Health TV Online
Health TV Online
Health TV Online

‘जोर्नी प्रत्यारोपणपछि बिरामीलाई दुखाइ कम त हुन्छ नै दैनिक जीवनमा निकै सहज हुन्छ’

‘जोर्नी प्रत्यारोपणपछि बिरामीलाई दुखाइ कम त हुन्छ नै दैनिक जीवनमा निकै सहज हुन्छ’

अर्थोपेडिक सर्जन तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा सुमनबाबु मरहठ्ठा अहिलेका नाम चलेका जोशिला डाक्टरमध्ये पर्छन्। उनले अर्थोपेडिक सर्जरीमा न्याम्सबाट मास्टर्स गरिसकेपछि काम गर्ने क्रममा थुप्रै यस्ता बिरामी हेरे जसले उनलाई जोर्नी प्रत्यारोपणतर्फ उत्प्रेरित गर्यो । त्यसकै फलस्वरुप उनले जोर्नी प्रत्यारोपणमा नेपालमै बिरामीका लागि केही गर्नुपर्छ भन्ने ठानेर यही विषयमा फेलोसिप गरे अर्थात जोर्नी प्रत्यारोपण नै पढे । उनी अहिले सानेपास्थित स्टार अस्पताल र निजामती कर्मचारी अस्पतालमा कार्यरत छन् र बिरामीको नियमित जोर्नी प्रत्यारोपण गरिरहेका छन्। जोर्नी प्रत्यारोपण त्यसमा पनि नेपालमा धेरै जनामा देखिने घुँडाको समस्या र प्रत्यारोपणकाबारेमा उनीसँग हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यले गरेको कुराकानी:

जोर्नी किन बिग्रन्छ र यसको प्रत्यारोपण भन्नाले के बुझिन्छ ? 
जोर्नी प्रत्यारोपण भनेको अर्थोपेडिक सर्जरीको एक विशेष र छुट्टै विधा हो । हाम्रो शरीरका जोर्नीहरु विविध कारणले बिग्रन सक्छन । धेरैजसो आफनौ उमेरका कारण, कहिले बाहिरी रुपमा लाग्ने चोटपटकका कारण त कहिलेकाहीं संक्रमणका कारण जोर्नी बिग्रन सक्छ । जोर्नी बिग्रिसकेपछि शरीरमा अनेकौं लक्षण देखिन थाल्छन जसले जीवन असहज बन्न पुग्छ । त्यसैले यसलाई उपचार र सर्जरी गरेर मिलाउनु अथवा शरीरमा भएको बिग्रिएको जोर्नीलाई निकालेर कृतिम जोर्नी राख्ने प्रविधीलाई नै जोर्नी प्रत्यारोपण भनिन्छ । नेपालमा धेरै जसो हिप र घुँडाको जोर्नी प्रत्यारोपण हुने गरेको छ । यी दुईमा पनि घुँडाको समस्या बढी छ ।

बिरामी हिंडडुल गर्न नै गाह्रो हुन थाल्यो, ह्विलचेयरमै बस्न पर्ने भइसक्यो वा खुट्टा नै बांगिन थालिसक्यो भने अब जोर्नी प्रत्यारोपणबाहेकको अर्को उपाय नै हुँदैन्। यसमा औषधीले कुनै काम गर्दैन्। त्यो अवस्थामा भने हामी घुँडाको जोर्नी प्रत्यारोपण गरेर जीवन सहज बनाउन सल्लाह दिन्छाैं ।

जोर्नी बिग्रने बित्तिकै प्रत्यारोपण गर्ने की ?  अरु पनि उपचार उपाय छन् ? 
जोर्नी बिग्रने बित्तिकै यसको प्रत्यारोपण नै गर्नुपर्छ भन्ने होइन्। सजिलो भाषामा भन्नुपर्दा सबैको जोर्नीमा समस्या आउँदैमा दुख्दैमा प्रत्यारोपण गर्न पर्दैन र मिल्दैन पनि। शुरुमा हामी जोर्नी के कारणले बिग्रको हो, कति बिग्रको छ सबै हेरेर मात्र निर्णय गर्छौ। प्रत्यारोपण नै गर्ने भनेको जोर्नी अब अन्य उपचार, औषधी वा व्यायामले काम गर्दैन भन्ने लागेपछि मात्र हो । हामी यसलाई तीनवटा स्टेजमा राख्छौं । दुई वटासम्म स्टेजसम्म जोर्नी प्रत्यारोपण गर्नुपर्दैन । तर थर्ड स्टेज भनेको अब बिरामी हिंडडुल गर्न नै गाह्रो हुन थाल्यो, ह्विलचेयरमै बस्न पर्ने भइसक्यो वा खुट्टा नै बांगिन थालिसक्यो भने अब जोर्नी प्रत्यारोपणबाहेकको अर्को उपाय नै हुँदैन्। यसमा औषधीले कुनै काम गर्दैन्। त्यो अवस्थामा भने हामी घुँडाको जोर्नी प्रत्यारोपण गरेर जीवन सहज बनाउन सल्लाह दिन्छाैं ।

नेपालमा कुन चाहिं जोर्नी प्रत्यारोपण बढी हुन्छ ? 
नेपालमा मात्र हैन विश्वमै घुँडाको जोर्नी प्रत्यारोपण बढी हुनेगर्छ । यो समस्या बाहिरी भन्दा पनि उमेसँगै हड्डी खिइने समस्याका कारण बढी हुन्छ । त्यसैले नेपालमा पनि घुँडाको जोर्नी प्रत्यारोपण हामी धेरै गर्छौ । ८०\ ९० वर्षका बिरामीहरु पनि मेरो जोर्नी फेरिदिनुपर्यो भनेर आउनुहुन्छ । जति धेरै उमेर बढ्दै गयो त्यति नै घुँडा खिइँदै गएर समस्या बढ्दै जान्छ ।

किन बिग्रन्छ त घुँडाको जोर्नी ? 

हेर्नुस्, जुनसुकै जोर्नी बिग्रनुको पहिलो कारण भनेको उमेर बढेपछि हड्डी खिइँदै जानु नै हो । जसरी उमेरसँगै हाम्रो कपाल फुल्छ त्यसैगरी ह्डीको गुणस्तरमा पनि कमी आउँदै जान्छ अर्थात जोर्नी खिइँदै जान्छ। यो समस्या कसैमा बढी हुन्छ कसैमा कम । मोटो मानिस छ, कुनै शारीरिक व्याायाम गर्दैन भने त्यस्ता व्यक्तिको हड्डी खिइने क्रम बढी हुन्छ । साथै घुँडाको हड्डीमा शरीको सम्पूर्ण भार पर्ने भएकाले पनि मोटो मानिस छ भने अझ बढी खिइने गरेको पाइन्छ ।  यसैगरी घुँडा खिइँदै गएर यतिसम्म हुन्छ की दुई हड्डीहरु एक आपसमा घोटिएर हिड्दा चल्दा दुख्न थाल्छ । यो धेरै नै खिइयो भने यतिकै बस्दा पनि दुख्न थाल्छ । हिंडडुलमै समस्या हुन्छ । यसैगरी पलेँटी मारेर बस्ने, उकालाे ओरालो धेरै गर्ने, गहौं भारी बढी बोक्ने, अस्वस्थ जीवनयापन गर्नेहरूमा पनि  यो समस्या बढी हुने गर्छ ।

बुढेसकालमा पनि यति ठूलो शल्यक्रिया गर्ने भन्ने भ्रम पनि छ । यो भ्रम मात्र हो । अधिकांश जोर्नी प्रत्यारोपण हड्डी खिइएपछि गरिने हुँदा यो समस्या धेरै उमेर बढ्दै गएपछि बुढेसकालमा नै आउने हुँदा यसमा भ्रम पाल्न पर्दैन । यो सुरक्षित सर्जरी भएकाले समस्या भएकाहरुले आफनो जीवन सहज बनाउनका लागि र जति बाँचिन्छ पीडा बिना बाँच्नका लागि जोर्नी प्रत्यारोपण गर्न सक्नुहुन्छ ।

नेपालमा कति छन् त जोर्नी प्रत्यारोपण गर्नुपर्ने बिरामी ?
नेपालमा एकिन  तथ्यांक त छैन् तर कुल जनसंख्याको १ देखि २ प्रतिशत अर्थात ६ लाख मानिसको जोर्नी त्यसमा पनि विशेष गरी घुँडाको जोर्नी बिग्रेको अनुमान गरिन्छ । ती मध्ये ४० प्रतिशतको जोर्नी प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ । तर ती सबै उपचारमा आउन सकेका छैनन्। उनीहरू विविध कारणले विशेषज्ञ सेवा लिनबाट वञ्चित छन्। कतिचाहिं बुढेसकालमा यस्तो त भइहाल्छ नि भनेर उपचारमा आउँदैनन्।

कतिको महंगो छ जोर्नी प्रत्यारोपण ? 
यो असाध्यै प्राविधिक र स्किलफुल सर्जरी हो । यसमा इम्प्लान्ट कस्तो राख्ने त्यसमा भर पर्छ । अन्य देशको तुलनामा नेपालमा निकै सस्तो छ । बाहिर वीमाले यसलाई कभर गर्ने भएकाले पनि धेरैले  समस्या भएपछि जोर्नी प्रत्यारोपण गरेर सहज जीवन बिताइरहेको पाइन्छ भने हामीकहाँ भने वीमाले यसलाई कभर गर्दैन्। जसका कारण बुढेसकालमा यस्तै छ हो नि भनेर बस्नेको संख्या धेरै छ । इम्प्लान्ट र केस हेरेर यसको शुल्क निर्धारण हुन्छ । बिरामीले शुल्क तिर्नै नसक्ने गरी महंगो छैन्।

शल्यक्रियापछि कत्तिको सहज हुन्छ ?
धेरैलाई असाध्यै सहज हुने गरेको छ । हुन त तपाइँले कति आशा गर्नुभएको छ त्यसमा पनि भर पर्छ । यति ठूलो सर्जरी गरेपछि म त दौडिनै सक्छु होला, पलेटी नै मार्न सक्छु की भन्ने धेरै आशा गरेकालाई कम भए जस्तो लाग्नु स्वभाविक हो । तर यसले दुई पाइला हिंड्न पनि गाह्रो भएकाहरु एवं दिन रात दुखाइ सहन बाध्य भएकाहरुलाई वरदान नै सावित भएको छ । उनीहरु यही दुखाइ र असहजताका कारण कयौं आफन्तहरु भेट्न समेत जान पाएका हुँदैनन् । यो सर्जरीपछि भने उनीहरुको मुहारमा निकै खुशी छाएको पाइन्छ । अहिलेसम्म हामीले सर्जरी गरेका बिरामीहरु सन्तुष्ट नै हुनुहुन्छ ।

नेपालमा अब जोर्नी प्रत्यारोपणमा के गर्न जरुरी छ ?
नेपालमा अझै पनि धेरै जनालाई घुँडा, हिप लगायतका जोर्नी बिग्रेमा प्रत्यारोपण गर्न मिल्छ भन्ने नै थाहा छैन्। जतिलाई थाहा छ उनीहरुमध्ये धेरैमा जोर्नी प्रत्यारोपण गरेपछि झनै समस्या हुन्छ भन्ने भ्रम पनि छ । त्यसैले पहिलाे कुरा त यो सर्जरीकाबारेमा नै जानकारी दिन जरुरी छ । अर्को कुरा बुढेसकालमा पनि यति ठूलो शल्यक्रिया गर्ने भन्ने भ्रम पनि छ । यो भ्रम मात्र हो । अधिकांश जोर्नी प्रत्यारोपण हड्डी खिइएपछि गरिने हुँदा यो समस्या अधिकांश उमेर बढ्दै गएपछि बुढेसकालमा नै आउने हुँदा यसमा भ्रम पाल्न पर्दैन । त्यसैले उमेर भएकाहरुकै बढी शल्यक्रिया गर्नुपर्ने हुन्छ । यो सुरक्षित सर्जरी भएकाले समस्या भएकाहरुले आफनो जीवन सहज बनाउनका लागि र जति बाँचिन्छ पीडा बिना बाँच्नका लागि जोर्नी प्रत्यारोपण गर्न सक्नुहुन्छ । सरकारले यसका लागि केही कार्यक्रमहरु पनि ल्याउन जरुरी छ । कम्तीमा इम्प्लान्टमा सरकारले सहयोग गरेमा धेरै बिरामीले जोर्नी प्रत्यारोपण गर्न सक्थे र सहज हुने थियो । यसैगरी नेपालमा अब अन्य विशिष्टकृत अस्पताल जस्तै जोर्नी प्रत्यारोपणको अस्पतालको समेत आवश्यकता भइसकेको छ ।

 

 

 

 

 

 

थप समाचार