Health TV Online
Health TV Online

‘आयुर्वेदलाई हेर्ने सरकारकाे दृष्टिकाेण नै फरक छ’

हाम्रा जडिबुटी गुन्द्रुककाे भाउमा विदेशिन्छन्, हामी डलरमा औषधि किन्छाैँ

‘आयुर्वेदलाई हेर्ने सरकारकाे दृष्टिकाेण नै फरक छ’

डा. शेषराज आचार्य नेपालको आयुर्वेद क्षेत्रमा चिरपरिचित नाम हो। २००० सालमा जन्मेका उनले २०२३ सालदेखि उपचार सेवा शुरु गरे। कविराजबाट सरकारी सेवा शुरु गरेका उनी देशका विभिन्न औषधालय, आयुर्वेद चिकित्सालय नरदेवीको निर्देशक र आयुर्वेद तथा वैकल्पिक शाखाको प्रमुख हुँदै २०६४ सालमा सरकारी सेवाबाट निवृत्त भए।

७६ वर्षको उमेरमा पनि उमेरमा पनि उनी चिकित्साक्षेत्रमा सक्रिय छन्। काठमाडौं जयवागेश्वरीस्थित शेष आयुर्वेद क्लिनिक खालेर उपचारमा संलग्न उनी अन्य अस्पतालमा पनि बिरामी हेर्छन्। विभिन्न जिल्लामा आयुर्वेद शिविर चलाइरहन्छन्। आयुर्वेद नेपालमा यसको अवस्थाबारे डा. आचार्यसँग हेल्थ टिभी अनलाइनका रामप्रसाद कौशिकले गरेको कुराकानी–

आयुर्वेद भनेको के हो?

आयुसम्बन्धी ज्ञान दिने शास्त्रलाई आयुर्वेद भनिन्छ। आयुर्वेदका आठ वटा अंग छ। यो प्रकृतिमै पाइने वस्तुहरूबाट उपचार पद्धति हो। प्रकृतिमा पाइने जडिबुटीहरूबाट उपचार गर्ने शास्त्र हो, आयुर्वेद शास्त्र। पहिले पहिले जडिबुटीबाट मात्रै उपचार गरिन्थ्यो।

१२औँ शताब्दीदेखि रस भष्महरूको प्रयोगबाट उपचार गर्न थालियो। रस भष्म र विषहरूले तत्काल राम्रो काम गर्ने हुनाले यो निकै प्रभावकारी मानियो। आयुर्वेद शास्त्रमा विषहरूबाट समेत उपचार गरिन्छ। ‘बच्छनाद’ भन्ने कडा विष समेत उपचारमा प्रयोग गछौँ हामी। यो प्रकृतिमै प्राप्त हुन्छ। हिमालमा पाइन्छ। यसलाई शोधन गरेर हामी औषधि बनाउँछौँ। विषलाई अमृत बनाएर प्रयोग गछौंँ, उदाहरणका लागि मृत्युञ्जय रस। यो रस ज्वरो, दमदेखि निमोनियासम्मको औषधि हुन्छ।

‘स्थावर विषमा जंगम विषको औषधिले उपचार गरिन्छ। स्थावर अर्थात् रुख, पात आदि वनस्पतिजन्य पदार्थ अर्थात् नहिँड्ने। जंगम भनेको हिँड्ने, सर्प बिच्छी, बहुल कुकुर आदि विषालु जीव। भनिएको छ, विषस्य विष्यौषधम् अर्थात् विष नै विषको औषधि हुन्छ। अहिलेको होमियोप्याथी पनि विष नै विषको औषधि हुन्छ भन्ने सिद्धान्तमै आधारित छ। यो पनि आयुर्वेदबाटै आएको हो।

महाभारतमा एउटा प्रसंग छ, बलमा भीमसेनलाई कसैले जित्न सक्दैनथे। त्यसैले कौरवले विषको लड्डु खुवाए। लडाए। बाँधेर समुद्रमा बगाइदिए। बग्दै उनी नागलोक पुगे। त्यहाँ नागहरूले डस्नेबित्तिकै उनी होशमा आए। उनलाई स्थावर विष खुवाइएको थियोे। जंगम विष शरीरमा पर्नेवित्तिकै स्थावर विष निष्प्रभावी भयो।

आयुर्वेदको उपचार गर्ने सिद्धान्त र शास्त्र के हो?

आयुर्वेद सनातन धर्मको चारवेदमध्ये अथर्ववेदको उपवेद हो। आयुर्वेद हामी सृष्टिकर्ता ब्रह्माजीबाट उत्पत्ति भएको मान्छौँ। एकलाख श्लोक, एकहजार अध्याय भएको ब्रह्मसंहिता आयुर्वेदको पहिलो पुस्तक हो।

आयुर्वेदका शास्त्र कसरी आए भन्ने सम्बन्धमा यस्तो भनाइ छ, कलियुगले छोप्दै आएपछि ऋषिमुनिहरू जम्मा भएर छलफल गरे, ‘मानिसहरूमा रोगव्याधि बढ्दै आयो। आयुर्वेद भन्ने शास्त्रले काम गर्छ रे! यो सिक्न पर्यो। कसले पढेको छ? कहाँ जाने?’ कुनै ऋषिले भनिदिए, ‘देवताका राजा इन्द्रले पढेका छन् रे!’ तीमध्ये एक ऋषि इन्द्रकहाँ पठाइए। उनी पढेर आए। ऋषिसभामा आयुर्वेद पढाउन थाले।

एकलाख श्लोक एक हजार अध्याय भएको त्यत्रो शास्त्र एकैपटक एकैजनाले पढ्न गाह्रो हुने। त्यसैले त्यसलाई आठ भागमा बाँडे। पहिलो भाग शल्य अर्थात् ‘सर्जरी’। यसका प्रवर्तक धनवन्तरी मानिन्छन्। धन्वन्तरीका अवतार काशीराज दिवोदासबाट सुश्रुतले यो शास्त्र पढे। शल्यचिकित्साको ‘सुश्रुत’ भन्ने ग्रन्थ छ।

प्लाष्टिक सर्जरीसमेतको उल्लेख त्यहाँ पाइन्छ। त्यसैले सुश्रुतलाई ‘फादर अफ सर्जरी’ भनिन्छ। त्यतिखेर कुन जडिबुटीले बेहोश गराउँथे, थाहा भएन। भारतमा मुसलमानको प्रवेशपछि यो लोप भयो। यसको ज्ञान हरायो। परम्परागत ज्ञानमाथि हस्तक्षेप गरे। युनानीे सिद्धान्तलाई प्राथमिता दिए। बौद्धधर्मको बढी प्रचार भएको बेला हिंसा हुने भन्दै शल्यचिकित्सा यहाँबाट लोप गराइयो। अंग्रेजले पुरानो विद्या उता लगेर विकास गरे।

शालख्यअन्तर्गत नाककान घाँटी अर्थात् अहिलेको ईएनटी शालाख्यअन्तर्गत पर्छ। कायचिकित्सा अर्थात् ‘जनरल मेडिसिन’ चरकसंहिता भन्ने छ। अग्निवेशले बनाएको अग्निवेशतन्त्र। चरकले बनाएको चरकसंहितामा यो विद्या छ। अर्को भूतविद्या शाखा मानिसको पूर्वजन्म वा पुनर्जन्म हुन्छ भन्ने मान्यतामा आधारित छ।

भूतहरू हुन्छन्, उनीहरूले दुःख दिन्छन् र मानिस बिरामी पर्छ भन्ने विश्वासमा मन्त्रतन्त्रले उपचार गरिन्छ। गुभाजु, खली ख्वाउने, धामीझाँक्रीहरूको अभ्यास पनि त्यही हो। मन्त्र मात्र नभई त्यहाँ औषधि पनि दिन्छन्। भूतप्रेत भन्ने नमाने पनि अहिलेको विज्ञानले यसलाई किटाणुवाद वा जीवविज्ञान मान्छ।

अगदतन्त्र अर्थात् विषको औषधि गर्ने शास्त्र। विषविज्ञान कुन कस्तो विष हो विषले कहाँ हान्छ, कुन विष कसरी झार्ने आदि विषय उल्लेख छ। पहिले वेदको मन्त्रले पनि विष झार्ने विधान पाइन्थ्यो। कौमारभृत्य प्रसूतितन्त्र विज्ञान छुट्टै शाखा हो यो। गर्भवती भएदेखि सुत्केरी गराउनेबालक १५ वर्ष नभएसम्मका उपचारपद्धति। यो नेपालमा मात्र पाइएकोे काश्यपतन्त्रमा उल्लेख छ। रसायनतन्त्रअन्तर्गत पारो र गन्ध आदि रसायनहरूको प्रयोग गरी उपचार गरिन्छ।

अशुद्ध पारो खराब हुन्छ। तर त्यसलाई आठ वा १८ शोधन गर्नुपर्छ। पारो सेतो हुन्छ। पारो र गन्धक मिसिएको हिंगुल बन्छ। यो रातो हुन्छ। हिरा, मणि आदिबाट समेत भष्म बनाइन्छ। हिराबाट भष्म बनाउन सबैभन्दा गाह्रो हुन्छ। यो साह्रै महंगो हुन्छ। क्यान्सर रोगको निदान गर्न समेत यो उपयोगी हुन्छ।

अरिष्टविज्ञान शाखामा अन्तिम अवस्थामा मानिसको लक्षण कस्तो हुन्छ, कुन अंग कस्ता देखिन्छन् लगायतका विषय समावेश हुन्छन्।

अहिले आयुर्वेदमा प्रायः सुश्रुत र चरकका ग्रन्थ मात्र पाइन्छन्। चरक र पतञ्जली एउटै हुन् भन्ने पनि छ विवाद पनि छ चरक नै पतञ्जली हुन् भन्ने भनाइ छ आयुर्वेद व्याकरण र योगका प्रवर्तक एकै हुन् भन्ने छ।

नेपालमा आयुर्वेद शास्त्र अध्ययन अध्यापनको अवस्था कस्तो छ?

१९७३ सालमा काठमाडौंको नरदेवीमा आयुर्वेद चिकित्सालय स्थापना भयो। यसअघि नै काठमाडौंको रानीपोखरीमा सुरु भएको भन्ने पनि छ। आयुर्वेद पढाइबारेशिलालेख हनुमानढोकाको च्याङ्ग्रेकौशीमा रहेछ, छात्रवृत्ति दिने विषयमा। चन्द्रशमशेर महाराजले शिक्षा विभागका प्रमुखले हेर्नेगरी एक लाख रुपैयाँ छात्रवृत्ति व्यवस्था गरियो। नेपालमा आयुर्वेद काम गर्नेका छोराहरूलाई भारत पढ्न पठाइयो। उनीहरू यहाँ आएर आयुर्वेद शिक्षालय चिकित्सालय स्थापना गरेको बताइन्छ।

नेपालमा आयुर्वेद उपचारपद्धतिको अवस्था कस्तो छ?

धरमर धरमरको अवस्था छ। पहिले आयुर्वेद औषधालय धेरै थिए। २०\२१ सालतिर डा.त्रिभुवनप्रसाद स्वास्थ्यमन्त्री भएका वेला १०० वटाभन्दा बढी आयुर्वेद औषधालय बन्द गरिदिए। उनी थिए एमबीबीस डाक्टर। स्वार्थ के थियो थाहा भएन। पञ्चायत नीति लगाएर बन्द गराइदिए। युनानी चिकित्सालय पनि बन्द गराइयो।

पछि हाम्रो विद्या खत्तम हुने भयो भन्ने बिन्ती चढाइयो राजा महेन्द्रकहाँ। राजाको ठाडो आदेशमा २०२३ सालमा स्वास्थ्यमन्त्री शैलेन्द्रकुमार उपाध्यायको अध्यक्षता आयुर्वेद महासम्मेलन भयो। घरानियाँ वैद्यदेखि पढेर आएका वैद्य सबै सहभागी भए। आयुर्वेद समिति भन्ने गठन भयो त्यसपछि आयुर्वेद बौरिन थाल्यो। मुलुकमा अहिले ३०० भन्दा बढी औषधालय पुगेका छन्। अब प्रदेश सरकारले अञ्चल, जिल्ला औषधालयलाई के गर्ने हो त्यो हेर्दैछौँ।

आयुर्वेदप्रति सर्वसाधारणको विश्वास बढ्दै गएको हो?

२७ २८ सालतिर नेपालमा कमलपित्त नेपालमा काठमाडौंमा व्यापक रूप चम्क्यो। त्यतिखेर अमेरिकी गहुँ आउँथ्यो त्यसैलेले लागेको भन्थे म त्यतिवेला नरदेवीमा काम गर्थेँ। अनुसन्धानका लागि अमेरिकी टोली आयो वीरमा। उनीहरूले यहाँको ‘स्याम्पल’ अमेरिका पठाए। तर एलोपेथीबाट राम्रो उपचार हुन सकेन। डा.सुन्दरमणि दीक्षित लगायत आएर मसँग सहयोग मागे। मैले आफ्नो हिसाबले उपचार गरिरहेकै थिएँ। पछि सुन्दरमणिले समेत आफ्ना फुपूलाई कमलपित्तको औषधि खोज्न पठाएको थिए, फुपाजुलाई।

हालैको एउटा उदाहरण बताउँछु। मेरा एक भाञ्जा क्यान्सर रोगमा विशेषज्ञ नेपालगञ्ज मेडिकल हस्पिटलमा प्राध्यापन गर्छन्। उनले ‘मामा एउटा बिरामी हेरिदिनुपर्यो, मेरो केही लागेन’ भने। यनी यहाँ आएपछिसबै रिपोर्ट हेरेँ। आन्द्रा सुन्निएको रहेछ त्यसलाई ‘हर्निया’को संज्ञा दिइएको रहेछ। पाइल्स पनि रहेछ। औषधि दिएँ केही दिनमै राम्रो भएको बताए। यहीँ चावहिलकै एक ‘गाइनोकोलिष्ट’ले बुहारीलाई दूध बढ्ने औषधि लिन सिफारिस गरेका रहेछन्। कुरिलोको धुलोबाट बनेको औषधि दिएँ। यसरी जनमानसमा विस्तारै आयुर्वेदप्रति विश्वास बढ्दै गएको देख्छु।

तर नरदेवीमा बिरामी घटे भनिन्छ नि!

हाे घटेकै हुन्। पहिले  धेरै ठाउँमा  औषधालय थिएनन्। अहिले जिल्ला जिल्लामा औषालय छन्। निजी क्षेत्रबाट पनि खुलेका छन्। अनि किन यहाँ आउँछन् बिरामी? अझ अब त प्रदेश तहमा जाँदैछ। तर महत्त्वपूर्ण कुरा के हाे भने नरदेवी  केन्द्रीय औषधालयकाे रूपमा सुविधासम्पन्न बनाउनुपर्छ। अनुसन्धानकाे केन्द्र बनाउनुपर्छ।

अहिले जमराको जुसको चर्चा छ। बाटोबाटोमा जमराको जुस बेच्न बसेको र खानेले किनेर खाइरहेको देखिन्छ। आयुर्वेदका चिकित्सकले ‘खाऊ’ भन्ने एलोपेथी डाक्टरले ‘घातक हुन्छ’ भन्ने वास्तविकता के हो?

हो, एलोपेथी डाक्टरले जण्डिस रोगलाई आयुर्वेदिक औषधि खानुपर्दैन भनेको पनि सुनेँ। वीर अस्पतालमा चिफ भइसकेको मान्छेले रेडियाेमा अन्तर्वार्ता दिँदा यस्ताे भनेको सुनेँ। जमराको जुसले फाइदा गर्दैन भन्ने गलत हाे। तर कसरी उमारिएको हो? बिउ कस्ताे हाे? माटाे र उमार्ने प्रक्रिया कस्ताे हाे, त्यसमा पनि भर पर्छ। बाटोमा बनाइएकाले प्रदूषित पनि हुनसक्छ। त्योचाहिँ खराब हुनसक्छ।  जमराको रसमा दोष छैन। वातावरणमा दोष छ घातक छ।

तपाईँ धेरै वर्ष नीति निर्माण तहमा पनि बस्नुभयो, सरकारले आयुर्वेदलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो?

म आयुर्वेद चिकित्सालयमा बस्दा यस्तो वातावरण बनाएर। राम्रो दृष्टिले हेर्ने वातावरण बनाउने प्रयास गरेँ। स्वास्थ्य मन्त्रालय विभाग, औषधालय र जिल्ला जिल्ला चहारेँ। के पाएँ भने नीति निर्माण गर्ने थलोमा प्रायः एलोपेथी डाक्टरको बाहुल्य भयो। त्यसपछि एलोपेथी डाक्टर सचिव। योजना बनाएर लग्यो। सचिवकहाँ पुग्दै नपुग्ने थन्क्याइने।

जबसम्म आयुर्वेदलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन हुँदैन, मन्त्रालयमा आयुर्वेद हेर्ने छुट्टै सचिवको व्यवस्था गरिँदैन, त्यतिवेलासम्म आयुर्वेदको राम्रो विकास हुन गाह्रो छ। अहिले विश्वभर आयुर्वेद चिकित्सा पद्धति लोकप्रिय भइरहेका छन् तर हामी भने बाटो बिराइरहेका छौँ। आयुर्वेदको उद्गम थलो भएर पनि हामीले फाइदा लिन सकेका छैनौँ।

हामी औषधिमा आत्मनिर्भर छौँ? जडिबुटी औषधि बनाएर लाभ लिन सक्ने अवस्था छ कि छैन?

छौं, तर हाम्रो जडिबुटी कौडीको भाउमा बाहिर जान्छ। हामी किन्छाैँ। सरकारले उचित नीति बनाएर जडिबुटी खेतीको प्रोत्साहन गर्न सके नहुने होइन। आफूलाई चाहिने औष्धि र औषधि बनाएर बेच्न सक्छौँ। अहिले सिंहदरबारको औषधि हामीले देशभित्रै प्रवर्धन गर्न सकेका छैनौँ। यसलाई पंगु बनाइएको छ।

औषधि विभागमा आयुर्वेदका ६८ कम्पनी दर्ता छन्। निजी क्षेत्रका औषधी उत्पादकहरूले उत्पादन गरिरहेका छन्। औषधि व्यवस्था विभागले पनि विदेशी औषधि सिफारिस गरिरहेको छ। । यहाँका विशेषज्ञहरू जिल्ला जिल्ला र विदेशमा गएर तालिम दिइरहेका छन्। जडिबुटी गुन्द्रुकको भाउमा बाहिर जाने डलरमा औषधि आइरहेको विषयमा सरकार गम्भीर हुनुपर्छ।

मुख्य कुरा हामीकहाँ प्रशोधन गर्ने उच्च गुणस्तरको मेसिन छैन। जीएमपी औषधिहरूको मापदण्ड छैन। वैज्ञानिक परीक्षण छैन। यो प्रविधिअनुसार औषधि बाहिर विश्वास छैन। भारतले कच्चा सामग्री मात्रै लान्छ तर बनाएको औषधि लग्दैन। बरु डाबर, पतञ्जलीको नाममा जंगल जग्गा किनेर उता लगिरहेका छन् हामीचाहिँ दंग परेका छौँ। आयुर्वेदका नाममा अरु सामग्रीको व्यापार विस्तार गरेका छन्। हामी थाहा पाएर पनि बुझ पचाइरहेछौँ।

अन्त्यमा, नेपालमा आयुर्वेदको विकास गर्नुपर्ला

अब आयुर्वेद सरकारको हातबाट जनताको हातमा पुगिसकेको छ। सातै प्रदेशले उचित नीति बनाएर यसको विकास गर्न जरुरी छ। आयुर्वेदका नाममा भारतीय कम्पनीहरूले नेपालमा साम्राज्य फैलाइसके। यसमा सचेत हुनुपर्छ।

तर अहिलेका शिक्षामन्त्री आयुर्वेदप्रति सकारात्मक छन्। योगमायाको नाममा सरकारले पनि खोल्दैछ। त्यसैले आशा गर्ने ठाउँ छ।

थप समाचार