Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन अनुसन्धानकर्ताहरुका लागि ठूलो उत्सव हो’ (भिडियोसहित)

‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन अनुसन्धानकर्ताहरुका लागि ठूलो उत्सव हो’ (भिडियोसहित)

हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही चैत २७ गतेदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय शिखर सम्मेलन गर्दैछ। परिषद्ले आफनो स्थापना दिवसको अवसर पारेर विगत ८ वर्षदेखि १० देखि १२ अप्रिलमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको राष्ट्रिय शिखर सम्मेलन गर्दै आएको छ । कोरोना महामारीका कारण यसअघिका दुईवटा सम्मेलन भर्चुअल रुपमा गरिएको भए पनि यसपटक भने सम्मेलन भौतिक उपस्थितीमै गर्न लागिएको छ । सम्मेलनका सम्बन्धमा परिषद्का कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीसँग हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यले गरेको कुराकानी :

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलनको मुख्य उद्देश्य के हो ?

देश विदेशमा भएका स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ठूलो उत्सव हो यो सम्मेलन । हामीले विगत ८ वर्षदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुलाई एक थलोमा जम्मा पारेर स्वास्थ्यका विविध विषयमा गरिएका अनुसन्धानकाबारेमा छलफल गर्न यो सम्मेलन गर्दै आएका छौं । यसको मुख्य उद्देस्य भनेको स्वास्थ्य अनुसन्धानमा रुचि राख्ने र चासो दिने सबै अनुसन्धानकर्ताहरुलाई एक थलोमा भेला पारेर गुणस्तरीय र विश्वसनीय अनुसन्धानमा अभिप्रेरित गर्नु नै हो । यो सम्मेलन अनुसन्धानमा रुचि राख्ने र अनुसन्धान गर्न चाहने सबैका लागि ठूलो उत्सव पनि हो । परिषद्ले यङ जेनेरेसन जो अनुसन्धानमा रुचि राख्छन् उनीहरुलाई अनुसन्धान कार्यमा लाग्न प्रेरणा मिलोस् र स्वास्थ्यमा अनुसन्धानको विकास र विस्तार होस् भनेर नै सम्मेलनको शुरुवात गरेको हो । यसपटकको हाम्रो उद्देश्य पनि त्यही नै हो कि स्वास्थ्यका क्षेत्रमा अनुसन्धान मात्र हैन् गुणस्तरीय अनुसन्धान हुनपर्छ र अब क्लिनिकल ट्रायल सम्मका अनुसन्धान जसले देशको स्वास्थ्य नीतिमै ठूलो योगदान पुराओस त्यस्ता खालका काम होस भन्ने हो । यसरी सम्मेलन गर्दा अन्तराष्ट्रिय रुपमा कस्ता खालका अध्ययन अनुसन्धान भइरहेका छन् र हामी कहाँ छौं भन्ने बुझ्न पनि सहयोग पुग्ने देखिन्छ र यस विषयमा धेरै कुरा सिक्ने अवसर मिल्छ ।

यसभन्दा अघिका दुई वटा सम्मेलन भर्चुअल भयो यसपटक कसरी गर्दै हुनुहुन्छ ? 

कोरोना महामारीका कारण हामीले यअघिका २ सम्मेलन दुईपटकसम्म सम्मेलनको समय तोकेर पनि सार्नु परेको थियो भने पछि भर्चुअल रुपमा भयो । कोरोना महामारीको भयावह स्थिती हुँदा पनि हामीले प्रत्येक वर्ष गर्दै आएको सम्मेलन छुटाउन हुँदैन भनेर भर्चुअल रुपमै भए पनि गर्नपर्छ भनेर सम्पन्न गर्यौं । यसपटक भने कोरोना महामारी कम भएको र धेरै जनाले खोप पाइसकेको कारणले हाम्रो सम्मेलन भर्चुअल प्लस भौतिक उपस्थितीमा गर्न लागेका हौं । सम्मेलनमा भौतिक रुपमा आउन नसक्ने सहभागीदेखि प्रस्तुतकर्तासम्म भर्चुअल रुपमा जोडिएर आफना कुराहरु राख्नुहुनेछ भने सहभागी हुनसक्नेहरु आउनुहुनेछ । त्यसका लागि हामीले उच्चस्तरीय प्रविधिको व्यवस्था गरेका छौं । ‘आइटी’ को टिम नै खटिएको छ त्यसका लागि । देश विदेशका स्वास्थ्य वैज्ञानिकहरुलाई पनि त्यही अनुसार नै तयार हुन आग्रह गरिएको छ । समयको माग अनुसार हामीले यो कार्यक्रमलाई हाइब्रिड टाइपको बनाउँदैछौं ।

सम्मेलनमा कस्ता कस्ता विषयमा प्रस्तुतीकरण हुँदैछ ? 

विगत ३ वर्षयता स्वास्थ्यको धेरै विषय कोभिड १९ मै केन्द्रित भएका छन्। विश्व नै कोरोना महामारीको चपेटामा परेको हुँदा यसपटक पनि धेरै अनुसन्धानका विषय कोभिडसँग सम्बन्धित छन्। हाम्रो तीन दिनको सम्मेलनमा स्वास्थ्य तथा जनसंख्याका विभिन्न १० भन्दा बढी विधामा प्रस्तुति हुनेछ । त्यसअन्तर्गत कोभिड र अनुन्धान, नसर्ने रोग, मानसिक स्वास्थ्य, पोषण, मातृ स्वास्थ्य, स्वास्थ्य नीति, संक्रामक रोग लगायतका विषय छन्। यसपटक अलि बढी पोलिसी र सिस्टम रिसर्चमा केन्द्रित हुनेछ । सम्मेलनमा अनुसन्धानकर्ताहरुले आफ्ना खोज तथा अनुसन्धानबारे ११२ वटा अनुसन्धानका मौखिक प्रस्तुति तथा ४१ पोस्टर प्रस्तुति गर्नेछन्। यसैगरी आमन्त्रित विज्ञबाट स्वास्थ्य अनुसन्धानबारे विषयमा प्रस्तुतीकरण तथा छलफल हुनेछ। हालसम्म १५३ वटा अब्स्ट्याकट पेपर आएका छन्। उदघाटन स्वास्थ्य तथा जनसंख्यामन्त्रीबाट हुनेछ । प्रदेशका मुख्यमन्त्री लगायतलाई समेट्ने प्रयास गरेका छौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको यसपटकको सम्मेलनमा हामीले कुनै न कुनै प्लटेफर्मबाट ५ लाख मानिसले हाम्रो कार्यक्रममा सहभागिता जनाउँछन् भने अपेक्षा राखेका छौं ।

खुशीको कुरा पछिल्लो समय नेपालमा पनि अनुसन्धान कल्चर विकास हुन थालेको छ । तर सरकारले अझै यसलाई उच्च प्राथमिकतामा राखी स्वास्थ्य अनुसन्धानमा लगानी पनि बढाउनुपर्छ । सरकारले स्वास्थ्यको कुल बजेटको २ प्रतिशत अनुसन्धानमा छुट्याउनुपर्छ । यसैगरी कतिपय नीतिगत कुराहरु अझै पनि अनुसन्धानका लागि अड्चन बनेर आउँछन्। त्यसलाई सजिलो बनाउने काममा पनि सरकारले सहयोग गर्नपर्छ ।

यसपटकको सम्मेलनमा कुन कुन विधाका लागि अवार्ड राखिएको छ ? केही थप छ की? 

हामीले गत वर्षहरु जस्तै यसवर्ष पनि अवार्ड कार्यक्रम राखेका छौं । कामको सम्मान गर्दै दिइने यस्ता अवार्डले अनुसन्धानकर्तालाई आफूले गरेको काममा लागिरहन र राम्रो गर्नका लागि प्रेरणा मिल्छ भन्ने विश्वास हो । यसपटक पनि विभिन्न विधामा अवार्ड दिइनेछ । बेस्ट पेपर अवार्ड, बेस्ट पोस्टर अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, योङ रिसर्चर अवार्ड, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट ओरेसन अवार्ड लगायतकाविधाका अवार्ड प्रदान गरिने भएको छ । र यसपटक मेडिकल डक्टर मात्र नभई पब्लिक हेल्थबाट पनि एउटा अवार्ड थप गरिएको छ । यसका साथै यसअघि परिषदको जर्नलमा प्रकाशित लेखलाई मात्र अवार्ड दिइँदै आइएकोमा यसपटकदेखि यसलाई अझ फराकिलो बनाई अन्य अन्तराष्ट्रिय जर्नलमा प्रकाशित भएका आर्टिकललाई पनि समावेश गरी अवार्ड दिइनेछ । यो यसपटकको थप अवार्ड हो । अन्य अवार्डले निरन्तरता नै पाउने नै छन्।

नेपालमा अहिले भइरहेका स्वास्थ्य अनुसन्धानलाई कसरी हेर्नुहुन्छ ।

हेर्नुस ,नेपालमा स्वास्थ्य अनुसन्धान नभएका हैनन् । राम्रा अनुसन्धानहरु पनि भएका छन् तर यतिले पुग्दैन भन्ने हाम्रो भनाई हो । अब हामी स साना रिसर्चमा मात्र अलमलिने बेला होइन अब भनेको नीतिमै परिवर्तन गर्नसक्ने गरी र अध्ययन अनुसन्धान हुन जरुरी छ । यसका साथै देशको समृद्धिमा पनि त्यसले टेवा पुराओस् । यही कोभिडका बेला हेर्नुस हामी पछि परेको महशुस गर्नु पर्यो । अरुले अनुसन्धान गरेको भ्याक्सिन लगायौं । जुन कुरा हामीले गर्न सक्नुपर्छ भन्ने मेरो मान्यता हो । त्यो क्षमता नेपाली वैज्ञानिकहरुमा छ त्यसका लागि सरकारले वातावरण चाहिं बनाइदिन पर्छ । खुशीको कुरा पछिल्लो समय नेपालमा पनि अनुसन्धान कल्चर विकास हुन थालेको छ । तर सरकारले अझै यसलाई उच्च प्राथमिकतामा राखी स्वास्थ्य अनुसन्धानमा लगानी पनि बढाउनुपर्छ । सरकारले स्वास्थ्यको कुल बजेटको २ प्रतिशत अनुसन्धानमा छुट्याउनुपर्छ । यसैगरी कतिपय नीतिगत कुराहरु अझै पनि अनुसन्धानका लागि अड्चन बनेर आउँछन्। त्यसलाई सजिलो बनाउने काममा पनि सरकारले सहयोग गर्नपर्छ । कोभिडका बेला परिषद्ले अनुसन्धानमा व्यापक काम गर्यो र गरिरहेको छ । परिषद् आफै अनुसन्धान गर्ने र गर्न लगाउने संस्था भएकाले पनि हामी यसको गुणस्तरमा कमी आउन हुँदैन भन्ने कुरामा ख्याल गरिरहेका छौं । औषधीको उत्पादनमा हामी अझै पछाडी रहेछौं । ठूला ठूला ट्रायलहरु सुरु गर्नुपर्छ । यसले मुलुकलाई समृद्ध बनाउन पनि सहयोग पुग्छ ।

केही वर्षयताको कुरा गर्ने हो भने नेपालमा स्वास्थ्य अनुसन्धान महत्वपूर्ण रहेछ भन्ने कुरा बुझेको पाइन्छ । तर समग्रको कुरा गर्दा अझै पनि जति हुनुपर्ने हो त्यो लेबलमा भने हुन सकिरहेको छैन्। तुलनात्मक रुपमा अहिलेको पुस्तामा रिसर्च गर्ने कल्चर चाहिं बसेको पाइन्छ ।

यहाँहरुले प्रदेश स्तरमा पनि शाखा विस्तार गर्नु भएको छ । अबको परिषद्को योजना के छ ?

परिषद्ले मानव जीवनसँग जोडिएका सबै खालका स्वास्थ्य अनुसन्धान गर्ने र भइरहेको अनुसन्धानको रेगुलेसन गर्ने काम गर्छ । त्यसैले मुख्य काम त अनुसन्धान गर्ने र गराउने नै भयो । त्यसमा त हाम्रो काम निरन्तर रहन्छ नै । यसबाहेक यसको महत्व बुझाउन पनि हामी लागिरहेका छौं । अनुसन्धान गरेरै देशलाई आर्थिक रुपमा पनि समुन्नत बनाउन सकिन्छ । यो कुरा बुझ्न जरुरी छ । त्यसका लागि हामी सही वातावरण खोजिरहेका छौं । अब प्रदेशस्तरमा पनि परिषद्ले शाखा विस्तार गर्दै आ आफनो प्रदेशको आवश्यता अनुसार अनुसन्धान गनै प्रेरित गर्ने र उनीहरुलाई सहयोग गर्ने काम गरिरहेका छौं । हरेक देशको विकासका लागि अनुसन्धान महत्वपूर्ण हुन्छ ।अब क्लिनिकल रिसर्चहरु सुरु गर्नुपर्छ । एडभान्स रिसर्चहरुमा ध्यान दिनपर्छ । क्लिनिकल ट्रायलहरु गर्न पर्छ । यसैगरी विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय विश्वविद्यालय तथा एकेडेमिक संस्थासँग समन्वय गरी अनुसन्धानमा एकडेमिक कोर्षहरु सुरु गर्ने काम गरिरहेका छौं । अनुसन्धानबाट आएका परिणामबाट देश अर्थिक रुपमा सबल हुन पर्छ भन्ने हाम्रो मान्यता हो र त्यसमै हामी लागिरहेका छौं  र लागिरहने छाैं । यी कुराहरू मन्थन गर्ने ठाउँ हो स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन । त्यसैले यहाँहरुलाई म सम्मेलनमा भाग लिन आग्रह पनि गर्दछु ।

 

 

 

 

 

 

थप समाचार