Health TV Online
Health TV Online

‘पैसाले स्वास्थ्य खरीद बिक्री गर्न सकिन्छ भन्रे साेचबाट मुक्त हुनुस्’

'दीर्घ जीवन जिउन प्रकृतितिर फर्किनुस्'

‘पैसाले स्वास्थ्य खरीद बिक्री गर्न सकिन्छ भन्रे साेचबाट मुक्त हुनुस्’

योग साधना र प्राकृतिक चिकित्साको पर्याय मानिन्छन्, डा. हरिप्रसाद पोखरेल। काठमाडाैंमा रहेर योग तथा प्राकृतिक चिकित्साकाे माध्यमबाट धेरै रोगीहरुलाई सेवा पुर्याइरहेका छन् उनी। पाेखरेल नेपालका विभिन्न ठाउँमा योग आयुर्वेद चिकित्सालय स्थापनाका लागि पहल गरिरहेका छन् । याेग र प्राकृतिकसम्बन्धी दर्जनाैँ पुस्तक लेखेका पाेखरेलसँग हेल्थ टिभी अनलाइनकी कल्पना अाचार्यले जीवनशैली खानपानलगायत विषयमा गरेकाे कुराकानी–

प्राकृतिक चिकित्सालार्इ कसरी बुझ्ने?

प्राकृतिक चिकित्सा भन्नाले मुल रूपमा प्रकृति र मानवको अन्तरसम्बन्धबाट स्वास्थ रक्षा गर्ने र रोगीको रोग उपचार गर्ने एउटा विधि विज्ञान बुझिन्छ। यसभित्र पञ्चमहाभूत चिकित्सा छ, पानी, माटो, हावा र सूर्यको प्रकाशबाट गर्ने जस्ता प्रकृतिजन्य चिकित्सा पद्धतिहरू पनि छन्। यस्तै योगका विभिन्न विधि विज्ञानहरू आसन, प्राणायाम, ध्यानजस्ता विधिहरूलाई उपचारात्मक रूपमा पनि प्रयोग गरिएको छ। प्राकृतिक चिकित्सा पछिल्लो समयमा सबैभन्दा बढी केन्द्रीकृत भएर नसर्ने रोगहरूमाथि काम गर्न सफल देखिएको छ।

विश्वमा प्राकृतिक चिकित्साको अवस्था कस्तो छ?

विश्वभरि अहिले मुख्यरूपमा रोगलाई दुई किसिममा बर्गीकरण गरिएको छ। सर्ने रोग र नसर्ने रोगहरूका बिचमा स्वास्थ्यका आयामहरूको खोज गर्न थालिएको छ। नसर्ने रोगहरू दीर्घकालीन हुन्छन् र समाजको ठूलो हिस्सालाई यसले प्रभाव पारिरहेको छ। यो प्रभाव शारीरिक मात्र नभएर मानसिक, सामाजिक, अर्थिक, राजनैतिक सबै रूपमा परिरहेको हुन्छ। एउटा मान्छेमा कुनै एउटा नसर्ने रोग लाग्यो भने उसले जीवनभर त्यसलाई व्यवस्थापन गर्नमा प्रशस्त समय र रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ। अहिलेको आधुनिक उपचारात्मक पद्धतिहरूलाई हेर्ने हो भने १५\२० लाख खर्च गर्नु पर्ने हुन्छ। यसकारण बेलैमा प्राकृतिक जीवनशैली अपनाउन सक्छौँ। पहिलो कुरा त भने नसर्ने रोगलाई आउनै नदिने उपाय गर्न सकिन्छ। दोस्रो कुरा आइहाल्यो भने पनि त्यसलाई बढ्न नदिने त्यहीँबाट फर्काउने। त्यसले यदि ठूलो रूप लियो भने पनि प्राकृतिक चिकित्साका विभिन्न विधिद्वारा निको पार्न सकिन्छ।

यी रोगहरूलाई कसरी विश्लेषण गर्न सकिन्छ?

नसर्ने रोगलाई दुईटा कोणबाट हेर्न सकिन्छ। संसारभर के भनिन्छ भने ‘रिस्क फ्याक्टर’ कुनै पनि रोग त्यस्तो अवस्थामा आउँछ जसले अरु थुप्रै स्वास्थ्य समस्याहरूलाई जन्माउन मद्दत गर्छ। जस्तो माटोपन, उच्च रक्तचाप, मधुमेह, बाथ, दम। यी समस्या हामीले रोगका रूपमा देख्दैनौँ। सामान्य शरीरमा आएका परिवर्तनका रूपमा देख्छौँ। रगतमा चिल्लो बढेर होला, कोलेस्ट्रोल जस्ता कुरा बढ्ला तर तिनै कुराले विस्तारै विस्तारै शरीरका अरु अंगहरूमा पनि, अरु प्रणालीहरूमा पनि प्रभाव पार्दै जान्छ, प्रतिफल दीर्घकालीन र घातक रोगहरूको विकास हुन थाल्छ।

यस्तो अवस्थामा यदि हामीले रोगका कारक तत्त्वहरूलाई नै रोक्न सक्यौँ भने, भोलि रोग लाग्नसक्ने सम्भावनाहरूलाई आज नै जीवनशैली परिवर्तन गरेर रोक्न सक्यौँ भने भोलि फेरि त्यस्ता दीर्घकालीन रोगहरूका कारणले हुनसक्ने समस्याहरूबाट जोगिन सकिन्छ। यसमा संसारभर विभिन्न किसिमका प्रयोग गरिएका छन्। आधुनिक चिकित्सादेखि लिएर प्राचीन चिकित्सा पद्धतिहरू आयुर्वेद, योग चिकित्सा, होमियोप्याथी, युनानी जस्ता थुप्रै चिकित्सा पद्धतिहरूले नसर्ने रोगहरूमा के गर्न सकिन्छ भनेर चिन्तन गरिरहेको अहिलेको अवस्थामा विश्वभरका चिकित्साशास्त्रीहरू, वैज्ञानिकहरू र यस क्षेत्रमा कार्य गरिरहेका विषेशज्ञहरू के भन्छन् भने जीवनशैली परिवर्तन सबैभन्दा ठूलो र महत्त्वपूर्ण कार्य हो।
नसर्ने रोगहरूलाई आउनै नदिन र आइहाले पनि त्यसको विकराल रूपबाट बच्न र बचाउन निम्ति योगको महत्त्व छ।

स्वस्थ जीवन जिउने प्राकृतिक सूत्र के हाे?

जीवनशैली कस्तो भन्दा योगले, प्राकृतिक चिकित्साले जुन जीवनशैलीको बारेमा कुरा गरेको छ स्वस्थकर जीवनशैलीको बारेमा यदि त्यसलाई अवलम्बन गर्न सकियो भने यसले पक्कै पनि विश्वमा आज बढ्दै गएको यो नसर्ने रोगको बिगबिगीबाट जोगिन सकिन्छ। आज यस्तो दिन आइसकेको छ कि हरेक घरमा उच्च रक्तचाप, मधुमेह, बाथ,दम, मोटोपन छ, यस्ता रगतमा चिल्लो मात्रा दिनप्रतिदिन बढिरहेको छ एकातिर भने अर्कातिर जीवनशैली यसरी बिग्रेर गएको छ कि हाम्रा खानपानहरू ठिक छैनन्। व्यायाम गर्ने पद्धतिहरू ठिक छैनन्। तनाव बढिरहेको छ, धेरै भन्दा धेरै हामी होटलका भोजन वा तयारी भोजनहरूतिर बढी आकर्षित भइरहेका छाैँ। यसले गर्दा हाम्रो स्वास्थ्यमा आघात पुगिरहेको छ।

अहिले विकसित देशका वैज्ञानिकहरू के भन्छन् भने ‘फास्ट फुड, फास्ट डेथ।’ हामी त फास्टफुड सबभन्दा बढी झोलामा बोकेर हिँडेका छौँ। जंक फुडले जंकी स्वास्थ्य ल्याउँछ भनेर आजभोलि मानिसहरू जंक फुडका विरुद्धमा ‘क्याम्पेनिङ’ गरिरहेका छन्। पश्चिमा देशहरूमा छोडेका चिजहरूलाई यहाँ फेरि दिनानुदिन खानामा प्रयोग गरिरहेका छौँ। विभिन्न रासायनिक, रसायन पाककलादेखि कृषि उत्पादनसम्ममा छताछुल्ल भएर पोखिएको छ जुन हाम्रो स्वस्थ्यका लागि ठूलो घातक देखिएको छ। अर्कोतिर व्यायाम गर्ने बानी छैन, हामी अत्यधिक निष्क्रिय जीवन जिउँछौ। श्रमलाई व्यायाम सम्झिन्छौ। श्रम हाम्रो बाध्यता हो श्रम नगरीकन जीवन चल्दैन। तर त्यही श्रम गर्दा त्यहीँ काम गर्दा त्यही खेतबारीमा काम गर्दा, उद्योग व्यापारमा काम गर्दा जसरी हाम काम गरिरहेका हुन्छौँ।

जीवनशैली बदल्ने कसरी त? 

काम गर्ने जीवनशैलीहरूले पनि हामीलाई विभिन्न रोगहरू जन्माउन मद्दत गर्छ। त्यसैले श्रमलाई व्यायाम सम्झिनु हुँदैन। व्यायाम स्वस्थकर दीर्घ जीवन जिउनका लागि गरिने एउटा व्यवस्थित विधि विज्ञान हो। तर श्रम भनेको हाम्रो बाध्यता हो त्यो नगरीकन जीवन चल्दैन। त्यतिबेला हामी स्वास्थ्यका बारेमा भन्दा पनि त्यो कामलाई कसरी पूर्णता दिने भनेर सोचिरहेका हुन्छौँ। त्यसो भएकाले कामलाई नै श्रमलाई व्यायाम सम्झिएर पुग्दैन भन्ने कुरा पनि जान्न जरुरी छ। विश्वमा प्रमुख चुनौतीका रूपमा रहेको छ, तनाव। विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा ‘विश्वबाट क्यान्सर, एचआईभी एड्स, हेपाटाइटिस बीलगायत रोग निको पार्ने औषधिहरू निकालाैँला तर त्यो भन्दा विकराल र विश्वका लागि सबैभन्दा ठूलो समस्याका रूपमा तनाव आउनेछ’, भनेको छ। त्यसैले तनाव व्यवस्थापन अथवा ‘इस्ट्रेस म्यानेजमेन्टका लागि विश्व आजै एकजुट भएन भने सन् २०३० सम्ममा विश्वमा याे ठूलो स्वास्थ्य समस्याका रूपमा आउने छ। यसमा एकजुट हुन आवश्यक छ भनेर विश्व स्वास्थ्य संगठनले गरेको आह्वानलाई हेर्दा पनि अब जीवनशैली बदल्न ढिलाइ गर्न हुन्न।

प्राकृतिक जीवनशैली कसरी अपनाउने?

अब पनि प्रकृति र मानवबीचको अन्तर्सम्बन्ध र प्राकृतिक जीवनशैली पुनःस्थापना गर्न ढिलो गर्न हुँदैन भन्ने कुरामा विश्व जनमत एक ठाउँमा उभिएको छ। यसै वर्षदेखि हामीले नेपालबाट पनि राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका दिन नसर्ने रोगमा प्राकृतिक चिकित्सा आदर्श वाक्यका साथ शुरु गरेका छौँ र यो दिवसले यही सन्देश सम्पूर्ण नेपाल र विश्वलाई दिनका निम्ति शुरु गरिएको हो। यसमा हामी सबै एकजुट हौँ र दीर्घकालीन स्वास्थ्य कसरी प्राप्त गर्न सकिन्छ? चिन्तन मनन गरौँ।

हामी अहिले स्वास्थ्यलाई अवमूल्यन गरिरहेका छौँ। औषधि, डाक्टर, अस्पताल र पैसाको थुप्रोबाट स्वास्थ्य खरीद बिक्री गर्न सकिन्छ भनेर सोचका छौ तर त्यो भ्रम हो।, जीवन जिउने तौरतरिका र जीवनशैली बदल्न सक्यौँ भने हामी स्वास्थकर जीवन जिउनतर्फ अगाडि बढ्नेछाैँ।

थप समाचार