Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्षयरोग अन्त्यको एउटै उपाय : सबैको निदान र समयमै उपचार

उपचार गरे पूर्ण निको हुने क्षयरोगबाट वर्षेनी १८ हजारको मृत्यु 

क्षयरोग अन्त्यको एउटै उपाय : सबैको निदान र समयमै उपचार

क्षयरोग सम्बन्धी जनचेतना जगाउन विश्वभर प्रत्येक वर्ष मार्च २४ का दिन विश्व क्षयरोग दिवस मनाउने गरिन्छ । नेपालमा पनि ‘हो, हामी क्षयरोग अन्त्य गर्छौ’  Yes, We can end TB भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदैछ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष ७० हजार क्षयरोगका बिरामी थपिने गरेका छन् भने १८ हजार बिरामीको मृत्यु हुने अनुमान गरिएको छ । उपचारपछि पूर्ण रुपमा निको हुने रोगबाट पनि वर्षेनी १८ हजार बिरामीको किन मृत्यु भइरहेको छ ? सबैले गर्ने प्रश्न यही हो ।

क्षयरोग माइकोव्याक्टेरियम ट्युबरकुलोसिस नामक किटाणुवाट अत्यन्त छिटो सर्ने सरुवा रोग हो। यो रोग श्वासप्रस्वासको माध्यमबाट सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सक्छ । नेपालमा क्षयरोग प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहिआएको छ । यसले वर्षेनी हजारौंको ज्यान लिने भए पनि समयमै सही निदान र पूरा अवधिसम्म उपचार पाएमा पूर्ण रुपमा निको हुने रोग हो । नेपालमा हुने मृत्युको प्रमुख कारणहरुमध्येमा क्षयरोग पनि पर्छ ।

नेपालमा रोग पहिचान भएका बिरामीमध्ये ४५ प्रतिशतभन्दा बढी बिरामी उपचारभन्दा बाहिर रहेका छन् । अर्थात झण्डै आधा बिरामीले सरकारले प्रदान गरेको उपचार सेवा पाउन सकेका छैनन्। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले नेपालमा क्षयरोगी मध्ये अझै पनि ४५ प्रतिशत बिरामीलाई उपचारको दायरामा ल्याउन नसकिएको जिकीर गरे । उनले भने, ‘यही छुटेका बिरामी नै हाम्रा लागि ठूलो चुनौती बनेका छन्।’ उनले ७० हजार बिरामी थपिने हुने अनुमान गरिएको भए पनि यस वर्ष जम्मा ३७ हजार ४४७ जना बिरामी मात्र उपचारमा रहेको जिकीर गरे । जसमध्ये ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेका छन् ।

क्षयरोग अन्त्यको लागि सबैभन्दा ठूलो उपाय भनेको सबै बिरामीको सही निदान र सबैको समयमै उपचार नै हो । जबसम्म सबै बिरामी उपचारमा आउन सक्दैनन तबसम्म क्षयरोग सरुवा रोग भएकाले यसलाई अन्त्य गर्न असम्भव जस्तै देखिन्छ । उपचारमा नआएका क्षयरोगका एक जना बिरामीले एक वर्षमा १० जना सम्मलाई रोग सार्न सक्छन् यो भनेको जति धेरै बिरामी भयो त्यसले त्यति नै धेरै समूहमा रोग सारिरहेका हुन्छन् त्यसैले अबको प्राथमिकता छुटेका र उपचारमा नआएका बिरामीको खोजी नै हुनुपर्ने बताउँछन् वरिष्ठ छातीरोग विशेषज्ञ डा राजु पंगेनी । उनी भन्छन, क्षयरोग निको हुने रोग हो यसबाट कसैले पनि ज्यान गुमाउन हुँदैन त्यसका लागि सबै बिरामीको खोजी गरी उपचार गर्नुपर्छ अनि मात्र रोग फैलिने दर र मृत्युलाई रोक्न सकिन्छ । अर्को कुरा बिरामीलाई निदानपछि पूर्ण औषधि उपचारमा रहन पनि सल्लाह र हौसला दिन जरुरी हुन्छ । उनी भन्छन, क्षयरोग पत्ता लगाउन जोखिम समूह रहेका स्थानमै हाम्रो सेवा पुग्न पर्छ । अर्थात बिरामी केन्द्रित सेवा सुरु हुन जरुरी छ । कुपोषण भएका, एचआइभी संकमित व्यक्ति, मधुमेह भएका, धु्म्रपान तथा मद्यपानको सेवन गर्ने तथा बढी भिडभाडमा बसोबास गर्नेमा क्षयरोग हुने र सर्ने सम्भावना बढी हुन्छ । त्यसैले यस्ता जोखिमयुक्त समूह भएकै स्थानमा सरकारले परीक्षण सेवा पुराउन सके धेरै केस पत्ता लाग्न सहयोग पुग्ने देखिन्छ ।

क्षयरोगको किसिम

क्षयरोग दुई किसिमको हुन्छ । पहिलो पल्मोनरी ट्युबरकुलोसिस, जुन फोक्सोमा लाग्छ । यसलाई फोक्सोको क्षयरोग भनिन्छ । नेपालमा पत्ता लागेका र उपचारको दायरामा रहेका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग भएको पाइएको छ । जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ । अर्को एक्स्ट्रा पल्मोनरी ट्युबरकुलोसिस, फोक्सो बाहेकका अंगमा लाग्ने क्षयरोग जुन मस्तिष्क, फोक्सोको बाहिरी झिल्ली, ग्लान्ड आदीमा देखिन्छ । यस्ता क्षयरोगीको संख्या २८ प्रतिशत छ । यो क्षयरोग भने एक अर्कोमा सर्दैन ।

