Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘छाला प्रत्यारोपण गर्ने धेरै, छालादान गर्नेको संख्या न्यून’

'छालादानमा जनचेतनाको कमी'

‘छाला प्रत्यारोपण गर्ने धेरै, छालादान गर्नेको संख्या न्यून’

वरिष्ट प्लास्टिक सर्जन प्रा. डा. शंकरमान राई नेपालमा छाला प्रत्यारोपण शुरु गर्ने  विशेषज्ञ हुन्। कीर्तिपुर अस्पतालका  वरिष्ठ प्लास्टिक सर्जन डा शंकरमान राईले नेपालमा ‘स्किन ब्याङ्क’ स्थापना गरेका छन् जहाँ मानिसले छालादान गर्न  सक्छन्। पोलेका बिरामीलाई छालादानको प्रक्रियामा लाग्ने खर्च निःशुल्क गर्ने गरी यो अस्पताल स्थापना भएको हो। उनै राईसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी–

छाला प्रत्यारोपण के हो?

विषेशगरी आगोले पोलेका बिरामीहरुलाई गहिरोगरी जल्नेबित्तिकै छाला काटेर फाल्ने कामलाई मेडिकल भाषामा ‘एक्साइज’ भनिन्छ। त्यसपछि जुन घाउ बाँकी रहन्छ त्यो घाउमा अर्को ठाँउको छाला त्यहाँ फेरि प्रत्यारोपण गर्नुपर्छ। किनभने जलेको ठूलो घाउलाई त्यतिकै छोड्न मिल्दैन। त्यसका लागि शरीरको अर्को भागबाट छाला लिइन्छ। यसो गर्दा अर्को ठाउँमा पनि घाउ रहन्छ। तर शरीरको जुन भागबाट निकालिन्छ त्यहाँ एकदमै पातलो गरेर निकालिन्छ।

जलेको ठाँउमा बाक्लो निकालेर फाल्ने र त्यसलाई पुर्न शरीरको अर्को भागबाट पातलो छाला निकालिन्छ। यसरी शरीरको एक भागबाट निकालेर अर्को भागमा राखिने प्रक्रियालाई छाला प्रत्यारोपण भन्ने बुझिन्छ।

कतिसम्म जलेको गहिरो मानिन्छ?

छालाको जति मोटाइ हुन्छ, त्यसको आधा अथवा त्योभन्दा जलेमा त्यसलाई गहिरो जलाइ भन्न बुझिन्छ। छालाको गहिराइको आधा मात्र जल्यो भने बाँकी रहेको छालाले काम गर्छ तर गहिरो जलाइले बाँकी रहेको छालाले पुर्न सक्दैन। यस्तो अवस्थामा जलेको भागलाई काटेर फालिन्छ। र शरीरको अन्य भागबाट पातलो छाला निकाली त्यो ठाँउमा राख्नुपर्छ।

छाला निकालेको भागमा आफैँ पलाएर दुई हप्तामै पुरानै अवस्थामा आइपुग्छ। किनकी यसरी छाला निकालिने छाला भनेको आलुको बोक्राजतिकै पातलो हुन्छ।

मृर्गौला प्रत्यारोपण गरेजस्तै छाला प्रत्यारोपण गरिन्छ। मानिसको शरीरको ४० प्रतिशत भन्दा धेरै भाग जलेको छ भने, बिरामीकै आफ्नो शरीरबाट छाला राख्न पुग्दैन। यस्तो अवस्थामा मृत मानिस वा आफन्तको छाला प्रत्यारोपण गर्नुपर्छ। तर यसका लागि छालादान गर्नुपर्छ। नेपालमा सन् २०१४ सम्म ४० प्रतिशतभन्दा बढी जलेका एक बिरामी पनि जोगाउन मुस्किल थियो ।

शरीरको कुन–कुन भागबाट छाला निकाल्न मिल्छ?

कुनै पनि मनिसको शरीर, जहाँबाट छाला निकाल्दा कुनै असर पर्दैन, त्यस्तो अंगबाट छाला निकालिन्छ। हात, अनुहार लगायत पातलो एवं संवेदनशील भागबाट छाला निकालिँदैन। शरीरको छोपिएको भाग जहाँबाट निकाल्दा दीर्घकालसम्म कुनै असर पर्दैन त्यस्तो भाग छनोट गरी निकालिन्छ। यसरी छालादानको पक्रिया शुरु भएको धेरै वर्ष भइसकेको छ।

पुरानो अवस्थामा एकदमै थोरै भागमा मात्र प्रत्यारोपण गर्न सक्ने अवस्था रहेकोमा हाल प्रविधिको विकासले यसको क्षमतामा समेत वृद्धि भएको छ।

कुनै पनि मनिसको शरीर, जहाँबाट छाला निकाल्दा कुनै असर पर्दैन, त्यस्तो अंगबाट छाला निकालिन्छ। हात, अनुहार लगायत पातलो एवं संवेदनशील भागबाट निकालिँदैन। शरीरको छोपिएको भाग जहाँबाट निकाल्दा दीर्घकालसम्म कुनै असर पर्दैन त्यस्तो भाग छनोट गरी छाला निकालिन्छ।

कस्ता व्यक्तिले छालादान गर्न सक्छन्?

छालादान गर्दा दुईवटा प्रक्रिया छ, मृत्यु भएको मानिसले दिने या जीवित मानिसले। मृत्यु भएको मानिसले पन्ध्र वर्ष नपुगेकाबाहेक जसले पनि दिन मिल्छ तर क्यान्सर, हेपाटाइटिस बी वा सी अथवा छालाको रोग छ भने लिन मिल्दैन।

जीवित मानिसको हकमा नेपालको कानुनअनुसार कुनै पनि अंग प्रत्यारोपण गर्दा बिरामीको नाता पर्नुपर्छ भनिएको छ। नातादेखि बाहेक बाहिरको मानिसले कुनै पनि अंग दान गर्न मिल्दैन। मानिसले पैसाको प्रलोभनमा अंग बेच्नसक्ने भएकाले रोकथामका लागि यस्तो नियम बनाइएको हो। परिवारको कुनै पनि सदस्यको मृत्यु भएलगत्तै स्किन बैंकको हटलाइनमा सम्पर्क गरेमा छाला निकाल्न तालिमप्राप्त समूह तुरुन्तै मृतक रहेको स्थानमा पुग्ने गर्छन्। मृत्यु भएको ६ घन्टाभित्र छाला लिइसक्नुपर्ने  हुन्छ । छाला प्रत्यारोपणका लागि अरु अंगजस्तो ब्लड ग्रुप वा अन्य कुनै कुरा मिल्नु पर्दैन ।

छाला प्रत्यारोपण गर्नेको संख्या निकै नै धेरै पाइएको छ। तर नातामा छालादान गर्नेको संख्या न्यून छ। किनकी जीवित मानिसको छाला लिनु एकदमै खतरापूर्ण हुन्छ। रगत बग्ने, दाग रहने, लामो समयसम्म घाउ निको नहुने, संक्रमण हुनेजस्ता समस्या अाउँछन्।

संवेदनशील नबनेको अवस्थामा ज्यानै पनि जान सक्छ। छालादान गर्दा दाताले केही दिन आराम गर्नुपर्छ। यिनै कारणले छालादान सजिलो मानिँदैन। कुनै उपाय नलागे मात्र जीवित मानिसको छाला लिइन्छ।

दान गरिएको छाला कति अवधि राख्न सकिन्छ?

सामान्यतया नेपालमा रहेको प्रविधिले करीब पाँच वर्षसम्म सञ्चय गरेर राख्न सकिन्छ। तर बिरामीको चापले पाँच हप्ता पनि नरहने अवस्था छ। दान गरिएको छाला पूर्ण रूपमा प्रयोगमा ल्याउन विभिन्न प्रक्रिया अपनाउनु पर्छ, जसलाई दुईदेखि तीन हप्ता लाग्न सक्छ।

प्रयोगशालामा विभिन्न परीक्षण पास गरेपछि मात्र छाला प्रत्यारोपण गर्न सकिन्छ। अरु तरिका महंगो पर्ने भएकोले नेपालमा पाँच वर्षसम्म मात्र राख्न सकिन्छ। अन्य प्रविधि भित्रियो भने पुस्तौ पुस्तासम्म पनि राख्न मिल्ने हुन्छ। अहिलेसम्म करिब दुई सयको मृत्युपछि छाला अन्य व्यक्तिमा प्रत्यारोपण गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार