क्लिनिकल फर्मासिस्ट : बिरामीका औषधि गाइड
नेपालमा सामान्यतया फर्मासिस्ट भनेको औषधी पसलमा काम गर्ने अथवा औषधि भण्डारण गरी वितरण गर्ने भन्ने मात्र बुझिन्छ। तर ‘क्लिनिकल फर्मासिस्ट’ को दायरा योभन्दा अलि विस्तृत छ। चिकित्सक कुनै कक्षमा ‘राउण्ड’मा जाँदा चिकित्सक, नर्स र सँगै क्लिनिकल फर्मासिस्ट पनि हुन्छन्।
क्लिनिकल फर्मासिस्ट बिरामीको हेरचाहमा बढी संलग्न हुन्छन् र ‘वार्ड वेस्ड’मा काम गर्छन् वा अस्पतालमा भर्ना भएका बिरामीलाई सेवा दिन खटिन्छन्। चिकित्सकले औषधि लेखेपछि त्यसको निरीक्षण गर्ने र डाक्टरले लेखेको औषधि हेरेर सही र सुरक्षित प्रयोग हुने सुनिश्चित गर्नका लागि वार्ड वेस्डमा काम गर्छन्, क्लिनिकल फर्मासिस्ट।
डाक्टरले औषधि ‘प्रिस्क्राइब’ गरिसकेपछि धेरै कुराहरू हेर्नुपर्ने हुन्छ, जुन बिरामीलाई थाहा हुँदैन। क्लिनिकल फर्मासिस्टको मुख्य काम भनेको बिरामीले पाउने औषधीले उनीहरुलाई नकारात्मक असर नगरोस् र बिरामीको स्वास्थ्यमा छिटो सुधार आओस् भनेर औषधिको सबै पक्ष हेर्ने नै हो।
औषधिका कारण बिरामीमा देखिने ‘ड्रग इन्टर्याक्सन ’ ठूलो पाटो हो। एउटा औषधिसँग अर्को औषधि खाँदा कहिलेकाहीँ जुध्न सक्ने र यसले उल्टो असर पुर्याउने समेत हुनसक्छ। एउटै व्यक्तिमा मधुमेह, रक्तचाप, थाइराइड जस्ता समस्या भएमा सबै रोगको लागि औषधी खानुपर्ने हुन्छ। यस्तो अवस्थामा धेरै औषधीहरूबीच प्रतिक्रिया (रियाक्सन) हुन्छ। यस्तो हुँदा औषधिको नकारात्मक असर पर्न जान्छ र जति खाए पनि काम नगर्ने हुन्छ। बरु अर्को समस्या थपिनसक्छ ।
नेपालकाे मापदण्ड अनुसारको कुरा गर्ने हो भने त सय वटा ‘बेड’ भएकोे अस्पतालमा एउटा क्लिनिकल फार्मासिस्ट हुनुपर्छ। तर हामीकहाँ सबै अस्पतालमा छैनन्। कतिपय प्राइभेट अस्पतालले भने राख्न थालेका छन्। म कार्यरत नेपाल क्यान्सर अस्पतालको कुरा गर्ने हो भने म आफैँले काम गरिरहेको छु। क्यान्सर अस्पतालमा ‘केमाथेरापी’लाई बढी प्राथमिकता दिइन्छ भने केमोसँगै अरु औषधिको समायोजन गर्ने हिसाबले क्लिनिकल फार्मासिस्ट हुनु अत्यन्त जरुरी मानिन्छ।
हामीले यो अस्पतालमा केही नयाँ कुरा शुरु गरेका छौँ। यहाँका बिरामीले औषधि उपचार गरिसकेपछि घर जानुअघि जब उनीहरूको ‘डिस्चार्ज पेपर’ बन्छ त्यो बेला पक्कै पनि केही औषधि हुन्छन् नै। डिस्चार्जका वेला औषधिलाई पुनः अवलोकन गर्छौँ र त्यो कुरा ठिक छ वा छैन, पाउनु पर्ने मात्रा, कुनै औषधीबीच प्रतिक्रिया हुने छ कि छैन हेर्छाैँ। यस्तै कति दिनसम्म खाने, कति समयकाे फरकामा खानेलगायत कुरा ‘भेरिफाइ’ गरेर मात्र घर पठाउँछौँ। यो कुरा सबै ठाउँमा भएको पाइँदैन, जसले गर्दा बिरामी समस्यामा पर्छन्।
अर्को कुरा, क्यान्सरको क्षेत्रमा ‘केमो मिक्सिङ’ भन्ने हुन्छ जहाँ औषधि बनाइन्छ। केमो कहिले पनि ‘डाइरेक्ट’ दिइँदैन। त्यसलाई ‘सलाइन सोल्युसन्’ वा ‘डेक्सो सोल्युसन्’सँग दिनुपर्छ र त्यो गर्दा क्लिनिकल फर्मासिस्टको ‘सुपरभिजन’मा मात्र हुन्छ । कतिपय बिरामीलाई केमो लिँदा बिरामीको रक्तनली जम्न सक्छ। त्यसबेला पनि एउटा औषधिको प्रयोग हुन्छ जसलाई ‘वार्फारिन’ भनिन्छ। यसले रगत पातलो बनाउने काम गर्छ। धेरै औषधिसँग त्यसको अन्तरक्रिया हुन्छ। त्यो औषधि चलाउन लागेका छौँ भने पछि कतै न कतै जुध्छ कि भनेर सोच्नैपर्ने हुन्छ।
त्यो औषधिको मुख्य ‘साइड इफेक्ट’ भनेको ‘ब्लिडिङ’ हुने हो। रगत पातलो भएर शरीरको विभिन्न अङ्गबाट रगत बग्छ। त्यतिबेला क्लिनिकल फार्मासिस्टले त्यस्ता बिरामीले त्यो कति वेला खाँदा सबैभन्दा राम्रो काम गर्छ भन्ने कुरा पनि हेर्छाैँ। बिरामीलाई त्यो औषधी खानुअघि नै त्यसबारे भनिसकेका हुन्छौँ। त्यसबाहेक उनीहको रगत कति पातलो भइराखेको छ नियमित त्यो हेर्ने र त्यो अनुसार त्यसको ‘डोज’ कति घटाउने वा बढाउने भन्ने कुरालाई पनि विशेष प्राथमिकता दिनुपर्छ।
यस्ता कुरा ख्याल गर्न सके बिरामीलाई औषधिका कारण हुने समस्या कम गर्न सकिन्छ, जसमा क्लिनिकल फर्मासिस्टको भूमिका महत्त्वपूर्ण हुन्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य