‘कुनै पनि नेपालीले आँखाको उपचार गर्न विदेश त के काठमाडौँ पनि आउनु पर्दैन’

‘कुनै पनि नेपालीले आँखाको उपचार गर्न विदेश त के काठमाडौँ पनि आउनु पर्दैन’

नेपाल नेत्रज्योति संघले बुधबार ४१औँ वार्षिकोत्सव मनाएको छ। यहाँसम्म आइपुग्दाका आरोह अवरोहका बारेमा संघका अध्यक्ष प्रा.डा.तीर्थप्रसाद मिश्रसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानीः

नेपाल नेत्रज्योति संघको स्थापना कसरी भएको थियो?

नेपालमा त्यसबेला अन्धोपनको समस्या असाध्यै धेरै थियो। तर आँखा उपचारको सेवा भने नगण्य मात्रामा थियो। नेपालबाट अन्धोपन हटाउन र आँखा उपचार सेवा बढाएर जनचेतना वृद्धि गर्ने उद्देश्यले ४१ वर्षअघि संघको स्थापना भएको हो।

संघले कसरी काम  शुरु गर्यो?

शुरुमा हामीले समस्या कहाँ छ भन्ने पत्ता लगाउनु पर्ने थियो। त्यसैले बृहत् सर्वेक्षण गरेर काम शुरु गर्यौँ। त्यसले हामीलाई आँखा समस्याको बारेमा जानकारी भयो। त्यही बमोजिम रणनीति तयार पार्न थाल्यौँ। जुन जुन समुदायमा बढी समस्या छ, त्यहीँ सेवा दिन थाल्यौँ। सँगसँगै आँखा अस्पताल र उपचार केन्द्र पनि स्थपना गर्न थाल्यौँ।

शुरुका दिनमा काम गर्न निकै गाह्रो थियो। तर अहिले त सेवा र प्रविधि दुवै बढेको छ। काम गर्न अलि सहज भएको छ।

आँखा स्वास्थ्य सेवा र नेत्रज्योति संघलाई पर्यायको रूपमा हेरिन्छ नि, किन ?

हो हामीले यो ४१ वर्षमा धेरै काम गरेका छौँ। नेपालमा आँखा उपचारको ९० प्रतिशत योगदान नेत्रज्योति संघकै छ। आँखा स्वास्थ्य सेवामा कुल सेवाको ९० प्रतिशत सेवा संघले दिएको छ। यो नै यस्तो संस्था हो जसले संसारमै सबैभन्दा बढी बिरामीलाई आँखा सेवा दिन्छ। बर्सेनि तीन लाख ५० हजार बिरामीको आँखाको शल्यक्रिया गर्नु सानो कुरा होइन।

अर्को कुरा हामीले गुणस्तरमा पनि ध्यान दिएका छौँ। कुनै पनि नेपालीले आँखाको उपचार गर्न विदेश त के, राजधानी काठमाडौँ पनि आउनु पर्दैन। राजधानीमा जे सेवा छ त्यही बराबरको सेवा पूर्वदेखि पश्चिमसम्मका अस्पतालमा उपलब्ध छन्।

हामी सबैलाई थाहा छ, स्वास्थ्यका अन्य क्षेत्रमा पछाडि नै रहेको नेपालले आँखाको उपचारमा छिमेकीहरूलाई समेत सेवा दिइरहेको छ।

तराईका आँखा अस्पतालहरू प्रत्येक वर्ष लाखौँ भारतीय बिरामीहरूलाई सेवा पुर्याउँछन्। त्यसैले आँखा उपचार नेपालको सबैभन्दा भरपर्दो स्वास्थ्य सेवा बनेकाे छ। नेपालमा सबैभन्दा धेरै अस्पताल र स्वास्थ्य केन्द्र आँखाकै छन्। संघअन्तर्गत अहिले १८ वटा आँखा अस्पताल र ८४ वटा उपचार केन्द्र छन्।

नेपालमा बर्सेनि तीन लाख ५० हजारको शल्यक्रिया हुन्छ। विकट र दुर्गम गाउँका नागरिकले उपचार पाउन् भनेर वेलावेलामा बृहत् शिविर चलाउँछौँ।

संघले नेत्र विशेषज्ञ एवं सहायकहरूको पढाइसमेत शुरु गरिसकेको छ। नेपालमै विशेषज्ञ उत्पादन हुन्छन्। नेपालका विशेषज्ञको माग विदेशमा समेत बढेको छ।

ट्रकोमा उन्मूलनमा संघको भूमिकालाई कसरी हेर्नुहुन्छ?

नेपामा ट्रकोमा निवारण होला भनेर कसैले सोचेकै थिएनन्। तर हामी कटिबद्ध थियौँ। हाम्रा सबै साथीहरू यसमा लागिरहनुभएको थियो। जसका कारण ट्रकोमा निवारण गर्ने दक्षिण पूर्वी एसियामा नेपाल पहिलो हुन सफल भयो।

संघका भावी योजना के के छन्?

४१ वर्षअघिसम्म आँखाको उपचार तथा शल्यक्रियाका लागि भारतका विभिन्न अस्पताल जानुपर्ने अवस्था थियो। अहिले बर्सेनि लाखौँ बिरामी विहारलगायत भारतका विभिन्न राज्यबाट आउँछन्।

हामीले काम गर्यौँ भनेर बस्ने अवस्था छैन। चुनौती धेरै छन्। नयाँ नयाँ समस्या थपिएका छन्। पछिल्लो समय ‘डाइबेटिक रेटिनोप्याथी’ बढ्दो छ, जसले अन्धोपन बढाउँछ। त्यसैले पनि हामीले यी समस्याका काम गनुपर्ने छ।

त्यस्तै हामीले सातैवटा प्रदेशमा आँखा स्वास्थ्य सर्वेक्षण गर्ने लक्ष्य लिएका छौँ। आगामी पाँच वर्षभित्र कीर्तिपुर आँखा अस्पताललाई देशकै उत्कृष्ट आँखा स्वास्थ्य शैक्षिक प्रतिष्ठानका रूपमा विस्तार गर्ने लक्ष्य लिएका छौँ। हरेक प्रदेशमा विशिष्टकृत आँखा अस्पताल खोल्नुपर्ने छ।

जनचेतनामूलक कार्यक्रम बढाउँदै लग्ने र आँखा स्वास्थ्यका क्षेत्रमा गुणस्तरीय सेवा बढाउन हामी तल्लीन छौँ।

थप समाचार