क्षयरोगका लक्षण

फोक्सोमा देखिने क्षयरोग नै मुलुकको सबैभन्दा ठूलो समस्या रहेको छ । फोक्सोको क्षयरोग हुँदा निम्न लक्षण देखिन सक्छन्। तर ७० प्रतिशत क्षयरोगमा लक्षण नै नदेखिन सक्छ ।
दुई हप्तादेखि लगातार खोकी लाग्नु
खोक्दा छाती दुख्नु
साँझपख ज्वरो आउनु
दुब्लाउँदै जानु
शरीरको तौल घट्दै जानु
खकारमा रगत देखिनु
राति पसिना आउनु
जस्ता लक्षण देखिँदा क्षयरोगको शंका गर्न सकिन्छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार हाल उपचारमा रहेका बिरामीहरुमध्ये ६८ प्रतिशत बिरामी तीन प्रदेश मधेश, बागमती र लुम्बिनी प्रदेशमा छन् । यसको मतलब सबैभन्दा धेरै बिरामीको भार मधेश प्रदेशमा रहेको छ । त्यसपछि बागमतीमा रोगको भार देखिन्छ भने लुम्बिनी प्रदेश तेस्रो नंबरमा देखिएको छ ।

कसरी सर्छ क्षयरोग ?

माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक किटाणुवाट लाग्ने यो रोग श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । यो रोग संक्रमित व्यक्ति स्वस्थ्य व्यक्तिसँग लामो समयसम्मसँगै रहँदा, श्वासप्रश्वास गर्दा, खोक्दा, हाच्छिउँ गर्दा हावाका माध्यमबाट स्वस्थ व्यक्तिमा सर्छ । साथै क्षयरोग जुनसुकै उमेरका व्यक्ति र जोसुकैलाई पनि लाग्ने भए पनि रोगसँग लड्ने क्षमता कम भएकालाई यसले सजिलै र छिटै आक्रमण गर्छ। एक जना व्यक्तिले १० जना सम्मलाई रोग सार्न सक्छ ।

क्षयरोग अन्त्यका लागि समस्या के हो ?

सरकारले सन् २०३० सम्ममा क्षयरोगको अन्त्य, सन् २०५० सम्ममा पूर्ण निवारण गर्ने र क्षयरोगको कारणले परिवारमा पर्ने आर्थिक भार शून्यमा झार्ने लक्ष्य लिएको छ । तर पहिचान नभएका र पहिचान भएर पनि उपचारको पहुँचमा आउन नसकेका बिरामी नै प्रमुख बाधक बनेका छन्। यही गतिमा र यही कार्यक्रममा मात्र क्षयरोग अन्त्यको कल्पना सम्म गर्न नसकिने बताउँछन क्षयरोग केन्द्रका निर्देशक डा श्रेष्ठ । त्यसका लागि अझ बढी काम अझ बढी सेवा विस्तार गर्न जरुरी रहेको उनको भनाई छ ।

स्मरण रहोस् क्षयरोगमुक्त देश हुनलाई प्रति १० लाख जनामा १ जना वा सो भन्दा कम क्षयरोगका बिरामी हुनुपर्छ । यो हिसाबले नेपालमा अहिलेको ३ करोड जनसंख्यामा बढीमा ३० जना मात्रै रोगी हुनुपर्छ । ‘नेपालमा २९ जनासम्म क्षयरोगका बिरामी पाइएमा मात्रै नेपाल क्षयरोग मुक्त देश हुनेछ ।

सरकारले देशभरी नै प्रत्यक्ष निगरानीमा औषधि गरिने विधि डट्स विधी लागु त गरेको छ । हाल नेपालभर छ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोगविरुद्धको औषधि निःशुल्क उपलब्ध छन्। उपचारमा आउने औषधि प्रतिरोधी क्षयरोगका बिरामीलाई ३ हजार पोषण भत्ता तथा यातायात सुविधा पनि दिने व्यवस्था छ ।

क्षयरोगको सम्पूर्ण उपचार औषधि लगायत नि:शुल्क छ तर धेरै बिरामीलाई यो सेवाका बारेमा जानकारी नै छैन् । त्यसैले क्षयरोगको औषधि उपचारका बारेमा जनचेतना फैलाउन पुगेको छैन्। ठूलो संख्यामा (४५ प्रतिशत) बिरामी उपचारमा नहुनु अर्को ठूलो चुनौती हो । त्यसैले सबै जोखिम समूहमा पुग्न आवश्यक छ । औषधि सेवन गरिरहेका बिरामीले बीचमै औषधि छोड्नु अर्को समस्या बन्ने गरेको छ । क्षयरोगको निदान सेवा बिरामीको घर सम्म पुग्न नसक्दा बिरामी स्वास्थ्य संस्थासम्म पुग्न सकेका छैनन्। अबको सेवा बिरामी केन्द्रित हुन आवश्यक देखिन्छ ।

अन्त्यमा, नेपालमा क्षयरोग अन्त्य गर्ने हो भने अहिलेका समस्या र चुनौतीलाई सम्बोधन गर्दै केही नयाँ र समूदायमै गएर कोही नछुटुन् भनेर योजना बनाउँदै मास स्क्रिनिङ गर्न आवश्यक छ । पत्ता लागेका बिरामीलाई अनिवार्य उपचारमा बस्न हौसला दिंदै उनीहरुलाई पूर्ण निको बनाउन पनि अत्यावश्यक देखिन्छ ताकी उनीहरुले समूदायमा गएर रोग नफैलाउन ।

 

थप समाचार