Health TV Online
Health TV Online

दम रोगको मुख्य कारण धुम्रपान र प्रदुषण

दम रोगको मुख्य कारण धुम्रपान र प्रदुषण

हेल्थ टिभी अनलाइन :  सामान्यता ‘सीओपीडी’ (क्रोनिक अबस्ट्रक्टिम पल्मोनेरी डिजिज) वा ‘अस्थामा’ लाई हाम्रो समाजमा दम भनिन्छ। सीओपीडी फोक्सोसम्बन्धी रोग हो। दम सामान्यतया ४० वर्ष नाघेको ‘स्मोकर’हरूमा बढी हुने देखिन्छ।

यो समस्या भएकाहरूलाई सास फेर्न गाह्रो हुन्छ। यो समस्या क्रमिक रूपमा बढ्दै जान्छ र नियमित खोकी पनि लागिरहन्छ। विशेषगरी श्वास फेर्न अवरोध उत्पन्न हुन्छ। ‘एअर वे’को साइज खुम्चिन्छ। बढी हावा फोक्सोमा बसिरहन्छ, जसले गर्दा फोक्सोको साइज बढ्दै जान्छ र श्वास फेर्न असहज हुन्छ।

जसको फोक्सो राम्ररी विकसित भएको हुँदैन वा जन्मिँदा जसको तौल कम हुन्छ यस्ता व्यक्तिलाई सानैमा दम हुन सक्छ। धूमपान गर्ने, दाउरा बालेर खाना पकाउनेहरूमा यो रोग हुन्छ। अहिले जताततै प्रदूषण बढेको छ प्रदूषित वातावरणमा जीवनयापन गर्नेहरूमा पनि यो समस्या देखिएको छ। यो रोग लागेकामध्ये ८० प्रतिशतले धूमपान गर्ने गरेको पाइन्छ।

दम सामान्यतया दुई थरीको हुन्छ। क्रोनिक ब्रोङ्काइटिस र इम्फिसेमा। हालै प्रकाशित अध्ययनअनुसार नेपालीहरूमा सबभन्दा बढी देखिने ‘नन कम्युनिकेबल’ रोग दम रोग हो। दमले नेपालमा १२ प्रतिशत जनसंख्यालाई असर गरेको नेपाल हेल्थ रिसर्च काउन्सिलद्वारा प्रकाशित अध्ययनले देखाएको छ।

विश्व स्वास्थ संगठनका अनुसार हाल संसारभर दम मृत्युको प्रमुख चार कारणमध्ये एक हो। अध्ययनहरूले के देखाउँछ भने यो रोग गरिब र आर्थिक रूपमा पिछडिएका वर्गमा बढी देखिन्छ।

दमको प्रमुख लक्षण हो, श्वास फेर्न गाह्रो हुनु हो यो क्रमिक रूपमा बढ्दै जान्छ। खोकी लाग्ने, खकार आउने, वजन घट्नेलगायत लक्षण पनि देखिन्छन्। नियमित धूमपान गर्नेहरू, श्वास फेर्न गाह्रो भएकाहरू र लामो समयसम्म खोकी लागिरहेकाहरूले यसको जाँच गराउनुपर्छ। साधारणतया ‘पल्मोनरी फङ्सन टेस्ट’ गरी यो रोग भए नभएको थाहा पाउन सकिन्छ।

सम्भव भएसम्म फोक्सो विशेषज्ञ अर्थात् पल्मोनोजिस्ट वा श्वासपश्वास विशेषज्ञलाई सम्पर्क गरी परामर्श लिने तथा उपचार गर्नुपर्ने हुन्छ। समयमै उपचार गरे यसको नकारात्मक असरबाट बच्न सकिन्छ ।

दमको उपचार समयमै नगरे शरीरको अरु अंगहरूमा नकारात्मक असर पर्छ। जस्तै मुटुको आकार ठूलो हुनु, रगत बाक्लो हुनु अथवा जम्नु, हात काम्नु र टाउको दुख्नु जस्ता समस्या बढ्दै जान्छन्। यो रोगबाट प्रभावितले आफ्नो कार्य गर्न नसक्नु र अरुमाथि निर्भर रहनुपर्छ। फलस्वरूप ‘डिप्रेसन’को सम्भावना पनि हुन्छ।

यो रोगबाट बच्ने प्रमुख उपाय धूमपान नगर्नु नै हो। धुवाँ हुने चुल्होमा खाना नपकाउने, प्रदूषणबाट बच्नेलगायत गरेर पनि यो रोगबाट बच्न सकिन्छ। नियमित व्यायाम गर्ने, खाना थोरै खाने तर पटक पटक खाइरहने र इनर्जिटिक खाना खाने गर्नुपर्छ।

यसैगरी नियमित रूपमा स्वास्थ्य परीक्षण गराइरहनुपर्छ। दमको रोगीले डाक्टरको सल्लाहअनुसार नियमित औषधि सेवन गर्ने, भ्याक्सिन लगाउने गर्नुपर्छ। (आर्काइभबाट)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या