अपांगता भएका महिला र पुरुषलाई हेर्ने दृष्टिकोणमै विभेद छ
अपांगता भएका ज्वाइँ सहजै स्विकारिन्छ, बुहारी स्विकारिन्न
हाम्रो समाजमा अपांगता भएका व्यक्तिहरुलाई दैनिक जीवनमा आइपर्ने विभिन्न अत्यावश्यक सेवा लिन र पहुँचमा पुग्न अझै पनि निकै गाह्रो छ । एक त उनीहरुलाई समाजले हेर्ने दृष्टिकोणमा नै परिवर्तन आउन सकेको छैन् भने सेवा, सुविधा, हक, अधिकारमा अझै पनि सहजता हुन सकेको छैन् । अपांगता भएका व्यक्ति त्यसमा पनि महिलालाई कस्तो खालको चुनौती सामना गर्नु परिरहेको छ भन्ने विषयको सेरोफेरोमा अपांगता भएका महिलाहरुको सशक्तीकरणको लागि काम गर्ने संस्था प्रयत्न नेपालकी संस्थापक अध्यक्ष सरिता लामिछानेसँग चौंथो प्यासिफिक फेमिनिस्ट फोरमको सन्दर्भ पारेर हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यले गरेको कुराकानी :
अपांगता भएका व्यक्हिरुलाई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ?
अपांगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा अझै पनि सोचे जस्तो परिवर्तन आउन सकेको छैन् । उनीहरुलाई सुरुमै आफै असक्षम घोषणा गर्दै अपांगता भएका व्यक्तिलाई कठै विचरा केही गर्न सक्दैनन भनेर विचराको पात्रको रुपमा मात्र हेरेको पाइन्छ । खासमा अपांगता भएका व्यक्तिले खोजेको त्यस्तो होइन, उनीहरु पनि अन्य व्यक्ति सरह सेवा, सुविधा र अवसर पाएमा काम गर्न सक्षम छन् भन्ने कुरा बुझाउनै सकिएको छैन् । यसैगरी कुनै पनि व्यक्ति यदि कुनै प्रकारको अपांगता लिएर जन्मियो भने अब उसको जीवन यत्ति नै हो भन्ने गरेको पाइन्छ । साथै उनीहरुको अन्य सेवा, सुविधा, इच्छा, चाहनाकाबारेमा खासै ख्याल गरेको पाइँदैन् । यद्यपी अपांगता भएका व्यक्तिको अधिकारको लागि देशमा विभिन्न कानून, ऐन पनि विद्यमान छन् ।
अपांगता भएका महिलालाई अझ बढी चुनौती छ हो ?
त्यो त भन्नै परेन । अपांगता भएका महिला र पुरुषको तुलनामा कसले बढी चुनौती व्यहोर्न पर्छ भन्यो भने यसमा महिला नै पर्छन । किनकी अपांगता भएका पुरुष र महिलामा नै हेर्ने दृष्टिकोणमा विभेद पाइन्छ । यसको ज्वलन्त उदाहरण यदि छोरा अपांग छ भने पनि उनीहरु बुहारी चाहिं अपांगता नभएकीको चाहना गर्छन । कसैले पनि अपंगता भएकी बुहारी स्विकार्नै खोज्दैनन् । तर अपांगता भएकी छोरीका लागि अपांगता भएका ज्वाइँ भने स्विकार गरिरहेका छन् । त्यसैले यसमै विभेद देखिन्छ । अर्को कुरा महिललाई आफनो शारीरिक कारणले पनि अझ बढी चुनौती छन् । किशोरावस्थामा प्रवेश गर्दैगर्दा धेरै शारीरिक परिवर्तनहरु हुन्छन् त्यसबेला उनीहरुलाई सही काउन्सिलङ भएन भने धेरै नै समस्या हुन्छ । यदि बौद्धिक, शारीरिकरुपमा अपांगता छ भने यस्ता किशोरीहरु यौन हिंसामा पर्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ । अन्य महिलाका तुलनामा अपांगता भएका महिला बढी हिंसामा पर्ने गरेको पाइएको छ। त्यसैले धेरैले महिलालाई घरबाहिर जान नदिने, कतिपयले त किशोरावस्थामा हर्मोन औषधि खुवाइदिने तथा गर्भनिरोधक पिल्सहरु खुवाउनेसम्म गरेको पाइन्छ ।
अपांगता भएका महिलाहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा लिन कत्तिको सहज छ ?
यसै पनि यौन तथा प्रजनन स्वास्थ्यका कुरा कमै गरिन्छ । त्यसमा पनि अपांगता भएका महिलालाई यो सेवा चाहिन्छ र भन्ने गरिन्छ । त्यसैले अपांगता भएका धेरै महिलालाई यो सेवा लिन निकै गाह्रो छ । अर्को कुरा हामीकहाँ स्वास्थ्य संरचना अपांगतामैत्री छैनन्। जसले गर्दा स्वास्थ्य संस्थासम्म पुग्नै गाह्रो छ । ह्वील चेयर मैत्री संरचना नभएसम्म कसरी महिला त्यहाँसम्म पुग्ने ? हुन त भौतिक पूर्वाधार संरचना ऐन २०६९ आएपछि सबै भौतिक संरचना अपांगमैत्री हुनुपर्छ भनेको छ । सो कानून अनुसार सबै स्वास्थ्य संस्था अपांगता मैत्री हुनुपर्छ । तर व्यवहारमा निकै कठिनाई छ । र्याम्प मात्र बनाएर भएन, त्यहाँसम्म पुग्ने बाटोको पनि कुरा आउँछ । त्यसैले प्रजनन स्वास्थ्य सेवा मात्र होइन अन्य कुनै पनि सेवा लिन निकै गाह्रो छ । यसैगरी स्वास्थ्यका सूचना वेभसाइटमा राखिएका सामग्री सबैमा अपांगता भएका व्यक्तिको पहुँच छैन् ।
अपांगता भएका महिलाहरुलाई अहिले सबैभन्दा बढी के कुराको आवश्यकता छ जस्तो लाग्छ?
