यो पटकको फर्मा एक्स्पोमा ‘मरणोपरान्त अंगदान’लाई अभियानको रूपमा अघि बढाएका छाैँ

नेपाली औषधि उत्पादक कम्पनीहरूको छाता संगठन नेपाल औषधि उत्पादक संघले यही फागुन १७ देखि चितवनमा तीनदिने नेपाल फर्मा तथा हेल्थ एक्स्पो गर्ने भएको छ। यही सेरोफेरोमा संघका अध्यक्ष दिपकप्रसाद दाहालसँग गरिएको कुराकानी
यो पटकको फर्मा एक्स्पो के कारणले पहिलेभन्दा फरक छ?
यो पटकको एक्स्पो पहिलको भन्दा निकै फरक छ। पहिलो कुरा त एक्स्पो पहिलोपटक काठमाडौं बाहिर हुँदैछ। यसअघिका छ वटा एक्स्पो हामीले काठमाडौंमा नै गरेका थियौँ। दोस्रो, यो पटक हामीले एक्स्पो मात्र होइन हेल्थ पनि जोडेका छौँ। पहिले ‘फर्मा एक्स्पो’ मात्र थियो भने यो पटक ‘फर्मा तथा हेल्थ एक्स्पो’ बनाएको छौँ।
औषधि मात्र होइन अस्पताल, चिकित्सक र सेवाग्राहीलाई पनि समेट्नेगरी एक्स्पोलाई बृहत् बनाउन खोजेका हौँ। यो पटक हामीले ‘मरणोपरान्त अंगदान अभियान’ पनि अघि सारेका छौँ। त्यसैले एक्स्पो विशेष र फरक छ।
फर्मा तथा हेल्थ एक्स्पो गर्नुको उद्देश्य के हो र यसले कसलाई कसरी फाइदा पुग्छ?
औषधि उत्पादन भनको अत्यन्त संवेदनशील प्रक्रिया हो। यो कसरी बनाइन्छ, कहाँ बन्छ, के के वस्तु प्रयोग हुन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ। हामीले औषधि उत्पादनबारे सम्पूर्ण जानकारी एक्स्पोमा दिने कोसिस गर्छौँ। साथै अन्य देशबाट पनि उत्पादकहरू आउँछन्। उनीहरूको देशमा के छ, प्रविधि कस्तो छ भन्ने कुरा पनि जानकारी लिन सजिलो हुन्छ।
यो एक्स्पोमा त्यति मात्र हाेइन। औषधि बनाउन प्रयोग गरिने प्रविधि र मेसिनको पनि जानकारी दिइनेछ। विश्व बजारमा आएका नयाँ–नयाँ प्रविधिका बारेमा छलफल हुन्छ। प्रत्यक्ष रूपमा औषधि उत्पादकलाई फाइदा देखिए पनि चिकित्सक, मेडिकल विद्यार्थी, व्यवसायी र उपभोक्ता सबैका लागि एक्स्पो फलदायी हुनेछ भन्ने विश्वास लिएका छौँ।
एक्स्पोमा कति वटा स्टल हुनेछन्?
याे पटक हामीले २०० वटा स्टलको व्यवस्था गरेका छौँ। त्यसमा १२० वटा भारतीय कम्पनी, ३० वटा बहुराष्ट्रिय कम्पनी, १० वटा चाइनिज कम्पनी सहभागी हुनेछन्। यो पटक निजी क्षेत्रका १० वटा अस्पतालले समेत एक्स्पोमा भाग लिनेछन्। साथै टेक्निकल सेमिनार पनि हुनेछ।
एक्स्पो कतिले अवलोकन गर्ने अनुमान छ?
हामीले पहिलोपटक काठमाडौं बाहिर एक्स्पो गर्दैछौँ। त्यसैले यति नै भन्न सकिने अवस्था छैन । तर पनि ५० हजारको हाराहारीमा अवलोकनकर्ता आउँछन् भन्ने अनुमान गरेका छौँ।
यहाँहरूले ‘मरणोपरान्त अंगदान’लाई कसरी अभियानको रूपमा अघि बढाउने सोच ल्याउनुभयो?
दान आफैँमा राम्रो हो। चाहे त्यो जेसुकै होस्। त्यसमा पनि हामी मरिसकेपछि खेर जाने अंग दान गर्दा धेरैको ज्यान जोगाउन सकिन्छ भन्ने कुरा हामीले आत्मसात गर्दै यो अभियानलाई अघि सार्ने जमर्को गरेका हौँ। यसका लागि हामीले यसअघि नै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग सम्झौता गरिसकेका छौँ।
यो असाध्यै पुण्यका काम हो जस्तो लाग्छ। ज्यूँदो हुँदा हामीले रगत दान गरेजस्तै मरिसकेपछि खरानी भएर जाने अंग पनि दान गरौँ भन्ने चेतना फैलाउने हाम्रो उद्देश्य हो। नेपालमा बर्सेनि एक हजार व्यक्तिले सडक दुर्घटनामा ज्यान गुमाउँछन्। जसको मस्तिष्क मृत्यु हुन्छ, उनीहरूको अंग दान गर्ने व्यवस्था गर्न सके बिरामीलाई बचाउन सकिन्छ भनेर यसमा लागेका हौँ।
एक्स्पोमा हामीले कम्तीमा एक हजार जनालाई अंगदानका लागि फाराम भराउने लक्ष्य राखेका छौँ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights