एम्बुलेन्समा ल्याउन नमिल्ने बिरामीका लागि हेलि रेस्क्यु !

गम्भीर प्रकारका बिरामी जसलाई छिटोभन्दा छिटो उपचारमा ल्याउनुपर्छ र उपचारमा ढिलाई हुँदा ज्यानै जानसक्छ वा भौगोलिक हिसाबले गाडी तथा एम्बुलेन्स पुग्न नसक्ने अवस्थामा बिरामीलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने गरिन्छ । जसलाई हेलि रेस्क्यु भनिन्छ । नेपालमा पनि भौगोलिक विकटताका कारण धेरै नै हेली रेस्क्यु गर्नुपर्ने हुन्छ । यसरी हेली रेस्क्यु गर्नेमा ह्याम्स अस्पताल पहिलो पङ्तीमा पर्छ । ह्याम्स अस्पतालले ४ वर्ष अघिदेखि हेलि रेस्क्यु सेवा सुरु गरेको हो । ह्याम्स अस्पतालको आफनै हेलि प्याड भएका कारण पनि यहाँ धेरै नै बिरामी हेली रेस्क्यु गरेर ल्याउन सम्भव भएको छ । यही हेलि रेस्क्यु के हो र कसरी यसप्रकारको रेस्क्यु गरिन्छ भन्नेवारेमा ह्याम्स अस्पतालका इमरजेन्सी फिजिसियन तथा प्रि हस्पिटल केयर इन्चार्ज डा निशान्त ढकालसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी :
हेलि रेस्क्यु भनेको के हो ?
हेली रेस्क्यु भनेको हेलिकोप्टरबाट कुनै गम्भीर प्रकृतिको बिरामीको उद्धार गरी उपचार गर्न तुरुन्त अस्पतालसम्म ल्याउनु हो । यसको नामबाट नै प्रस्ट हुन्छ की यो हेलिकोप्टरद्धारा गरिने उद्धार हो । यसरी उद्धार गर्न जाँदा हेलिकोप्टरमा सम्पूर्ण मेडिकल सुविधासहित चिकित्सक तथा स्वास्थ्कर्मीको टोली नै जाने गर्छ । जसले गर्दा बिरामीलाई तुरुन्त आवश्यक पर्ने उपचार गर्दै अस्पतालसम्म पुराउने गरिन्छ ।
कस्तो अवस्थामा हेलि रेस्क्यु आवश्यक हुन्छ ?
अत्यन्त सिकिस्त बिरामी जसलाई तुरुन्त अस्पताल पुराएर उपचार सुरु गर्नुपर्ने हुन्छ, त्यसैगरी गम्भीर चोटपटक लागेका व्यक्ति जसलाई लामो बाटोमा गाडीबाट ल्याउँदा थर्किने, हल्लिने र झन समस्या बल्झिन्छ वा कसै कसैलाई बाटोको दुख सहनुभन्दा छिटो छरितो पुगेर उपचार गरौं भन्नेहरुका लागि यो सेवा दिने गरिन्छ । हामीकहाँ धेरै जसो रहरले भन्दा पनि आवश्यकताले हेली रेस्क्यु हुने गर्छ ।
धेरै जसो भौगोलिक विकटताका कारण हिमाल पहाड जहाँ सजिलै एम्बुलेन्स पुग्न सक्दैन र पुगे पनि लामो बाटोको यात्रा गर्नुपर्ने हुन्छ जसका कारणले इमरजेन्सीमा हेलीकोप्टर नै प्रयोग हुने गर्छ । गम्भीर प्रकृतिका बिरामीको एक एक मिनेटको पनि समय उपचारमा महत्वपूर्ण हुने हुँदा हेली रेस्क्यु कतिपय अवस्थामा अत्यन्त जरुरी पर्न जान्छ । र त्यस अवस्थामा बिरामीको ज्यान बचाउन सहयोगी सिद्ध बन्छ ।
ह्याम्स अस्पतालले अहिलेसम्म कतिजनाको हेलि रेस्क्यु गरिसक्यो ?
हामीले बिरामीहरुको आवश्यकताअनुसार हेली रेस्क्युको सेवा प्रवाह गरिरहेका छौं । जसका लागि डेडिकेटेट टिम नै छ । इमरजेन्सीका विशेषज्ञ डाक्टर, तालिमप्राप्त स्वास्थ्यकर्मी, भेन्टिलेटर र अन्य अत्याधुनिक मेडिकल उपकरणसहितको हेली रेस्क्युको अन्तर्राष्ट्रियस्तरको सेवा हामीले प्रवाह गरिरहेका छौं । त्यसैले हामीले हेली रेस्क्यु गरेका अधिकांशको ज्यान बचाउन सफल पनि भएका छौं । हामीले सेवा सुरु गरेको ४ वर्षमा २८१ जनाको हेली रेस्क्यु गरिसकेका छौं भने ती मध्ये त ५१ जना अत्यन्त सिकिस्त भेन्टिलेटरमा रहेका बिरामी थिए । नेपालमा हेलीप्याड भएका थोरै मात्र अस्पताल छन् जस मध्ये ह्याम्स अस्पताल पनि एक हाे ।नेपालमा यसरी हेली रेस्क्यु गर्ने ३ \४ वटा मात्र कर्पोरेट कम्पनीहरू छन् ।
हेलि रेस्क्यु गर्दा कस्तो चुनौती आइपर्छ ?
पहिलो कुरा त हामीकहाँ हेलिकोप्टर नै कम छन्। भएका पनि टुरिस्ट सिजनमा पर्यटकलाई ओसारपसारमा बढी व्यस्त हुन्छन् । हामीकहाँ छुट्टै डेडिकेटेट मेडिकल हेलिकोप्टर छैन्। त्यसैले पहिले उपलब्ध छ छैन बुझेर मात्र बिरामीलाई सेवा दिन सक्छौं । कतिपय अवस्थामा हेलिकोप्टर नै उपलब्ध हुँदैनन्। त्यसबेला बिरामीलाई ‘सरी’ भन्नुपर्ने हुन्छ ।
अर्को चुनौती भनेको रातीको समयमा हेली रेस्क्यु गर्न सकिंदैन । नेपालमा त्यो प्रकारका सुविधा भएको हेलिकोप्टर छैनन्। सिभिलियनलाई राती हेलिकोप्टर उडाउन अनुमति नै छैन् । घाम उदाएपछि र घाम अस्ताउनु अघि मात्र रेस्क्यु गर्न सकिन्छ । यो हाम्रो बाध्यता हो । आर्मीले कहिलेकाहीं उडाउँछन् तर निकै कम छ । यसैगरी कहिलेकाहीं बिरामी लिन जान्छौं सम्पूर्ण तयारी गरेर तर विचमै फोन आउँछ बिरामी त रहनुभएन भनेर । अनि विचबाटै फर्कनुपर्छ । त्यस्तो अवस्था पनि कहिलेकाहीं सामना गर्नुपर्छ ।
अर्को भौगोलिक कारणले पनि रेस्क्यु गर्न जान जोखिमपूर्ण हुन्छ । यसैगरी हेलिकोप्टर रेस्क्यु केही महंगो छ त्यसैले सबैको पहुँचमा यो सेवा पुग्न सकेको छैन्। यसबारेमा आफना नागरिकको ज्यान जोगाउने सेवा भएकाले सरकारले सोच्नुपर्ने हुन्छ।
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights
नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न