Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘मधुमेहका बिरामीले निराहार व्रत बस्न हुँदैन्’

‘मधुमेहका बिरामीले निराहार व्रत बस्न हुँदैन्’

हेल्थ टिभी अनलाइन : आज हरितालिका तीज अर्थात महिलाहरुको महान पर्व । हरितालिका तीजका दिन पानी पनि नखाएर व्रत बस्ने प्रचलन छ । तर केही यस्ता रोगहरु छन् जसमा यसरी व्रत बस्दा व्रतालुलाई जोखिम मात्र होइन ज्यानै समेत जानसक्छ । त्यसमध्येको एक रोग हो । मधुमेह अर्थात चिनी रोग । रगतमा चिनीको मात्रा बढी भएमा त्यसलाई चिनी रोग भनिन्छ । मधुमेहका बिरामीका लागि औषधि जति महत्वपूर्ण हुन्छ त्यसैगरी खानपान पनि महत्वपूर्ण हुन्छ । खानपानमा तलमाथि भएमा सुगरको लेबल कम वा बढी भएर ज्यानै तलमाथि हुनसक्छ । त्यसैले यस्ता बिरामीले आफनो अवस्थालाई ध्यानमा राखेर मात्र व्रत बस्ने वा चाडबाड मनाउने गर्नुपर्छ ।

व्रत बस्दा हाम्रो शरीरको पाचन प्रक्रियामा निकै परिवर्तन आउँछ । एउटा रुटिनमा रहेका मधुमेह भएका बिरामीलाई व्रतले तुरुन्त र पछिसम्म नकारात्मक असर गर्न सक्छ । त्यसैले मधुमेहका बिरामीले निराहार (पानी पनि नपिएर) व्रत बस्न हुँदैन ।

ज्यान रहे मात्र अन्य कुरा गर्न सकिन्छ । त्यसैले आफनो स्वास्थ्यभन्दा ठूलो व्रत हुन सक्दैन भन्ने कुरा बुझेर चाडबाड मनाउने योजना गर्दा राम्रो हुन्छ । इन्सुलिन लिइरहेका बिरामीले त व्रत कुनै पनि हालतमा बस्नै हुँदैन । मधुेमह नियन्त्रणका लागि औषधि सेवन गरिरहेका बिरामीले पनि निराहार व्रत होइन पानी प्रसस्त पिउने तथा फलफूल खाएर व्रत बसेको राम्रो । केही पनि नखाँदा एक्कासी सुगर लेबल घटेर बिरामी बेहोस हुने सम्भावना हुन्छ । अथवा व्रत तोडेर एक्कासी धेरै खाँदा सुगर लेबल बढेर समस्या गराउन सक्छ ।
यसैपनि मधुमेहका बिरामीको खानाको एउटा अनुशासित रुटिन हुनुपर्छ । अन्यथा सुगर लेबल नियन्त्रण हुन सक्दैन । चाडबाडका बेला आफू खुशी खाने वा व्रत बस्ने गर्नु आफनै ज्यान जोखिममा राख्नु हुनजान्छ । यदि व्रत बस्ने योजना छ भने पनि आफनो चिकित्सकसँग सल्लाह लिई कसरी व्रत गर्ने भन्ने सोध्न सकिन्छ । पानी विनाको व्रत त मधुमेहीले बस्न नै हुँदैन । यसका साथै व्रत बस्नु अघि आफनो सुगर लेबल कति छ ? सोको अनुगमन गर्न जरुरी हुन्छ । औषधिको सेवन कसरी गर्ने कसरी मात्रा मिलाउने खाना खाएर खानुपर्ने औषधि कसरी खाने जस्ता कुरा आफनो चिकित्सकलाई सोध्दा जोखिमबाट बच्न सकिन्छ । यदि यताउता गइएको छ भने आफनो साथमा औषधि बोकेर जान बिर्सन हुँदैन ।

मधुमेहका बिरामीले चाडबाड त हो भनेर दर खाने नाममा अनेकौं थरी खानेकुरा खान मिल्दैन । यसरी एकदिन त होनि भनेर खाँदा यसले सुगर लेबल बढाएर ठूलो समस्या निम्त्याउन सक्छ । त्यसैले आफनो रोगको ख्याल गर्दै ठिक्क मात्रामा आफूलाई सहन हुने गरी खानेकुरा खानुपर्छ । माइतीले पनि छोरी चेलीलाई वर्षमा एक दिन त हो नि  भन्दै जर्बजस्ती खाना खुवाउनु भएन । यसले दीर्घ असर पुराउँछ भन्ने कुरा बुझिदिनुपर्छ ।

तीज पर्व महिलाहरुमा केन्द्रित छ । खाना धेरै खाने वा संस्कृति जोगाउने नाममा निराहार व्रत बस्ने भन्दा पनि आफू कसरी रमाउने, मन प्रफुल्लित हुने काम गर्न सकिन्छ । दिदीबहिनी मिलेर रमाइलो कुरा गर्ने, गित गाउने, नाच्ने गर्दा मन आनन्दित हुनसक्छ ।

तीज मनाऔं तर आफनो ज्यान जोखिममा राखेर चाहिं होइन । सबै जनाको तीज सुखमय होस्। तीजको धेरै शुभकामना !

  • डा. ज्योति भट्टराई

    हर्मोन रोग विशेषज्ञ डा.भट्टराई मेट्रो काठमाडौं अस्पतालमा कार्यरत छिन्।