Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोना भाइरस संक्रमण : नआत्तिऔँ, सरसफाइमा ध्यान दिऔँ

नेपालमा कोरोना भाइरस संक्रमण : नआत्तिऔँ, सरसफाइमा ध्यान दिऔँ

हेल्थ टिभी अनलाइन\काठमाडाैं : यतिखेर चीन मात्र होइन कोरोनासँग विश्व नै त्रासमा परेको अवस्था छ। कोरोनाका कारणले चीनमा तीन हजारभन्दा बढीको मृत्यु भइसेको छ भने दक्षिण कोरिया र इटलीमा पनि यो द्रुत गतिमा फैलिएको छ। त्यसो त हालसम्म ६४ देशमा यसको संक्रमण फैलिसकेको छ।

नेपालमा पनि मानिसहरू असाध्यै त्रसित बनेको अवस्था हामीले देखेका छौँ। तर डराएर मात्र समस्या समाधान हुँदैन। यसबारेमा बुझ्ने र बच्नका लागि उपाय अवलम्बन गर्नेतर्फ लाग्नुपर्छ।

पहिलो कुरा त कोरोना भाइरस नेपालमा भित्रिसकेको अवस्था होइन। एकजनामा संक्रमण देखिएको थियो। अध्ययन गर्दा निष्क्रिय किसिमको भाइरस पाइएको थियो। केही दिनको उपचारपछि उनी घर फर्किए।

कोरोना हुँदैमा मरिहालिन्छ भन्ने भ्रम छ। यो वास्तविकता होइन। कोरोना भाइरसबाट हुने मृत्युदर जम्मा ३ प्रतिशत छ। त्यसैले धेरै त्रासमा बस्न जरुरी छैन। त्यो ३ प्रतिशत पनि ६० काटेका बुढाबुढी, मुटुरोग, दमको समस्या, मधुमेह, पहिलेदेखि बिरामी, रोगसँग लड्नसक्ने क्षमता कम भएकाहरूमा यो संक्रमण हुने सम्भावना बढी हुन्छ।

सबैभन्दा महत्त्वपूण कुरा हल्लाको पछि लाग्नुको सट्टा यसबाट जोगिन के गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्छ। यसबाट जोगिने पहिलो उपाय भनेकै आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिने हो।

हात कहिले कानतिर लग्ने, कहिले नाकतिर लग्ने, छेउछाउमा छोइरहने बानी छ भने यसलाई छाड्नैपर्छ। जति धेरै शरीरको यताउता छोइन्छ, त्यसमा भएका किटाणु हातमा टाँसिन्छन्। केही सामान छोएपछि साबुन पानीले मिचीमिची हात धुनु जरुरी छ। यसले गर्दा किटाणु हातमा बस्न पाउँदैनन्।

भेट्दा र छुट्दा हात मिलाउने चलन छ। तर यो बानी राम्रो होइन। कोरोना सर्छ भनेर मात्र होइन, अन्य समयमा पनि उपयुक्त छैन। अर्को व्यक्ति के छोएको हुन्छ, हात कहाँ कहाँ लगेको हुन्छ, थाहा हुँदैन। हात मिलाउने क्रममा एउटामा भएको अर्काकोमा सर्न सक्छ। त्यसैले आजैबाट हात मिलाउन छोडौं।

त्यसैगरी कसैलाई रुघाखोकी लागेको छ भने उसको नजिक नजाऔँ। मास्क अनिवार्य प्रयोग गरौँ। काँचो खानेकुरा सकेसम्म नखाऔँ।

सबैभन्दा महत्त्वपूर्ण कुरा कोरोनाले फोक्सोमा असर गर्ने हो। त्यसैले बुढाबुढीलाई निमोनियाविरुद्धको निमोकोकल भ्याक्सिन दिने गरौंँ। अन्य व्यक्तिले पनि इन्फ्लुयन्जाविरुद्धको भ्याक्सिन लिऔँ।

यदि रोग आइहालेमा पनि स्वास्थ्य मन्त्रालयले उपचारका लागि ४३ वटा ‘आइसोलेसन बेड’ छुट्याइसकेको छ। हब र स्टाटलाइट अस्पताल तयारी अवस्थामा छन्। आत्तिइहाल्नुपर्ने अवस्था छैन। तर सचेत हुनैपर्छ।

चीनमा र इटलीमा बाहेक व्यक्तिबाट व्यक्तिमा यो भाइरस सरेको पाइएको छैन। त्यसैले सरसफाइमा ध्यान दिऔँ। नआत्तिऔँ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार