बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
हेल्थ टिभी अनलाइन : भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन युएसभी फर्मास्युटिकल्सले नेपाल चिकित्सक संघको राहत अभियानलाई एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा आएको हिमबाढी तथा त्यसबाट उत्पन्न परिस्थितिका कारण घर, खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत सामग्री गुमाएका परिवारलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको हो । यो सहयोगबाट बाढी प्रभावित क्षेत्रका तीन सय घरधुरीका एक हजार पाँच सय जना प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।
बिहीबार आयोजित कार्यक्रममा नेपाल चिकित्सक संघकाअध्यक्ष डा बद्री रिजाल र युएसभी फर्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज सिसोडियाबीच सहयोगसम्बन्धी सम्झौतापत्र आदानप्रदान गरिएको थियो । नेपाल चिकित्सक संघका अध्यक्ष डा रिजालले प्रभावित क्षेत्रमा स्थलगत रूपमा पहिचान भएका आवश्यकताका आधारमा राहत सामग्री वितरण गरिने बताए । उनका अनुसार बाढीबाट घरबारविहीन भएका परिवारका लागि करिब तीन सय वटा अस्थायी आवास निर्माण गरिनेछ ।
उनले प्रभावित परिवारलाई ओछ्यान, ओढ्ने सामग्री, सौर्य बत्ती तथा मोबाइल चार्ज गर्ने सुविधासमेत उपलब्ध गराउने योजना रहेको जानकारी दिए । खानेपानी तथा सरसफाइमा समस्या भएका परिवारलाई स्वच्छ खानेपानी र सरसफाइका सामग्री उपलब्ध गराउनुका साथै अत्यावश्यक घरायसी सामग्री, औषधि तथा स्वास्थ्यसम्बन्धी सामग्रीसमेत वितरण गरिने पनि उनले जानकारी दिए ।
संघको नेतृत्वमा सञ्चालित राहत अभियानले प्रभावित क्षेत्रको स्थलगत आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा सहयोग उपलब्ध गराउनेछ । अभियानमार्फत तत्काल आवश्यक राहतसँगै प्रभावित परिवारलाई सामान्य जनजीवनतर्फ फर्किन सहयोग पुग्ने गरी आधारभूत सामग्री तथा स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराइने छ । युएसभी फर्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज एस सिसोडियाले विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको बताए । उनले स्वास्थ्य तथा औषधि क्षेत्रमा कार्यरत संस्थाका रूपमा मानवीय सङ्कटका समयमा प्रभावित परिवारको साथमा उभिनु आफ्नो दायित्व भएको जिकीर गरे ।
युएसभी फार्माका नेपाल प्रमुख सुरज श्रेष्ठले प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल चिकित्सक सङ्घको राहत अभियानसँग सहकार्य गरिएको बताए । उनले स्वास्थ्यसँगै विपद्का समयमा प्रभावित समुदायको जीवनयापन सहज बनाउन आवश्यक सहयोग पुर्याउनु संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गतको महत्वपूर्ण पक्ष भएको बताए ।
युएसभी फार्माका मानव संसाधन विभाग प्रमुख रोहित शर्माले विपदबाट प्रभावित समुदायलाई राहत तथा पुनर्लाभका लागि निजी क्षेत्र, स्वास्थ्य संस्था, सामाजिक सङ्घसंस्था तथा सम्बन्धित निकायबीचको सहकार्य आवश्यक रहेको बताए। प्रभावित परिवारसम्म आवश्यकता अनुसारको सहयोग पुर्याउन सामूहिक प्रयास महत्वपूर्ण हुने उनले जिकीर गरे ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण