‘क्यान्सरपछि पनि जीवन छ भन्ने सन्देश दिन र्‍याम्प शो गर्न लागेका हौँ’

‘क्यान्सरपछि पनि जीवन छ भन्ने सन्देश दिन र्‍याम्प शो गर्न लागेका हौँ’

राजधानीमा क्यान्सर रोग लागेर निको भएकाहरूको र्‍याम्प  शाे हुँदैछ। सुदिप्त क्यान्सर सर्भाइभर र्‍याम्प शाे नाम दिइएको उक्त सो आगामी पुस २७ गते ललितपुरस्थित हाेटल हेरिटेज गार्डेनमा  हुँदैछ। नेपाल क्यान्सर सहयोग समूहले पहिलोपटक गर्न लागेको यो र्‍याम्प  शो कस्तो खालको हो र यसले के सन्देश दिन खोजेको हो भन्ने विषयमा कार्यक्रमकी संयोजक स्वरुपा श्रेष्ठसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी–

क्यान्सर सर्भाइभरलाई लिएर र्‍याम्प शाे गर्दै हुनुहुन्छ यो कस्तो किसिमको शो हो?

यो र्‍याम्प  शो अन्य फेसन वा र्‍याम्प शोभन्दा अत्यन्त फरक सिसिमको शाे हो । क्यान्सर पनि अन्य रोग जस्तै निको हुन्छ। क्यान्सर लाग्दैमा जीवन समाप्त हुँदैन भनेर सन्देश दिनु नै यो शोको मुख्य उद्देश्य हो । धेरैले यो रोग निको भइसकेपछि पनि लुकाएर बसेका हुन्छन्। जसरी मधुमेह, उच्च रक्तचाप ग्याष्ट्रिक, मुटुरोग छ भनेर खुलेर कुरा गरिन्छ त्यसैगरी क्यान्सर छ वा निको भयो भन्नलाई हिच्किचाउनुपर्दैन भन्ने पनि सन्देश दिन खाजेका छौँ।

यसमा विभिन्न खालका क्यान्सर लागेर निको भइसकेकाहरु सहभागी हुनेछन्, जसमा क्यान्सर विजेता र उनीहरुलाई उपचार गर्ने चिकित्सक सँगसँगै र्‍याम्पमा हिँड्नेछन्। सम्भवतः यस्तो खालको शाे नेपालमै पहिलोपटक हुँदैछ।

कसरी र्‍याम्प सो गर्ने योजना बनाउनुभयो?

यो र्‍याम्प शो गर्ने तीन वर्ष अघिदेखिको योजना हो। तर विविध कारणले हुन सकिरहेको थिएन। त्यसबेला सर्भाइभर अहिलेजस्तो खुल्न चाहँदैनथे। उनीहरूलाई एक ठाउँमा भेला पार्न नै गाह्रो थियो। र्‍याम्पमा आउन त धेरै पछिको कुरा भयो। यसको मतलब अहिले सबै खुलेर आउँछन भन्ने होइन तर केही चेतना चाहिँ पक्कै बढेको छ, जसले गर्दा तीन वर्षदेखिको प्लान अब साकार हुँदैछ। हाम्रो समूहले क्यान्सरका बिरामीलाई सहयोग गर्दै आएको छ। तर, अब निको भएकाहरू मार्फत नै सकारात्मक सन्देश दिन सकिन्छ भनेर हामीले यो शोे गर्ने योजना बनाएका हौँ। यसमा क्यान्सर सहयोग समूहका सबै साथीहरुको उत्तिकै मिहिनेत छ।

क्यान्सर भन्ने बित्तिकै अझै पनि मरिहालिन्छ र यो डरलाग्दो रोग हो भनेर धेरैले यो रोग लुकाएर बस्छन्। अझै पनि यसलाई हाउगुजीकै रूपमा लिइन्छ। जसले गर्दा अर्को बिरामीलाई पनि त्यस्तै लाग्छ र उसले पनि लुकाउँछ। तर समयक्रमसँगै नेपालमै क्यान्सरको उपचार छ र यो रोग पनि अन्य रोग जस्तै समयमै उपचार गरे निको हुन्छ साथै क्यान्सर पछि पनि ‘प्रडक्टिभ’ जीवन जिउन सकिन्छ भन्ने सन्देश दिन खोजिएको हो।

कस्ता खालका क्यान्सर विजेताहरुको सहभागिता हुनेछ?

यसमा विभिन्न खालका क्यान्सरलाई जित्नेहरु छन्। यही नै भन्ने छैन । विभिन्न अस्पतालमा उपचार गराएर निको भएकाहरु छन्। हामीसँग ३ वर्षको नानीदेखि ९० वर्ष सम्मका विजेताहरु र्‍याम्पमा हिँड्नेछन्। यसले समाजमा क्यान्सरबारे अझ बढी कुरा र छलफल हुनेछ भन्ने मलाई लाग्छ। देशभरिका क्यान्सर विजेताहरुको प्रतिनिधित्व गर्दै २५ जना विजेताले र्‍याम्प  वाक गर्नेछन्। यसमा क्यान्सरपछि नेपालमा बसेर काम गरिरहेका एक एक जना विदेशी नागरिकको पनि सहभागिता छ ।

सहभागीहरुलाई एकै ठाउँमा ल्याउन कत्तिको गाह्रो भयो?

असाध्यै गाह्रो काम हो यो। एक त क्यान्सर छ भनेर सबैलाई थाहा हुने अर्को कुरा र्‍याम्पमा  हिँड्ने भने पनि धेरै जना पछि हट्ने हुन्छ नै। खासमा हामीले यो सो एक महिना अघि नै गर्न खाजेका थियौँ। मिति पनि तय गर्यौँ तर, सहभागीमध्ये पाँच जनाले बाहिर खुल्न सकिँदैन भनेर नाम काट्न लगाए। त्यसपछि फेरि हामीले उनीहरूको ठाउँमा अन्य पाँच सर्भाइभर खोज्न समय लाग्यो जसले गर्दा एक महिना पछि सर्यो।

हामीले करकाप गर्न पनि मिल्दैन। सम्झाउने मात्र हो । तर पछि पछि भने सायद यसको मतलब बुझेर होला अहिले म पनि सहभागी हुन्छु भनेर आउनेहरू धेरै छन्। तर हामीले २५ जनाको ‘लिमिटेसन’ राखेका छौँ। मलाई विश्वास छ अर्कोपटक यस्तो सो गर्दा हामीले खोज्नुपर्दैन उनीहरु नै आफैँ आउनेछन्। सबैै कुरालाई बुझ्न समय त लाग्छ नै।

के सन्देश दिन खोज्नुभएको हो यो र्‍याम्प  शाेबाट?

खासगरी हामी सबैलाई थाहा भएकै कुरा हो। क्यान्सर भन्ने बित्तिकै अझै पनि मरिहालिन्छ र यो डरलाग्दो रोग हो भनेर धेरैले यो रोग लुकाएर बस्छन्। अझै पनि यसलाई हाउगुजीकै रूपमा लिइन्छ। जसले गर्दा अर्को बिरामीलाई पनि त्यस्तै लाग्छ र उसले पनि लुकाउँछ। तर समयक्रमसँगै नेपालमै क्यान्सरको उपचार छ र यो रोग पनि अन्य रोग जस्तै समयमै उपचार गरे निको हुन्छ साथै क्यान्सर पछि पनि ‘प्रडक्टिभ’ जीवन जिउन सकिन्छ भन्ने सन्देश दिन खोजिएको हो।

उपचारपछि निको भएका बिरामीले म उपचार पछि क्यान्सरबाट मुक्त भएँ भनेर खुलेर आउँदा अर्को बिरामीलाई म पनि निको हुन्छु भन्ने मनोबल बढ्छ। हामीले क्यान्सरका बिरामीलाई मनोबल बढाउन खोजेका हौँ।

अर्को कुरा उपचार गर्न विदेशिन पनि पर्दैन। अहिले नेपालमै विशेषज्ञ चिकित्सक र राम्रा अस्पताल छन्। सबै खालका क्यान्सरको उपचार सम्भव छ तर नेपालमै हुने उपचारका लागि पनि कैयौँ बिरामी लाखौँ रुपैयाँ खर्च गरेर भारत लगायत देशमा पुग्छन्। यसबारे पनि बुझ्न जरुरी छ। यसलाई रोक्न यो शोले केही हदसम्म सहयोग गर्छ भन्ने मलाई लाग्छ।

हेर्नुहोस् भिडियो :

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार