलाई कसैले स्याहारसुसार गरेर राम्राे बनाएकाे देखेर उनमा यसैगरी हेरचाह गर्ने हाे भने  बिरामी मानिसलाई पनि राम्राे बनाउन सकिने रहेछ भन्ने साेच पलायाे। याे घटनाबाट प्रेरित भएर उनी बिरामीहरूको सेवा गर्न चाहन्थिन् तर, उनको परिवारले यो कुरा रुचाएन। उनले जर्मनी र फ्रान्समा पुगेर नर्सिङ तालिम पनि लिइन्।

फ्लोरेन्सको सेवाभाव

त्यतिखेर युद्धका कारण थुप्रै सैनिक घाइते भएका थिए। उपचार र हेरचाह गर्ने मानिस नहुँदा उनीहरूको अवस्था ज्यादै नाजुक थियो। सैनिकरूको यस्तो अवस्था देखेर नाइटिंगेल त्यसै बस्न सकिनन्। सन् १८५३ तिर उनी बिरामी सैनिकहरू भएकै स्थानमा गएर सेवा गर्न थालिन्। उनी दिनरात नभनी बिरामीको सेवा गर्थिन्। दिनमा मात्र होइन राति हातमा बत्ती लिएर समेत बिरामीको सेवामा जुट्थिन्। उनको सेवाले धेरै सैनिकहरू ठिक भए। उनको सेवाभावको कदर गर्दै ‘लेडी विथ ल्याम्प’ अर्थात् बत्ती बोकेकी युवतीको उपमा दिइयो। त्यही नामबाट उनी विश्वभर चर्चित भइन्।

रोग लाग्न नदिन के–के गर्ने? लागेमा के गर्ने? वातावरणले मानिसलाई स्वस्थ राख्न वा बिरामी पार्न कस्तो भूमिका खेल्छ?लगायत विषयमा समेत उनले जनचेतना जगाइन्। आम मानिसको सम्मान त पाइन् नै उनलाई महारानीबाटसमेत सम्मान मिल्यो। पछि उनले नर्सिङसम्बन्धी पुस्तक मात्र लेखिनन् नर्सिङ विद्यालयसमेत स्थापना गरिन्। अमेरिकामा यससम्बन्धी पढाइ शुरु भयो। यसरी महत्त्व बढ्दै गयो नर्सिङ विधाको। उनै फ्लोरेन्स नाइटिंगेलको जन्मदिन पारेर मे १२ का दिन विश्व नर्सिङ दिवस मनाइन्छ।

प्रदेश १ र ३ मा हालै ल्याइएको ‘एक विद्यालय– एक नर्स’को अवधारणा एकदमै राम्रो हो। यसले विद्यार्थीमा स्वास्थ्यसम्बन्धी चेतना जगाउन मद्दत पुग्छ। स्कुलमा मात्र होइन, प्रत्येक उद्योग, कलकारखाना, होटल र कार्यालयहरूमा समेत कम्तीमा एक नर्स हुन आवश्यक छ।

नेपालमा यसरी भित्रियाे

नेपालमा परम्परागत रूपमा वैद्य धामी, झाँक्री आदिले उपचार गर्दै आएका थिए। गर्भवतीलाई सुत्केरी गराउने काम भने सुडेनीहरूले गर्थे। सहजरूपमा सुत्केरी हुँदा त समस्या हुँदैनथ्यो। जटिल केशमा आमा र बच्चा दुवैको ज्यानको खतरा हुन्थ्यो। यसो गर्दा धेरै आमा र बच्चाहरूको मृत्यु भएपछि यहाँ पनि नर्सको आवश्यकता महसुस हुँदै गयो सन् १९२८ नर्सिङ तालिमका लागि चार महिलालाई भारत पठाइयो। उनीहरू आएपछि १५ शय्याको वीर अस्पतालमा काम गर्न थाले। अन्य अस्पतालहरू स्थापना हुँदै गर्दा नर्सको आवश्यकता बढ्न थाल्यो। पढाउने क्याम्पसहरू पनि स्थापना हुँदै गए। यहाँसम्म आइपुग्दा नेपालमा बर्सेनि उल्लेख्य संख्यामा नर्स उत्पादन हुन्छन्।

नर्स किन आवश्यक?

चिकित्सकहरू अस्पतालमा सामान्यतय दिनमा दुई तीन पटक आउँछन्। नर्सहरू चौबिसै घण्टा अस्पतालमा हुन्छन्। बिरामीको सेवामा रहन्छन्। कुनै पनि बिरामी निको हुनुमा नर्सको विशेष भूमिका हुन्छ। जाँच्ने, रोगअनुसारको औषधि सिफारिस गर्ने काम चिकित्सकको हो। ती औषधि मात्रा मिलाएर ख्वाउने, आवश्यक सरसल्लाह, हेरचाहलगायत काम नर्सले गर्छन्।

खानपान, जीवनशैली आदिले मानिसलाई बिरामी बनाइरहेको हुन्छ। सानातिना कति कुरा थाहा नभएर समस्या भोगिरहेका हुन्छन्। चाँडै निको हुने रोग पनि ढिलो अस्पताल आएर धेरै मानिस मृत्युको मुखमा पुगिरहेको तथ्य पनि छ। मेरो विचारमा त प्रत्येक घर, नभए प्रत्येक वस्तीमा एक नर्सको व्यवस्थागर्न सके धेरैको जीवन रक्षा हुन्छ। मानिसलाई स्वस्थ जीवनशैली बिताउन सहयोग पुग्छ।

नर्सको महत्त्व जीवनको हरेक क्षणमा हुन्छ। विवाह गरेपछि परिवारलाई कसरी व्यवस्थापन गर्ने विषयमा उनीहरू विशेष भूमिका खेल्न सक्छन्। परिवार नियोजन गर्नेदेखि गर्भवती महिलाको रहनसहन, खानपान कसरी व्यवस्थापन गर्ने, ‘बर्थ प्रिपर्डनेस’ कसरीलगायत विषयको ज्ञानका लागि नर्सकै आवश्यकता पर्छ। बच्चा जन्मिएपछि नुहाइधुवाइ सफासुघ्घर, खानपान, पोषण र खोपका लागि नर्सको सल्लाह सुझावले सहज बनाउँछ।

स्वास्थ्यसम्बन्धी चेतना जस्तै किशोरावस्थामा हुुने शारीरिक परिवर्तन, यौनशिक्षा, एचआईभी हेपाटाइटिसजस्ता रोगबारे जानकारी दिन पनि नर्सको भूमिका प्रभावकारी हुन्छ। बिरामी हुँदा सेवा मात्र नभएर कस्तो खाने, कस्तो जीवनयापन गर्ने, कस्तो समस्या भए कस्तो उपचार गर्नेलगायतका ज्ञान दिनसमेत नर्सको भूमिका हुन्छ।

बच्चाहरूलाई सानैवेलादेखि स्वास्थ्यसम्बन्धी राम्रो चेतना दिन सकियो भने उनीहरूको जीवनयापन सहज हुन्छ र स्वस्थ समाजको परिकल्पना साकार हुनसक्छ। प्रदेश १ र ३ मा हालै ल्याइएको ‘एक विद्यालय– एक नर्स’को अवधारणा एकदमै राम्रो हो। यसले विद्यार्थीमा स्वास्थ्यसम्बन्धी चेतना जगाउन मद्दत पुग्छ। स्कुलमा मात्र होइन, प्रत्येक उद्योग, कलकारखाना, होटल र कार्यालयहरूमा समेत कम्तीमा एक नर्स हुन आवश्यक छ।

नेपालमा अपहेलित

यति महत्त्वको पेशा भएर पनि तर पनि हाम्रो देशमा नर्सको उचित सम्मान हुन सकेको छैन। त्यही बाध्यताले पनि नर्स विदेशिनुपरेको छ। अस्पतालमा सेवा गर्दा नर्सले ‘पर्सनल लाइफ’ गुमाएका हुन्छन्। एकल हुञ्जेल त तैबिसेक! विवाह गरिसकेपछि धेरै नर्सको पर्सनल लाइफ ‘रिस्क’मा हुन्छ। परिवारलाई समय दिन नपाएको र घरको काम नगरेका कारण मनमुटाव भएका धेरै दृष्टान्त छन्। बच्चा पाएपछि पर्याप्त समय दिन नपाउने समस्या प्रत्येकले भोग्दै आएका छौँ। अस्पतालमा आउने आमाहरूलाई ‘बच्चालाई कम्तीमा ६ महिना आफ्नै दूध खुवाउनु है’ भनेर ‘अर्ती’ दिने हामीहरू आफ्ना बच्चालाई ‘ल्याक्टोजेन’ खुवाउन बाध्य छौँ।

बिरामीलाई समयमै खाना र औषधि खुवाउने नर्सको आफ्नोचाहिँ खाने समय नै हुँदैन। यो कुरा मानिसले बुझ्दैनन्। नर्ससँग गुनासो गर्छन्। भरसक उनीहरूलाई नराम्रो देखाउँछन्। नेपाली समाजमा नर्सलाई अझै पनि धेरैले राम्रो दृष्टिले हेरिँदैनन्।

विकसित देशमा त नर्सको ठूलो महत्त्व छ। समाजमा नर्सलाई हेर्ने सकारात्मक दृष्टिकोण छ। त्यहाँ उनीहरूले सम्मान मात्र होइन जीवनयापनका लागि राम्रो पारिश्रमिकसमेत पाउँछन्। नेपालमा भने यसको ठीक उल्टो छ। न त यहाँ सम्मान नै छ न त जीवनयापनका लागि राम्रो सेवा सुविधा नै।

सरकारी अस्पतालमा नर्सको पर्याप्त माग नै हुँदैन। निजीमा काममा र सेवासुविधामा चरम शोषण छ।  त्यसैले नेपालमा उत्पादित नर्सहरू बाहिरिरहेका छन्। यहाँ उत्पादित नर्स यहीँ खपत गर्न र उनीहरूको जीवनयापन सहज र सम्मानित बनाउन सरकार, निजी क्षेत्र र सर्वसाधारणले सोच्न आवश्यक छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या