Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नर्स बिनाको अस्पताल कल्पना समेत गर्न सकिन्न तर पनि विभेद किन ?

नर्स बिनाको अस्पताल कल्पना समेत गर्न सकिन्न तर पनि विभेद किन ?

रश्मिला थपलिया

नर्स रश्मिला थपलिया विगत १२ वर्ष देखि नर्सिङ पेशामा आवद्ध छिन्। । हाल उनी ललितपुरको सानेपास्थित स्टार अस्पतालमा आइसीयू इन्चार्जको रुपमा कार्यरत छिन्। आइसीयू निकै गम्भीर बिरामीहरुको उपचार हुने विभाग भएकाले पनि सो विभागमा काम गर्दा थुप्रै चुनौतीहरु आउँछन् । नर्स रश्मिलाको अनुभव नर्सका कुरामा उनकै शब्दमा :

म सानैदेखि अरुको सेवामा रमाउने खालको व्यक्ति थिए । अरुको सेवा गर्दा आफूमा एक किसिमको सन्तुष्टी हुन्थ्यो । शायद त्यही कारणले होला मैले नर्सिंङ पेशा रोजे । एसएलसी पास भएपछि मैले अब नर्सिङ पेशा पढेर जीन्दगीभर बिरामी र असहायको सेवामा लाग्ने प्रण गर्दै यो विषय पढ्न थालेकी हुँ । त्यतिबेला मैले लिएको निर्णयका कारण आज म यहाँ छु । बिरामीहरुलाए सेवा दिन सकिरहेको छु ।

नेपालको सन्दर्भमा हेर्नु पर्दा अझै पनि नर्सिङ पेशाको अवस्था खासै चित्त बुझ्दो भने छैन्। जस्तोसुकै परिस्थितिमा पनि नर्सहरुले आफूभन्दा पहिले बिरामीको बारेमा सोचिरहँदा पनि यो पेशालाई त्यति धेरै सम्मान दिएको भने पाइदैँन्। दिन रात नभनी बिरामीको सेवामा खटिदा पनि हामीले सो अनुसारको तलब, सेवासुविधा भने पाइरहेका छैनौं । हामीले अरुको सेवा मन देखिनै गर्ने गर्छौ । आफ्नै परिवारका सदस्य बिरामी पर्दा जुन प्रकारको हेरचाह गरिन्छ त्यहि अनुसारको हेरचाह हामीले बिरामीलाई दिइरहेका हुन्छौं र दिनु पनि पर्छ यही हाम्रो धर्म हो । बिरामी भनेको हाम्रा लागि भगवान सरह हुन्। कतिपय बिरामी निको भएर जाँदा हाम्रो कामलाई प्रशंसा गरेर जानुहुन्छ त्यही कुराले हामीलाई काममा लागिरहन प्रेरणा दिन्छ । अन्यथा सरकारले कुनै सुविधा उपलब्ध गराउने वा पेशामा टिकिरहन प्रेरणा मिल्ने खालका कार्यक्रम ल्याएको छैन्। सेवा सुविधाहरु पनि पढाई अनुसार खटाइ अनुसारका छैनन् । जसले गर्दा धेरै नर्सहरु विदेश पलायन समेत भइरहेका छन्। हो यो पेशा सेवा गर्ने पेशा हो । तर सेवा भन्दैमा भोकभोकै बसेर पनि कसरी सेवा गर्न सकिन्छ भन्ने पनि कुरा आउँछ नि ।

डाक्टर, नर्स वा अन्य स्वास्थ्यकर्मी सबैको मुख्य उद्देश्य भनेकै बिरामीलाई कसरी निको पारेर घर फर्काउने भन्ने नै हो। अस्पतालमा डाक्टर वा नर्स एक्लैले कुनै पनि काम गर्न सक्दैन। बिरामीको उपचार गर्ने क्रममा डाक्टर, नर्स लगायतको टिमले उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन्। तर धेरै जसो क्रेडिट चाहिं डाक्टरलाई मात्र जान्छ । यो चाहिं अन्याय भयो जस्तो लाग्छ ।

हामी दिनरात नभनी बिरामीसँग हुन्छौं तर हामीले कहिले पनि क्रेडिट पाउँदैनौं । जति काम गरे पनि श्रेय चाहिं डाक्टरलाई मात्र दिइन्छ । डाक्टर र नर्सलाई गरिने व्यवहारमै फरक पाइन्छ । खासमा भन्ने हो भने बिरामीसँग डाक्टर भन्दा बढी समय बिताउने भनेको नर्सले नै हो । डाक्टर त एकछिन आएर चेक गरेर औषधी लेखेर जानुहुन्छ । त्यसपछि उनीहरुको रेखदेख गर्ने, औषधी समयमा दिने, स्याहारसुसार गर्ने सबै काम नर्सले नै गर्ने हो । यसो भनिरहँदा डाक्टरको काम कम छ भनेको हैन् तर समय बिताउने र सबै मोनिटरिङ गर्ने काम हामीले नै गर्नुपर्ने हुन्छ । बिरामी पनि नर्ससँग बढी घुलमिल हुन्छन्। २४ सै घण्टा खटिने हामी नर्स र डाक्टरवीच गरिने व्यवहार फरक देख्दा साह्रै चित्त दुख्छ भन्ने मात्र हो ।

कोभिड महामारीका बेला सबै जना डराएर घरभित्र बसेका बेला नेपाल मात्रै हैन् संसारभरका नर्सले जसरी दिनरात, २४ सै घण्टा घर परिवारको पनि वेवास्ता गर्दै काम गरे त्यो कार्य संसारले देखेको छ । र प्रसंसा गरेको छ । तर हामीलाई आफनै देश अनि सरकारले भने कुनै वास्ता नै गरेन । यस्तो अवस्थामा चाहिं चित्त दुख्ने रहेछ ।

नर्सिङ पेशालाई अझ व्यवसायिक, मर्यादित बनाउन सरकारले विभिन्न नीति नियमहरु बनाउन जरुरी छ । सरकारी र नीजिमा काम गर्ने नर्सहरुको तलव सुविधामा पनि ठूलो विभेद छ । यस्तो हुनु हुँदैन भन्ने हामीलाई लाग्छ । नर्स बिनाको अस्पतालको कल्पना समेत गर्न सकिंदैन् । नर्स भनेका अस्पतालका खम्बा हुन्। यसले पनि कुनै पनि अस्पतालमा वा बिरामीको सेवाका लागि नर्सको महत्व कति छ भन्ने कुरा प्रस्ट पार्दछ । त्यसैले सबैको कामको मुल्यांकन गर्दै उनीहरुलाई देशमै बिरामीको सेवा गर्न टिकाइरहन उनीहरुका लागि पनि कार्यक्रमहरु ल्याइनुपर्छ । आर्काइभबाट

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।