मृतक महिलाको पाठेघरबाट स्वस्थ बालिकाको जन्म

मृत्यु भइसकेकी एक महिलाको पाठेघर प्रत्यारोपण प्रयोग गरेर स्वस्थ बालिकाको जन्म भएको छ। सन् २०१६ मा ब्राजिलको साओ पाउलोमा उक्त प्रत्यारोपणसम्बन्धी १० घण्टा लामो शल्यक्रिया भएको थियो र पछि गर्भाधानसम्बन्धी उपचार गरिएको थियो।
पाठेघर प्रत्यारोपणपछि आमा बनेकी ती ३२ वर्षीया महिला पाठेघरबिनै जन्मेकी थिइन्। जीवित महिलाले नै दान गरेका पाठेघर प्रयोग गर्दै ३९ वटा पाठेघरहरू प्रत्यारोपण गरिसकिएको छ। त्यसमा छोरीलाई आफ्नो पाठेघर दिने आमाहरू पनि रहेका छन्। ११ जना शिशुको त्यसरी जन्म भइसकेको छ।
तर मृत्यु भइसकेका दाताहरूको पाठेघर प्रत्यारोपण गर्ने यसअघिका १० वटा प्रयासहरू केही असफल भएका थिए केही गर्भ तुहिएका थिए। याे पटक, ती पाठेघर दाता ४० वर्षको अासपासमा रहेकी तीन छोराछोरीकी आमा थिइन्, जसको मस्तिष्कमा रगत बगेर मृत्यु भएको थियो।
पाठेघर प्रत्यारोपण गरिएकी महिला चाहिँ प्रत्येक चार हजार ५०० महिलामा एकजनामा देखिने एकप्रकारको ‘सिन्ड्रोम’बाट ग्रस्त थिइन्। त्यस्तो अवस्थामा महिलाको योनी र पाठेघर राम्रोसँग विकसित हुँदैन।
तर उनको डिम्बाशयमा केही समस्या थिएन। चिकित्सकहरूले उनको डिम्ब निकाली पुरुषको वीर्यसँग गर्भाधान गराई चिस्यानमा राखेका थिए। ती महिलालाई त्यस्ता औषधिहरू दिइएको थियो जसले उनको रोगप्रतिरोधी प्रणालीलाई कमजोर पार्थ्यो। उनको शरीरमा पाठेघर प्रत्यारोपण स्वीकार गराउन त्यसाे गरिएको थियो। त्यसको झण्डै ६ हप्तापछि उनको महिनावारी हुन शुरू भयो।
सात महिनापछि गर्भाधान गराइएको ती डिम्बहरू उनको पाठेघरमा राखिएको थियो। सामान्य गर्भावस्थापछि ती महिलाले सन् २०१७ को १५ डिसेम्बरमा सिजेरियन शल्यक्रियापछि साढे दुई किलोग्राम तौल भएकी शिशुलाई जन्म दिएकी थिइन्।
बीबीसी
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights