अधिकांश नेपालीलार्इ श्वासप्रश्वाससम्बन्धी राेग हुनसक्छ : डा. कसजु

अधिकांश नेपालीलार्इ श्वासप्रश्वाससम्बन्धी राेग हुनसक्छ : डा. कसजु

नेपाल कलेज अफ चेस्ट फिजिसियन्सले नेपालमा शुक्रवार ‘फर्स्ट इन्टरनेसनल रेस्पिरेटरी समिट’ गर्दैछ। के हाे यो सम्मेलन हो? यसले नेपाललार्इ कस्ताे उपलब्धि हासिल हुन्छ लगायत विषयमा कलेजका अध्यक्ष डा.संगीत एल कसजुसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी–

सम्मेलनको उद्देश्य के हो ?

नेपालका चेस्ट फिजिसियन्स अर्थात् छातीरोग विशेषज्ञलाई एउटै थलोमा भेला गरी बदलिँदो प्रणालीमा समय सान्दर्भिक उपचारका विषयमा छलफल गर्न यो सम्मेलन गर्न लागिएको हो। नेपालमा श्वासप्रश्वाससँग सम्बन्धित रोगहरू बढिरहेका छन् तर, यसको चर्चा कमै मात्र हुन्छ। त्यसैले पनि श्वासप्रश्वास र छातीसम्बन्धी रोगहरूका विषयमा नयाँ प्रविधिकाे विकास र विस्तार गर्न यो सम्मेलन को आयोजना गरिएको हो

पहिलोपटक सम्मेलन हुँदैछ। सम्मेलनमा के के हुनेछ?

श्वासप्रश्वाससम्बन्धी यस्तो किसिमको अन्तर्राष्ट्रिय स्तरको यो नै पहिलो सम्मेलन हो। यो एक दिने सम्मेलनमा छातीरोग र श्वासप्रश्वाससँग सम्बन्धित विषयमा विदेशबाट आएका विज्ञहरूले आफ्ना देशमा भइरहेका खोज तथा प्रस्तुति दिनेछन्। साथै यही विषयमा छलफल हुनेछ। नेपालमा पनि के के भइरहेको छ भन्ने विषयमा यहाँका विज्ञहरूले प्रस्तुति दिनुहुनेछ।

यसले ‘अपडेट’ हुन सजिलो हुनेछ। छाती तथा श्वासप्रश्वाससँग सम्बन्धित रोगको उपचारमा हामी कहाँनेर छौँ भन्ने प्रष्ट थाहा पाउने अवसर पनि हो यो। सम्मेलनमा विज्ञहरुका विभिन्न विधाहरूमा प्रस्तुति छन्।

हामीकहाँ बाह्रै महिना बाटो भत्काउने र बनाउने क्रम चलिरहेकाे हुन्छ। धुलो उडिरहन्छ। गाडीले फ्याँक्ने धुँवा पनि सिधै हाम्रो फोक्सोमा जाने हो। पुराना गाडीबाट निस्कने धुँवा त्यतिकै छ। त्यसैले शतप्रतिशत नेपालीलाई कुनै न कुनै स्तरको श्वासप्रश्वाससँग सम्बन्धित रोग छ र तर यसका विज्ञहरू भने कम छन्।

पल्मोनोलोजिस्टको नजरबाट हेर्दा नेपालमा छातीरोगको अवस्था कस्तो छ ?

नेपालमा श्वासप्रश्वाससम्बन्धी रोग सबैलार्इ छ भन्दा फरक पर्दैन। कसैलाई धेरै होला, कसैलाई कम। तर यो रोगबाट कोही पनि अछूतो हुन सकेका छैनन्। हामीकहाँ बाह्रै महिना बाटो भत्काउने र बनाउने क्रम चलिरहेकाे हुन्छ। धुलो उडिरहन्छ। गाडीले फ्याँक्ने धुँवा पनि सिधै हाम्रो फोक्सोमा जाने हो। पुराना गाडीबाट निस्कने धुँवा त्यतिकै छ। त्यसैले शतप्रतिशत नेपालीलाई कुनै न कुनै स्तरको श्वासप्रश्वाससँग सम्बन्धित रोग छ र तर यसका विज्ञहरू भने कम छन्।

मैले बुझेसम्म नेपालमा २० जनाभन्दा बढी यसको विशेषज्ञ छैनन्। अब बल्ल पढेर आउने क्रममा छन्। त्यसैले पनि यसको धेरै चर्चा हुँदैन। अझ धेरै मानिसलाई अाफूलाई श्वासप्रश्वासको रोग लागेकाे भन्ने पनि थाहा हुँदैन। खोकी लाग्नु श्वासप्रश्वाससँग सम्बन्धित छ तर धेरै जना खोकी त हो नि भनेर बस्नुहुन्छ। त्यो ज्ञानको कमी हो । हामीले पनि बुझाउन सकिरहेका छैनौँ।

सम्मेलनले नेपाललार्इ के फाइदा हुन्छ जस्तो लाग्छ?

सम्मेलनले धेरै कुरा सिकाउँछ। त्यसै पनि यो हाम्रो लागि पहिलो सम्मेलन हो। यसले प्रमाणित हुन्छ, अब हामी यस्ता सम्मेलन गर्न सक्ने भएका छौँ। यसलाई हामीले शुरुवात ठानेका छौँ। बाहिरबाट आउने विज्ञहरू पनि उत्साहित भएर आएका छन्। ज्ञान सीप आदानप्रदान गर्न यस्ता सम्मेलनले हामी जस्ता सिक्न खोज्ने डाक्टरलाई धेरै नै फाइदा हुन्छ। विकसित देशका नयाँ प्रविधिको बारेमा जानकारी हुन्छ। नेपालका छातीरोग विशेषज्ञलाई सिक्ने ठूलो ‘प्लेटफर्म’ हो यो सम्मेलन।

सम्मेलनमा कुन–कुन देशबाट विज्ञहरू आउँदैछन्?

सम्मेलनमा पल्मोनोलोजी विधाका विश्वकै ख्यातिप्राप्त व्यक्तिहरू आउँदैछन्। अमेरिका, फिलिपिन्स लगायतका वरिष्ठ डाक्टरहरुको प्रस्तुति रहनेछ। उहाँहरूको कुरा सुन्न पाउनु पनि हाम्रो लागि महत्त्वपूर्ण उपलब्धि हो।

संस्था स्थापना गर्ने सोच कसरी आयो ?

यसको रमाइलो प्रसंग छ। केही वर्षअघि म मेरो जन्मदिनमा सिंगापुर जाँदै थिए। सँगै सिटमा एकजना बहिनी थिइन्। मैले ‘किन सिंगापुर जान लागेकाे’ भन्दा उनले ‘श्वासप्रश्वाससम्बन्धी राेगकाे उपचार गर्न जान लागेको’ भनिन्। मलाई पल्मोनोलिस्टको नाताले रुचि लाग्यो र भनेँ, ‘नेपालमै उपचार भइहाल्छ नि, किन सिंगापुर जान लाग्नुभएकाे?’ जवाफमा उनले आफ्नी आमा त्यही रोगका कारण बितेको र नेपालमा आफ्नो उपचार गर्ने पनि कोही नभएकाले सिंगापुर जान लागेकाे भनिन्।

त्यो सुनेर मलाई उनले मलाई ‘गालामा झापड हाने’ जस्तै भयो। नेपाल फर्केपछि नेपालमा पल्मोनोलोजीको क्षेत्रमा एकजुट भएर काम गर्ने बेला भयो भनेर मैले साथीहरूसँग सल्लाह गरेँ। सन् २०१५ मा हामीले यो संस्था स्थापना गरेका हौँ। याे संस्था स्थापना भएपछि हामीले थुप्रै जनचेतामूलक कार्यक्रम गरिसकेका छौँ। यो क्षेत्रमा अझै  धेरै गर्न बाँकी छ।

थप समाचार