‘काँध र घुँडाको जोर्नीकाे समस्यामा प्रभावकारी आर्थोस्कोपी प्रविधि’

‘काँध र घुँडाको जोर्नीकाे समस्यामा प्रभावकारी आर्थोस्कोपी प्रविधि’

थाइल्याण्डबाट ‘स्पोर्टस् मेडिसन तथा आर्थोस्कोपी’मा एक वर्षे फेलोसिप गरेर आएका कन्सल्ट्यान्ट अर्थोपेडिक एण्ड स्पोर्ट्स सर्जन डा.सुमित अग्रवाल राजधानीको महाराजगञ्जस्थित मेट्रो काठमाडौं अस्पतालमा स्पोर्टस् मेडिसन तथा आर्थोस्कोपी सेवा शुरु गर्दैछन्। आर्थोस्कोपी सेवाले बिरामीको अस्पताल बसाइ मात्र कम हुने नभई दुखाइको महसुस नहुने उनी बताउँछन्।

स्पोर्टस् मेडिसिन तथा आर्थोस्कोपी कस्तो विधा हो र कसरी बिरामीले यो सेवाबाट लाभ लिन सक्छन भन्ने विषयमा हेल्थ टिभी अनलाइनले अग्रवालसँग गरेकाे कुराकानीः

आर्थोस्कोपी भनेको के हो?

आर्थो भनेको जोर्नी र स्कोप भनेको क्यामेरा राखेर हेर्ने काम हो। सामान्य अर्थमा जोर्नीभित्र क्यामेरा राखेर हेर्नुलाई नै आर्थोस्कोपी भनिन्छ।

यसरी हेर्दा समस्या भए त्यही समयमा शल्यक्रिया पनि गर्न सकिन्छ। जोर्नीभित्रको वासर, कार्टिलेजमा भएको ‘इन्जुरी’ दूरबिन पद्धतिबाट हेरेर गरिने शल्यक्रियालाई नै आर्थोस्कोपी भनिन्छ। खिइएको जोर्नी, घुँडा मर्केको, नसा च्यातिएको, कार्टिलेज बिग्रिएको , झिल्ली सुन्निएको, आदि समस्यामा यो पद्धतिबाट उपचार गर्न सकिन्छ। विशेषगरी काँध र घुँडाको जोर्नीमा यो प्रविधि प्रयोग गर्दा बढी उपयोगी हुन्छ।

यो प्रविधिका कारण धेरै बिरामीलाई राहत भएको छ। यसमा ठूलो घाउ बनाउनु पर्दैन। सानो प्वाल पारेर क्यामेरा हालेर हेरिन्छ। कुनै पनि जोर्नीमा ठूलो घाउ बनाउनु पर्दैन। ठूलो चिरफार पनि हुँदैन। जसले गर्दा अस्पतालको बसाइ पनि धेरै हुँदैन।

तर हरेक सर्जरी दूरबिनमार्फत गर्न सकिने भन्ने होइन। विशेष गरी घुँडाको लिगामेन्ट, वासर, घुँडा खिइएको, ‘सोल्जर’ फुत्किने, हात तलमाथि उठाउन गाह्रो हुने जस्ता समयामा असाध्यै उपयोगी हुन्छ।

मानिसलाई कुनै न कुनै समय जोर्नीको दुखाइ महसुस हुन्छ। विभिन्न शारीरिक गतिविधिमा भाग लिँदा होस् या घरमै काममा गर्दा, कम्मर, काँध तथा घुँडाका जोर्नीहरूमा समस्या बढिरहेको छ। रोगसँगै प्रविधि पनि बढेका छन्। यी समस्याका लागि नयाँ तरिका (आर्थोस्कोपी) बाट उपचार गर्न सकिन्छ। त्यसो त नेपालबाट यो प्रविधि चलनचल्तीमा आएको धेरै नै भइसकेको छ।

‘स्पोर्ट्स इन्जुरी’ र आर्थोस्कोपीलाई किन सँगै राखिएको होला?

यो निकै रुचिपूर्ण प्रश्न हो। पहिले पहिले स्पोर्टस्  इन्जुरी भनेको खेलाडीलाई मात्र हुन्छ भन्ने सोचाइले पनि यस्तो भएको हो। त्यसैले समस्याका नामहरू पनि खेलसँग जोडेर राखिएको छ। टेनिस खेल्ने खेलाडीलाई  कुहिनाेमा हुने समस्यालाई टेनिस एल्बो भनिन्छ, जुन अहिले पनि चलनचल्तीमै छ।

त्यसैगरी गल्फ खेल्ने खेलाडीलाई हुने समस्यालाई गल्फकै नाम दिइएको छ ‘गल्फर्स एल्बो’  । खेलाडीलाई मसल तथा जोर्नीमाा समस्या हुन्छ भन्ने सोचेर यस्तो नाम राखिएजस्तो लाग्छ। त्यसैले स्पोर्टस् मेडिसिन र आर्थोस्कोपी पनि सँगै राखेर पढाइ हुन्छ, जुन विषय मैले पनि पढेँ।

यो समस्या खेलाडीलाई मात्र हुने हो र ?

त्यस्तो होइन जार्नेीको समस्या जोकोहीलाई पनि हुनसक्छ। अलि बढी खेलाडीलाई हुने सम्भावना हुन्छ भन्ने मात्र हो। हाम्रो शारीरिक गतिविधि, हाम्रो दिनचर्या, हिँडाइ, शारीरिक व्यायाममा पनि यी र यस्ता घटना हुनसक्छन्।

कतिपय उमेरका कारण पनि हुनसक्छन्। त्यसैले यही समूहलाई मात्रै आर्थोस्कोपी सेवा चाहिन्छ भन्ने होइन। जसलाई पनि यस्ताे  इन्जुरी हुनसक्छ। ‘मसल पेन’ हुनसक्छ। शारीरिक व्यायाम गर्दा र दौडिँदा पनि लिगामेन्ट इन्जुरी हुनसक्छ। सोल्जर फुत्किन सक्छ।

पछिल्लो समय त मानिसहरूले शारीरिक गतिविधि बढाएका छन्। ट्रेकिङ, हाइकिङ जाने चलन बढ्दो छ। ती काम गर्दा विभिन्न कारणा यस्ता समस्या देखिन्छन्।  यसले पनि प्रष्ट हुन्छ, इन्जुरी हुनका लागि खेलाडी नै हुनुपर्छ भन्ने होइन। त्यसैले जोकोहीलाई पनि जोर्नीसँग सम्बिन्धत साना–ठूला समस्या हुनसक्छन्।

मेट्रो अस्पतालमा पनि आर्थोस्कोपी सेवा शुरु हुँदैछ?

हो हामीले यहाँबाट पनि यो सेवा शुरु गर्दैछौँ। सबै ‘सेटअप’ हुँदैछ अबको केही समयमा यहाँबाट विशेष गरी घुँडा ,काँधकाे जोर्नी समस्या भएका बिरामीले आर्थोस्कोपी सेवा लिएर फाइदा लिन सक्नुहुनेछ।

जोर्नीसँग सम्बन्धित सबै समस्यामा आर्थोस्कोपी गर्न सकिन्छ त?

मलाई धेरै मेरा बिरामीले यही प्रश्न सोध्नुहुन्छ। पहिले त समस्या के हो त्यसमा भर पर्छ। जोनी फेर्न पर्ने भयो भने आर्थोस्कोपी सर्जरीबाट सम्भव छैन। यसका लागि ओपन सर्जरी नै गर्नुपर्छ। अन्य कन्डिसन पनि हुन्छन्। बिरामीको अवस्था र केस हेरेर हुन्छ। जुनसुकै अवस्थाको समस्यालाई दूरबिनबाट शल्यक्रिया गर्ने भन्ने हुँदैन ।

थप समाचार