‘घाउको प्रकृति हेर्दा सिरिञ्ज नहुन पनि सक्छ’
अहिले काठमाडौं उपत्यका लगायत काभ्रेपलाञ्चोकसम्म सिरिञ्ज आतंक फैलिएको छ। एकजनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसरले शुक्रबार सार्वजनिक गरिसकेको छ। रामेछापका सन्तोष कार्की नामका व्यक्तिले सिरिञ्ज नभई ढलानको किलाले युवतीहरूलाई घोच्ने गरेको बताएका छन्।
आफूले रमाइलोको लागि यस्तो हर्कत गर्दै आएको पनि प्रहरीसँगको बयानमा उनले बताएका छन्। सिरिञ्ज हो वा पक्राउ परेका कार्कीले भनेजस्तै किलाजस्ता वस्तुले भन्ने प्रहरी अनुसन्धान जारी राखेको छ।
तर घटनामा परेका युवतीहरू शारीरिकका साथै मानसिक पीडामा छन्। उनीहरूमा आशंका छ, पक्राउ परेका कार्कीले भनेजस्तो नभएर यदि सिरिञ्जकै प्रयोग त भएको होइन? सिरिञ्जमार्फत रोग सार्न त खोजिएको होइन? यही सेरोफेरो हेल्थ टेलिभिजनल अनलाइनले सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग कुरा गरेको थियो। यसैको सम्पादित अंश–
केही दिनयता विशेषगरी २० देखि ३० उमेरका युवतीमाथि धारिलो वा चुच्चो वस्तुले घोचेको भन्ने समस्या लिएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएका छन्। बिहीबारसम्म १० युवती उपचार र परामर्शकै लागि भनेर आएका छन्। बिहीबार साँझ एक कीर्तिपुरमा एक बालिकामाथि पनि त्यस्तै घटना भएको रहेछ। यहाँ आउने केहीलाई परामर्श दिएर त केहीलाई विशेष औषधि गरेर पठाएका छौँ।
विशेषगरी युवतीहरू तिखो वा चुच्चो वस्तुले घोचेको भन्ने समस्या लिएर आएका छन्। ठ्याक्कै यही वस्तुले घोचेको भन्ने यकिन छैन। तर ‘मनको बाघले खाएको भनेजस्तै’ सिरिञ्जले घोचेको हो कि भन्ने आशंका लिएर आउने धेरै छन्। उनीहरू संक्रमित रगत भएको सिरिञ्जले घोचेको आंशकामा उनीहरू आत्तिएका छन्। यही आशंकाका कारण कतिपयलाई एचआईभीविरुद्ध एआरटी र हेपाटाइटिसविरुद्धको सुई दिएका छौँ।
यो समस्या लिएर यहाँ आउने कतिपय त घोचेको हो कि होइन भन्नेमा समेत द्विविधामा छन्। ‘खै घोचेजस्तो लाग्छ’, भन्छन्। तर घाउको प्रकृति हेर्दा सिरिञ्जचाहिँ होइन कि भन्ने लाग्छ। त्यसैले अनावश्यक मानसिक पीडामा नबस्न उहाँहरूलाई आग्रह गर्छु।
सिरिञ्जसम्बन्धी चर्चा चलिरहेकाले यसकाे दुरूपयाेगले कस्ता राेग सर्छन् भन्ने थाहा पाइराख्नु राम्राे हाेला। सुईबाट थुप्रै रोग सर्छन्। तीमध्ये तीनवटाचाहिँ घातक नै हुन्छन्, एचआईभी, हेपाटाइटिस बी र हेपाटाइटिस सी। त्यो हो कि होइन भन्ने थाहा पाउन एचआईभीको सन्दर्भमा तीन महिना कुर्नैपर्छ। हेपाटाइटिस भए चार साता लाग्छ।
स्वास्थ्यका दृष्टिले संवेदनशील तथा कानुनी दृष्टिले हेर्दा यो आपराधिक कर्म पनि हो। यसबाट बच्न सकेसम्म हुलमुल भएको ठाउँमा जाँदा चनाखाे हुने, बेलुकीको समय एक्लै नहिँड्नेजस्ता उपाय अपनाउन सकिन्छ। यस्ता कर्ममा संलग्नलाई नियन्त्रणमा लिएर,कानुनी व्यवस्थाअनुसारको सजाय दिएर यसलाई कानुनी रूपमा समाधान गर्नुपर्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’