१८ वर्ष नेपालमा बिताएका डा.रावत भन्छन्, पैसा भारतमा छ, यहाँ माया

१८ वर्ष नेपालमा बिताएका डा.रावत भन्छन्, पैसा भारतमा छ, यहाँ माया

मुटुराेग विशेषज्ञ डा.भारत रावत नेपालमा १८ वर्ष काम गरेर सन् २०१५ मा पुनः आफ्नो देश भारत नै फर्किए। नेपाली भाषाको राम्रो ज्ञान भएका उनी वर्षको एकपटक नेपाल आउँछन्। यहाँ आएका वेला मुटु स्वास्थ्यबारेमा जनचेतना फैलाउने काम गर्छन्। याे पटक दुईदिने नेपाल बसाइका वेला उनै डा.रावतसँग हेल्थ टेलिभिजन अनलाइनकी कल्पना आचार्यले गरेको कुराकानी–

अहिले नेपाल आउनुको विशेष उद्देश्य केही थियो कि?

तीन वर्षअघि नेपाल छोडेदेखि नै वर्षको एकपटक यहाँ आएर ‘स्वस्थ मुटुका लगि के गर्न सक्छौँ’ भनेर नेपालीमाझ विचार बाँड्दै आएको छु। यसपटक पनि म दुई दिनका लागि नेपाली बिरामी र मलाई माया गर्ने व्यक्तिहरूलाई भेट्न आएको हुँ।

१८ वर्षको नेपाल बसाइलाई कसरी सम्झिनुहुन्छ?

नेपाल मेरो दोस्रो घर हो। मैले मेरो जीवनको सबैभन्दा ‘प्रोडक्टिभ’ समय यहीँ बिताएँ। अझ भनौँ, भारतभन्दा बढी मलाई नेपालको बारेमा थाहा छ। शुरुमा तीन महिनाका लागि भनेर आएको थिएँ तर, १८ वर्ष बिताएर फर्केँ। यहाँबाट धेरै कुरा लिएर जाने मौका पाएँ मैले।

अब नेपालीले उपचारका लागि कहीँ पनि जान जरुरी छ जस्तो मलाई लाग्दैन। यही सक्षम डाक्टरहरू छन्। तर कोही विदेशमा गएर उपचार गर्छु भन्छ भने उसको इच्छा हो रोक्न सकिँदैन। तर यहाँ सेवा छैन भनेर चाहिँ जानुपर्ने अवस्था छैन। आफ्नो घरमै बसेर आफन्तसँग उपचार गर्दा सजिलो हुन्छ भन्ने कुरा उहाँहरूले बुझ्नुपर्छ।

म आउँदा नर्भिक हस्पिटलमा मृटुको सेवा खासै शुरु भएको थिएन। ‘क्याथ ल्याब’ हुने त कुरै भएन। शुरुमा नर्भिकका अध्यक्ष वसन्त चौधरीले ‘एक वर्ष बस न त, मुटुको उपचार शुरु गर्नुपर्यो’ भन्नुभयो। मैले सहमति जनाएँ। पछि ‘क्याथ ल्याब बनाउँछु, तिमी बस्नुपर्छ’ भन्नुभयो। नयाँ ठाउँ। युवा थिएँ। जोश जाँगर दुवै थियो। ‘ठिक छ, म बस्छु’ भनेँ। यति वर्ष भन्ने कुरा भएको थिएन।

क्याथ ल्याब बनेपछि बिस्तारै बिरामीको घुइँचो हुन थाल्यो। भीभीआईपीहरू धेरै आउँथे, मुटुको समस्या भएर। ममा पनि उत्साह थपिँदै गयो। त्यसपछि परिवार पनि यहीँ ल्याएँ र यतै बस्न थालेँ। हुन त घरमा आमा बाबुले नबोलाउनुभएकाे होइन तर, यहाँ मेरो आवश्यकता छ जस्तो मलाई लाग्यो र जवानी यतै बिताएँ।

त्याे वेला र अहिलेको नेपालको मुटु उपचार सेवामा के भिन्नता छ ?

धेरै नै भिन्नता छ नि! त्यसबेला सेवा बिस्तार भएको थिएन। मुटुरोग लाग्यो भन्ने थाहा पाउनेवित्तिकै मानिसहरू भारत, थाइल्याण्ड पुग्थे। सक्ने बिरामीहरू बेलायत जान्थे। भारत पनि पुग्न नसक्ने बिरामीहरु ज्यान गुमाउँथे। हामीकहाँ आउने बिरामी कतिले घरखेत नै बेचेको मैले देखेको छु।

तर अहिले समय फेरिएको छ। नेपालले मुटुरोगको उपचारमा ठूलो फड्को मारेको छ। प्रविधिको कुरा गर्दा पनि नेपालमा सुविधासम्पन्न क्याथ ल्याब बनेका छन्। दक्ष चिकित्सकहरु नेपालमै उपलब्ध छन्। सबै सुविधा पाउन सकिन्छ।

मुटुरोगको उपचारका लागि अझै पनि धेरै नेपाली भारत गइरहेको पाइन्छ नि !

अब नेपालीले उपचारका लागि कहीँ पनि जान जरुरी छ जस्तो मलाई लाग्दैन। यही सक्षम डाक्टरहरू छन्। तर कोही विदेशमा गएर उपचार गर्छु भन्छ भने उसको इच्छा हो रोक्न सकिँदैन। तर यहाँ सेवा छैन भनेर चाहिँ जानुपर्ने अवस्था छैन। आफ्नो घरमै बसेर आफन्तसँग उपचार गर्दा सजिलो हुन्छ भन्ने कुरा उहाँहरूले बुझ्नुपर्छ।

म यहाँबाट गएपछि केही बिरामी म कार्यरत इन्दोरको मेदान्त अस्पतालमा आएका थिए। मैले उनीहरुलाई भनेँ, ‘मकहाँ आउनुभन्दा नेपालमै उपचार गराउनुस्।’ तर आइसकेपछि मैले उपचार त गर्नैपर्यो। मलाई भेट्न आउनहुन्छ भने ठिक छ तर, उपचारचाहिँ नेपालमै गराउनुस् भनेर पठाउने गरेको छु। कतिलाई लाग्ला डा. रावतले नेपालीलाई भारतमा बोलाएर उपचार गरिरहेको छ। त्यस्तो होइन। म चाहन्न, नेपालीहरूको धेरै पैसा खर्च होस्। जुन कुरा थोरै खर्चमै देशभित्रै हुन्छ।

नेपालमा र भारतमा उपचार गर्दा के फरक पाउनुभयो ?

धेरै नै फरक छ। हेर्नुस्, भारतमा कसैलाई कसैको मतलब नै छैन। अस्पताल गयो बिरामी हेर्यो, सकियाे। अर्कोपटक आउँदा त्यो बिरामीलाई सम्झिँदैन। बिरामी र डाक्टरबीच उपचारबाहेक केही मतलब हुँदैन। तर नेपालमा हुँदा म बिरामीसँग असाध्यै नजिक थिएँ। मलाई आफ्ना हरेक बिरामी याद छन्। उनीहरू पनि मलाई सम्झिन्छन्।

यहाँ एकपटक बिरामी हेरे पनि सँधैका लागि नाता जोडिन्छ। यति नजिक हुन्छन् कि आफन्तको विवाह, ब्रतबन्ध भोज सबैमा बोलाउँछन। मैले यी कुरा अहिले निकै ‘मिस’ गर्छु। यहाँ नेपाली बिरामी धेरै नै ‘इमोसनल’ छन। यसले गर्दा उनीहरुसँग धेरै ‘इमोसनल अट्याचमेन्ट छ मेरो।’

अर्को कुरा म आफैँ पनि बिरामीसँग घुलमिल हुन मन पराउँछु। म नेपाल बस्दा जेजति बिरामी हेरेँ, सबै निको हुने त कुरा भएन। कतिपय बिरामीको आफ्नै अगाडि मृत्यु हुन्थ्यो। म भ्याएसम्म आफ्नो बिरामीको मृत्युपछि काजकिरिया भइरहेको ठाउँमा पनि पुग्ने गर्थेँ। हरेक बिरामीसँग मेरो पारिवारिक सम्बन्ध रह्यो। जुन कुरा अहिले मिस गर्छु। भारतमा पैसा छ, यहाँ माया छ।

फेरि नेपाल फर्केर काम गर्ने सम्भावना छ त?

नेपाल फर्किने भन्दा पनि नेपालका लागि काम गर्न मन छ मलाई। आमा बुवा बूढो हुनुभएको छ। त्यसैले पनि उहाँहरूलाई छाेडेर आउने कुरा हुँदैन। खासगरी उहाँहरूकै लागि हामीले नेपाल छोडेका हौँ। त्यसैले अहिले म वर्षको एक पटक आएर सबैलाई भेटेर जाने गरेको छु। यो समयमा ‘टक’ कार्यक्रम राख्ने भनेको सबै जनासँग भेट गर्ने बहाना मात्र हो। मलाई काठमाडौं मात्र होइन, नेपालका अन्य दुर्गम क्षेत्रमा गएर जनचेतनामूलक कार्यक्रम गर्न मन छ। हेरौँ, समयले कतिको साथ दिन्छ।

नेपाल बस्दाको कुनै अविस्मरणीय घटना छ कि?

सम्झिने घटना त धेरै छन्। तर एउटा घटनाले मलाई सँधै झस्काइरहन्छ। मेरा एक जना बिरामी थिए। उनको मुटुको शल्यक्रिया मैले नर्भिककमा गरेको थिएँ। शल्यक्रियापश्चात् उनलाई निकै राम्रो भएको थियो। ‘डिस्चार्ज’ भएर गए। नियमित ‘फलोअप’का लागि आउँदा उनले आफूले एउटा अचम्मको सपना देखेको र त्यसपश्चात मुटुमा गाह्रो भएको सुनाए।

मैले उनलाई सपनाको पछि लाग्नु हुँदैन, सब ठीक छ भनेँ। उनले आफ्नो सपना सुन्न आग्रह गरेँ।। मैले उनको आत्मबल घट्छ भन्ने हिसाबले पनि ‘म सुन्दिनँ, तपाईँको भ्रम हो। केही हुँदैन’ भनेँ।

मुटुका बिरामी धेरै मानसिक रुपमा कमजोर हुने कुरा मलाई थाहा थियो। त्यसैले मनको डर हो भनेर मैले वास्ता गरिनँ। उनी गए। म पनि काममा लागेँ। भोलिपल्ट बिहान ‘इमरजेन्सी’मा बिरामी आएको छ भनेर कल आयो। म दगुर्दै गएँ। गएर हेर्दा हिजो आफैँले हेरेको उनै बिरामी। तुरुन्त ‘आईसीयू’मा लगियो, तर उनी बाँचेनन्।

मलाई पश्चाताप भयो, मैले उनको कुरा सुनिदिएको भए हुन्थ्यो भनेर। पछि क्रियाकर्मका वेला उनको घर गएको थिएँ। परिवारले मलाई ‘डाक्टर सा’ब, त्यो सपना के थियो’ भनेर सोध्यो। म अचम्ममा परेँ।

उनले ‘मैले एउटा सपना देखेको छु, त्यो डाक्टरलाई मात्र भन्छु भनेर अस्पताल गएका रहेछन्। मलाई अझ बढी पश्चाताप भयो। उनको सपना उनीसँगै गयो।

‘उनले के सपना देखेका थिए’ भन्ने खुल्दुली मलाई अहिले पनि छ।

थप समाचार