Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सरकारले किन सञ्चालन गर्दैछ दादुरा-रुवेला खोप अभियान ? के छ चुनौती ?

सरकारले किन सञ्चालन गर्दैछ दादुरा-रुवेला खोप अभियान ? के छ चुनौती ?

आइतवारी चौधरी

राष्ट्रिय खोप कार्यक्रमका मुख्य उदेश्यहरु खोपबाट बचाउन सकिने रोग नियन्त्रण गर्नु तथा अपाङ्ता र मृत्युलाई कम गर्नु, प्रत्येक बालबालिकालाई पूर्ण खोप लगाएको सुनिश्चित गर्ने तथा खोपबाट बचाउन सकिने रोगहरुको निवारण र उन्मुलनको लक्ष्य हासिल गर्ने कार्यलाई तिब्रता दिई दिगोपन कायम राख्ने हाे । जस अनुसार सन् २०१० देखि पोलियो शुन्य अवस्था कायम भएकोलाई निरन्तरता दिई सन् २०२६ सम्ममा पोलियो रोग उन्मूलन गर्ने, सन् २००५ देखि नवशिशु धनुष्टंकार रोग निवारण भएको अवस्थालाई कायम राख्ने र सन् २०२६ सम्ममा दादुरा–रुबेला रोग निवारण गर्ने रहेको छ ।

तथ्यांक हेर्दा माथि उल्लेखित राष्ट्रिय खोप कार्यक्रमका मुख्य उदेश्यहरु पुरा गर्न समुदाय स्तरदेखि राष्ट्रिय स्तरसम्मा धेरै नै चुनौति रहेको छ । चुनौतीहरुमा जस्तै खोपको अपेक्षित पहुँच हासिल नहुनु, राष्ट्रिय स्तरको तुलनामा प्रदेशमा, प्रदेशको तुलनामा जिल्लामा, जिल्लाहरुको तुलनामा स्थानीय तहमा तथा स्थानीय तहहरुको तुलनामा वडा स्तरमा खोपको एक रुपता नहुनु, शून्य खोप र ड्रप–आउटको संख्या बढ्दै जानु, पूर्ण खोप दिगोपना कार्यक्रम प्रभावकारी नहुनु, महामारीहरु देखा परी रहनु तथा खोप खेर जाने दर उच्च हुनु रहेको छ ।

हालसम्म ७२ जिल्ला र ७३३ वटा स्थानीय तह पूर्ण खोप घोषणा भैसकेको भए पनि नेपाल जनसांख्यिक स्वास्थ्य सर्भेक्षण २०२२ अनुसार अझै पनि ४ प्रतिशत बालबालिकाहरुले कुनै पनि खोप लगाएका छैनन्, १६ प्रतिशत बालबालिकाहरु आंशिक खोपहरु लगाएका छन् तथा राष्ट्रिय खोप तालिका अनुसार ५२ प्रतिशत बालबालिकाहरुले मात्र पूर्ण खोप लगाएका छन् ।

राष्ट्रिय खोप कार्यक्रममा नियमित दादुरा–रुबेला खोपको पहुच लक्षित जनसंख्यामा कम्तिमा ९५ प्रतिशत हुनु पर्नेमा नेपालले त्यो लक्ष्य अझै पनि हासिल गर्न सकेको छैन । नियमित दादुरा–रुबेला खोपको पहुँच पनि सबै तहमा एक रुपता नहुनु, नियमित दादुरा–रुबेला खोप अभियान २०७६\७७ पछि गरिएको सर्भेक्षण अनुसार नियमित दादुरा–रुबेला खोपको पहुच ८४ प्रतिशत मात्र देखिनु, सन् २०१९ को अन्त्यमा कोभिड्–१९ को महामारी तथा विविध कारणहरुले गर्दा नियमित दादुरा–रुबेला खोप लगाउन छुट बालबालिकाहरुको संख्यामा बृद्धि भई आ.व. २०७९–८० मा दादुराको महामारी देखियो ।

२०७९ मंसिर ३ गते देखि २०८० पुष १५ गते सम्मको तथ्यांकलाई केलाउने हो भने नेपालको १९ जिल्लामा सो अवधिमा १,३४९ जना दादुराका बिरामीहरु रहेको देखाउँछ । दादुरा देखा परेका ति जिल्लाहरु मध्ये एक तिहाई भन्दा धेरै तराईका जिल्लाहरु रहेको देखिन्छ । दादुरा प्रभावित जिल्लाहरुमा बाँके सबै भन्दा धेरै प्रभावित जिल्ला रहेको देखिन्छ । बाँकेमा मात्रै सो अवधिमा ३२९ जना दादुराका बिरामीहरु रहेको तथ्यांकले देखाउँछ । दादुरा महामारीमा संक्रमित व्यक्तिहरु मध्ये ७४ प्रतिशत ९ महिला देखि १५ बर्ष मुनिका बालबालिकाहरु रहेको तथ्यांकले देखाउँछ । दादुरा संक्रमित व्यक्तिहरु मध्ये दादुराको खोप नलगाएका २६ प्रतिशत, दादुराको एक मात्रा लगाएको २३ प्रतिशत, दुई वा सो भन्दा बढि मात्रा लगाएका २१ प्रतिशत तथा दादुरा खोप लगाए नलगाएको थाहा नभएको ३० प्रतिशत रहेको देखिन्छ ।

माथि उल्लेखित तथ्यांकहरुलाई सम्बोधन गर्न तथा सन् २०२६ सम्ममा नेपालमा दादुरा, रुबेला रोग निवारण गर्नको लागि नेपाल सरकारले उच्च जोखिम भनि पहिचान गरिएका तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्ला गरि २४ जिल्लाहरुमा ९ महिनादेखि १५ बर्ष मूनिका सबै बालबालिकाहरु तथा न्यून जोखिम भनी पहिचान गरिएका बाँकी ५१ जिल्लाहरुमा ९ महिना देखि ५ बर्ष मुनिका सबै बालबालिकाहरु लाई फागुन १३ गतेदेखि शुरु गरि चैत्र ७ गते भित्र सम्पन्न हुने गरि राष्ट्रिय स्तरको दादुरा–रुबेला खोप अभियान २०८०–८१ संचालन गर्दैछ ।

यस अघि जाजरकोट र रुकुम–पश्चिम भूकम्पबाट बढी प्रभावित जिल्लाहरुको रुपमा पहिचान गरि ६ महिनादेखि १५ बर्ष मुनिका सबै बालबालिकाहरुलाई लक्षित गरि २०८० पौष ५ गते देखि १४ गते सम्म नेपाल सरकारले दादुरा–रुबेला खोप अभियान सफलता पुर्वक सम्पन्न गरि सकेको छ । त्यसैले आजै आफनो नजिकैको स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयम् सेविकाहरुसंग सम्पर्क राखि तपाईको ठाउँमा कहिला दादुरा–रुबेला खोप अभियान संचालन हुदैछ जानकारी लिई समयमै दादुरा, रुबेलाको खोप आफनो बालबालिकाहरुलाई नजिकैको खोप केन्द्रमा गई लगाऔं र आफनो वरिपरिका छरछिमेकीहरुलाई पनि लगाउनलाई खबर गरौं किन भने यो खोप विश्व स्वास्थ्य संगठनबाट प्रमाणित धेरै सुरक्षित तथा प्रभावकारी छ । यसले तपाईको बालबालिकाहरुलाई दादुरा र रुबेला रोग लाग्नबाट बचाउँछ जुन रोग सामान्यतया ५ बर्ष मुनिका बालबालिकाहरुलाई धेरै हुने गरेको छ ।

दादुरा संक्रमण भएमा छिट्टै फैलिएर महामारी हुन सक्छ साथैं समयमा उपचार नपाएमा गम्भिर प्रकारका जटिलताहरु गराउनुका साथैं बिरामीको ज्यान समेत जान सक्छ । रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको भए पनि यो रोग गर्भावस्थामा लागेमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्मने तथा गम्भिर प्रकारको जन्मजात विकलांकहरु देखा पर्ने सम्भावना हुन्छ ।

(आइतवारी चौधरी शहरी स्वास्थ्य केन्द्र -२ नेपालगंज बाँकेका जनस्वास्थ्य निरीक्षक तथा स्वास्थ्य संस्था प्रमुख हुन् । ) 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?