कलेजाेका काम : शरीरलाई चाहिने पोषणतत्व उपलब्ध गराउनेदेखि रगतकाे शुद्धीकरणसम्म

शरीर स्वस्थ राख्नका लागि कलेजोले ठूलो भूमिका खेल्छ। यसले एक्लैले धैरै प्रकारको काम सम्पन्न गर्छ। हामीले खाएको खाना पचाउन मद्दत गर्नुका साथै शरीरको प्रत्येक कोषिकालाई आवश्यक पोषणतत्त्वहरू पुर्याउन र शरीरका विभिन्न भागमा जम्मा भएको विषादि र अनावश्यक पदार्थलाई सफा गर्न र शरीरमा आवश्यक धेरै प्रोटिनहरु बनाउने काम गर्छ। कलेजोले सम्पन्न गर्न विभिन्न कामहरुमध्ये केहीको चर्चा गरिन्छ।
शरीरलाई चाहिने पोषणतत्व उपलब्ध गराउने
हामीले खाएको खानालाई आन्द्राले इन्जाइम को मद्दतबाट पचाउने काम र्गदछ र खानाबाट ग्रहण गरिएका सारतत्वहरुलाई कलेजोमा पुयाउँछ। भात, गहुँ, आलुमा भएको माडलाई कलेजोले साधारण चिनी ग्लुकोजमा परिवर्तन गर्छ र कोषिकाहरुलाई शक्तिको रूपमा उपलब्ध गराउँछ। रगतमा रहेको अतिरिक्त ग्लुकोजलाई कलेजोमा जटिल चिनी ग्लाइकोेजेनमा परिणत गरी जम्मा गरेर राख्छ।
शरीरका कोषिकाहरूको मुख्य खाना ग्लुकोज हो। आवश्यक परेको बेला कलेजोले जम्मा गरिराखेको ग्लाइकोजेनलाई ग्लुकोजमा परिणत गरी रगतको माध्यमबाट कोषिकामा पुर्याउँछ । खाना नखाएको बेला पहिले जम्मा भएको ग्लाइकोजेनको मात्रा कम भएको अवस्थामा कलेजोले एमाइन एसिड र बोसोलाई ग्लुकोजमा परिणत गरेर भए पनि कोषिकाहरुलाई आवश्यक पोषण पुर्याइरहेको हुन्छ ।
कलेजोले बोसो र प्रोटिनको मेटाबोलिजममा महत्त्वपूर्ण भूमिका खेल्छ।
यसले पित्त बनाउँछ, यसले बोसो र तेललाई पचाउन मद्दत गर्छ।
यसले भिटामिनहरु, फलाम, अरु लवणतत्त्वहरूको सञ्चय गर्छ।
रगतको शुद्धीकरण
कलेजोले रगतमा जम्मा भएका हानिकारक पदार्थलाई निष्क्रिय गर्न र बाहिर फाल्न मद्दत गर्छ।
रगतमा घुसेका सूक्ष्म जीवाणुहरु, भाइरस र ब्याक्टेरियालाई यसले हटाउने काम गर्छ
यसले हानिकारक पदार्थहरु जस्तै, विष, रासायनिक पदार्थ र विभिन्न किसिमका औषधिलाई निष्क्रिय गर्छ। यिनीहरुमध्ये केहीलाई पित्तमा मिसिन्छ र अरुलाई मृगौलाको माध्यमबाट बाहिर फाल्न सकिने अवस्थामा शरीर बाहिर फाल्छ।
रगतका राता कोषिकाहरु म्याद पुगेर नाश भएपछि हेमोग्लोबिन बाहिर आउँछन् । कलेजोले हेमोग्लोबिनमा फलाम र प्रोटिन निकाल्छ र रगतको नयाँ रातो कोषिका बनाउन फेरि प्रयोग गर्छ। हेमोग्लोबिनबाट बनेको शरीरलाई काम नलाग्ने रातो पहेँलो विषादि रङ्ग बिलिरुबिनलाई पित्तको रूपमा बाहिर फाल्छ।
प्रोटिनको उपयोग हुँदा शरीरमा अमोनिया भन्ने अर्को विषादि पदार्थको उत्पत्ति हुन्छ । कलेजोले यसलाई युरियामा परिणत गरी पिसाबको माध्यमबाट शरीरबाहिर फाल्छ ।
शरीरको संरक्षण
कलेजोले शरीरलाई आवश्यक पर्ने धेरै प्रकारका प्रोटिनहरु, जस्तै आल्ब्युमिन ग्लोबुलिन, फइब्रिनोजे र रगत जम्न आवश्यक तत्त्व बनाउँछ। आल्ब्युमिनले रगतलाई रगतको नलीभित्रै राख्न मद्दत गर्छ। यसको कमी भएमा रगतको तरल भाग बाहिर आएर जिउ सुन्निन्छ।
ग्लोबुलिनले रोग गराउने कीटाणुसँग लड्ने क्षमता बढाउँछ । फइब्रिनोजेन र रगत जम्ने तत्त्वहरुले रगतको नलीमा भएको टुटफुटलाई मर्मत गरी रगत बगेर हुन सक्ने मृत्युबाट बचाउँछन्।
डा . सन्तोषमान श्रेष्ठकाे कलेजोका रोगहरु पुस्तकबाट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै