शुक्रराज अस्पताललार्इ ‘डम्पिङ साइट’को रूपमा हेरियाे : निर्देशक डा.पाण्डे

शुक्रराज  अस्पताललार्इ ‘डम्पिङ साइट’को रूपमा हेरियाे : निर्देशक डा.पाण्डे

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल शहीद शुक्रराज शास्त्रीको नाममा ८५ वर्षअघि स्थापना गरिएको अस्पताल हाे। हैजा रोगको उपचार गर्न शुरु भएको याे अस्पताल देशकै एक मात्र सरुवा रोग नियन्त्रण अस्पताल हो। ट्रपिकल तथा सरुवा रोगसँग सम्बन्धित रोगका लागि यो ठूलो ‘रिफरल सेन्टर’ पनि हो।

देशका कुनाकाप्चाबाट बिरामी रिफर भएर यहाँ आउँछन्। तर सरकारले यो अस्पताललाई खासै प्राथमिकतामा राखेको देखिँदैन। यसका कारण अन्य सरकारी अस्पताल जस्तो सुधार हुन सकेको छैन। अस्पतालको गतिविधि र समस्याका बारेमा निर्देशक डा.बासुदेव पाण्डेसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी–

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अन्य अस्पतालभन्दा के कारणले फरक छ?

नामैले पनि यो अस्पताल अन्य अस्पताल भन्दा फरक छ। किनकी यहाँ सरुवारोग र ट्रपिकल रोगसँग सम्बन्धित बिरामीहरू आउँछन्। जब जब सर्ने खालका रोगको प्रकोप बढ्छ त्यसपछि अस्पतालमा बिरामीको घुइँचो हुने गर्छ।

सबै खालका ज्वरो जस्तै कालाज्वर, टाइफाइड फिबर, डेंगु जापानिज इन्सेफलाइटिस , एचअाइभी, जस्ता रोगका लागि यो अस्पताल नै प्रमुख हो। ज्वरो कस्तो खालको हो त्यहीअनुसार हामीले बिरामीको उपचार गर्छौँ। यसैगरी कुकुरले टोकेमा पनि काठमाडौं आसपासका मानिस यहीँ आउँछन्। हुन त अन्य केही अस्पतालमा पनि यी सेवा दिइन्छ तर, मुख्य अस्पताल यही नै हो। त्यसैले हामी दैनिकजसो यस्ता बिरामी हेर्छौँ। त्यसैले यो अस्पताल पूर्ण रूपमा सरुवा र ट्रपिकल रोगको लागि हो।

८५ वर्ष अघि स्थापना भएको अस्पतालको विकास क्रम निकै ढिलो भएको जस्तो लाग्दैन?

हो, यो अस्पतालको इतिहास लामो छ। स्थापना हुने बेलामा सरुवा रोगको एकदमै बिगबिगी थियो। हैजा झाडापखालाले धेरै मानिस मर्थे। त्यसकै रोकथामका लागि अस्पताल स्थापना भयो। तर पछि यसलाई ‘अपग्रेड’ गर्ने क्रममा भने खासै कसैले चासो देखाएनन्। त्यसैले अन्य अस्पतालको तुलनामा यो निकै पछाडि छ।

देशकै ठूलो र एक मात्र अस्पतालमा ‘आईसीयू’ सेवा भर्खर शुरु हुनुलाई के भन्नुहुन्छ?

यो हाम्रो विडम्बना हो तर, ढिलै भए पनि हामीले चार वटा आईसीयू बेड राख्न सफल भएका छौँ। यसकारण अलि सजिलो भएको छ। पहिले अस्पतालमा आएका ‘सिरियस’ बिरामीलाई आईसीयू छैन भन्दै अन्य अस्पताल पठाउनु पर्थ्याे। अब भने केही राहत भएको छ। तथापि बिरामीको चाप हेरेर यो पर्याप्तचाहिँ होइन। अहिले पनि आईसीयूको कमी छ। एउटा ‘भेन्टिलेटर’ले राम्रोसँग काम गरिरहको छैन।

विशेष खालका रोगको उपचारका लागि यहाँ नआई सुखै छैन। धेरै वर्ष पुरानो भवन छ। उपचारमा भौतिक संरचनाले पनि असर पार्छ। भूकम्पले क्षति पुर्याएको जोखिमयुक्त भवनमा काम गरिहेका छौँ। जोखिम मोलेर कतिञ्जेल काम गर्ने? यो विषयमा सरकारले चाँडै सोचिदिए हुन्थ्यो।

अस्पतालको चुनौती के देख्नुहुन्छ?

अस्पतालको ठूलो चुनौती भनेको ‘मेनपावर’ नै हो। यो भनेको दरबन्दी छैन भन्ने होइन। यहाँको के समस्या रहेछ भने हाजिर यहाँ गर्ने अनि पढ्न जाने चलन धेरै छ। सात जना मेडिकल अफिसरको दरबन्दी छ तर, सातै जना एकैसमय पढ्न गए। अब कसलाई के भन्ने? हाजिर हुन मात्र आएर कसरी अस्पताल चल्छ। अब हामी यसमा कडाइ गर्दैछौँ।

अर्को कुरा देशकै एक मात्र सरुवा रोग अस्पतालमा बिरामीलाई छुट्टै राखेर उपचार गर्नुपर्ने हुनसक्छ। त्यस्तो अवस्थामा बिरामी आएमा हामीसँग ‘आइसोलेसन वार्ड’ छैन। अफ्रिकी मुलुकमा प्राणघातक ‘इबोला’को प्रकोप बढेका बेला एक जना अफ्रिकी बिरामी आए। उनलाई इबोलाको शंका गरियो। हामीलाई फोन पनि आयो। उपचारका लागि तर हामीसँग आइसोलेसन वार्ड थिएन। त्यसकारण उनलाई हामीले उपचार नै नगरी एअरपोर्टबाटै फर्कायौँ।

त्यो त एउटा मात्र ‘केस’ भयो। इबोला, बर्ड फ्लु, स्वाइन फ्लु लगायतका रोगमा बिरामीलाई छुट्टै आइसोलेसन वार्डमा राखेर उपचार गर्नुपर्ने हुन्छ किनकी त्यो रोग अन्य बिरामीमा सर्ने सम्भावना हुन्छ। तर १० वर्षअघि आइसोलेसन वार्ड राख्ने भनेर बनाइएको कोठामा ताल्चा लागेको छ। कसैको ध्यान नै गएको छैन, जुन सरुवा रोगको उपचार गर्ने अस्पतालका लागि अत्यन्त आवश्यक मानिन्छ। यस्तै यस्तै समस्याबाट गुज्रिरहेको छ अस्पताल।

सरुवा रोग अस्पताल बस्तीको बिचमा हुनु कत्तिको उचित हो?

हो जुन समयमा यो अस्पताल स्थापना गरियो यहाँ बस्ती नै थिएन। त्यसैले उपयुक्त थियो होला। तर अब यो क्षेत्र घना बस्तीले भरिएको छ। अब यो अस्पताललाई यहाँबाट सार्नुपर्छ। अन्यथा वरपरका व्यक्तिमा पनि यसको असर पर्छ। सरुवा रोग अस्पताल शहरको बिचमा राख्नै हुँदैन। यसबारे सोच्ने वेला आइसकेको छ।

अन्त्यमा,अस्पतालको सुधारका लागि सरकारबाट के अपेक्षा गर्नुहुन्छ?

याे अस्पताल सरकारको खासै प्राथमिकतामा पर्न सकेको छैन। उही केही ‘आउट ब्रेक’ भयो भने मात्र टेकु अस्पताल भनेर सम्झिने हाे। अरु बेला वास्ता नै छैन। त्यसले पनि अप्ठेरो परेको हो। अस्पतालको उन्नतिका लागि सर्वप्रथम यो अस्पताल सरकारकाे प्राथमिकतामा पर्नुपर्छ।

अस्पतालको बजेट पनि घटेर आउन थालेको छ।  यसलाई सबैले ‘डम्पिङ साइट’को रूपमा मात्र हेरे । सबै फ्री भनेर आउँछन्। यसले समस्या पारेको छ।

विशेष खालका रोगको उपचारका लागि यहाँ नआई सुखै छैन। धेरै वर्ष पुरानो भवन छ। उपचारमा भौतिक संरचनाले पनि असर पार्छ। भूकम्पले क्षति पुर्याएको जोखिमयुक्त भवनमा काम गरिहेका छौँ। जोखिम मोलेर कतिञ्जेल काम गर्ने? यो विषयमा सरकारले चाँडै सोचिदिए हुन्थ्यो।

थप समाचार