हेर्नुस्, अपांगता हुँदैमा सबै कुरा सकियो भन्ने होइन । अपांगता भएर पनि देशलाई, समाजलाई धेरै कन्ट्रिब्युट गर्न सकिन्छ तर अवसर चाहिंदिनु पर्यो । विगत केही वर्ष यता नेपालले अपांगता सम्बन्धी अन्तराष्ट्रिय महासन्धीमा हस्ताक्षर गरेपछि धेरै कामहरु भएका छन्। हामीकहाँ अपांगता सम्बन्धी कानून, ऐन निकै राम्रा पनि छन्। तर अझै पनि व्यवहारिक पक्ष निकै फितलो छ । प्रतिनिधीका रुपमा अपांगता भएका व्यक्तिलाई सबै क्षेत्रमा राखिए पनि उनीहरुको निर्णयकर्ताको रुपमा भूमिका शुन्य जस्तै छ । जहिले पनि अपांगता भएका व्यक्ति रिसिभर मात्रै हुन् उनीहरु कन्ट्रिब्युटर हुन सक्दैनन भन्ने सोच छ यसको अन्त्य हुनुपर्छ । अहिले अपांगता भएका महिलालाई चाहिएको भनेको सबै सेवामा, सूचनामा सहज पहुँच तथा अवसरमा समानता हो । कानूनले दिएका व्यवस्थाको कार्यान्वयन त छँदैछ ।
एशिया प्यासिफिक क्षेत्र र नेपालका अपांगता भएका महिलाका चुनौतीमा केही फरक छ त ?
एशिया प्यासिफक क्षेत्रको र हाम्रो देशको समस्या धेरै हदसम्म उस्ताउस्तै छन्। तर कतिपय अवस्थामा उनीहरु अघि छन् । जस्तो अवसर, समानता जस्ता व्यवहारिक कुरामा उनीहरु केही अघि देखिन्छन् । नेपालको सबैभन्दा राम्रो पक्ष भनेको कानून बनाउनमा चाहिं निकै अघि छ । अन्य देशको तुलनामा हामीकहाँ निकै बलिया अपांगता अधिकार सम्बन्धी कानूनहरु बनेका छन् तर व्यवहारिक रुपमा भने निकै फितलो छ । अन्यथा व्यहारिक धेरै समस्याहरु मिल्दाजुल्दा छन्।
अपांगता भएका महिलाको विवाहको विषयमा कस्तो धारणा पाउनुभएको छ ?
बुहारीलाइ अहिले पनि घरको कामकाजसँग जोडेर हेरिन्छ । छोरा अपांग भएको हेर्न सक्ने बाबुआमाले तर त्यही घरमा अपांगता भएको बुहारी हेर्न सक्दैनन् । अपांगता भएका ज्वाइँ सहजै स्विकारिन्छ तर बुहारी स्विकारिन्न । त्यसैले अपांगता भएका महिलाको विवाहमा अझै पनि समस्या नै छ भन्दा हुन्छ । विवाह गर्नै पर्यो भने अपांगता भएकै व्यक्ति खोज्ने प्रचलन धेरै छ अझै पनि ।
अपांगता भएका व्यक्तिको सफल कथाहरु मिडियामा अलि कम आएका हुन् की ?
एकदमै सही कुरा गर्नुभयो । हामीकहाँ अपांगता भएका व्यक्तिहरुलाई सधैं कठै, विचरा भन्ने मात्र रुपमा देखाइन्छ । मिडियाले पनि उनीहरुलाई भिक्टिमको रुपमा मात्र देखाएको पाइन्छ । उनीहरुले गरेको राम्रा काम, सफल स्टोरीहरु एकदमै कम मात्र आउँछ । उनीहरुले पनि निकै राम्रा काम गरेका छन् तर ती कुरा बाहिर नआउँदा सो कुरा अन्य व्यक्तिहरुलाई थाहा नै छैन् । के कुरा हो भने अपांगता भएका व्यक्तिहरुलाई अवसर, समान पहुँच तथा निर्णयकर्ताको रुपमा अघि ल्याउन पर्छ । उनीहरुले गरेका सफलताका कथा बाहिर आउँदा अन्य अपांगता भएका व्यक्तिलाई पनि प्रोत्साहन हुन्छ ।
छुटेका बालबालिकालाई खोप लगाइँदै
नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
ह्याम्स अस्पतालको स्वास्थ्य सरोकार बहस, गुणस्तरीय सेवामा जोड
वैज्ञानिक खोज र अनुसन्धानमा लगानी बढाइनुपर्छ : शिक्षामन्त्री भट्टराई
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन चैत २८ गतेदेखि