Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

ब्रेन स्ट्रोक : बिरामीलाई जतिसक्दो चाँडो पुर्‍याउनुपर्छ अस्पताल (भिडियोसहित)

ब्रेन स्ट्रोक : बिरामीलाई जतिसक्दो चाँडो पुर्‍याउनुपर्छ अस्पताल (भिडियोसहित)

मानिसको दिमागमा रगत सञ्चालनमा कुनै न कुनै समस्या आएमा ‘स्ट्रोक’ हुन्छ। यसलाई नेपालीमा मष्तिष्काघात भन्ने गरिन्छ। जसरी मुटुमा रगत सञ्चालनमा समस्या आएमा हृदयाघात हुन्छ त्यसैगरी दिमागमा रगत सञ्चालन राम्ररी हुन सकेन वा अवरोध भयो भने स्ट्रोक वा ब्रेन अट्याक हुन्छ।

हाम्रो शरीरको महत्त्वपूर्ण अंग दिमाग यति संवेदनशील छ कि एक सेकेण्ड पनि रक्तसञ्चार अवरुद्ध भएमा यसमा असर देखिन थाल्छ। स्ट्रोक दुई किसिमले हुन्छ। पहिलो दिमागमा रक्तनली ब्लक भएर रक्तसञ्चार नभएर र अर्को दिमागभित्रै नसा फुटेर रक्तश्राव भएर। यी दुवै अवस्थाका बिरामीलाई समयमै अस्पताल पुर्याउन सके धेरै क्षति हुनबाट बचाउन सकिन्छ ।

लक्षण

अचानक मुख बांगो हुँदै जानु

आँखा धमिलो देखिन थाल्नु

बोली लर्बरिनुु

शरीर धान्न नसक्नु

शरीरको एकापट्टि लुलो हुनु।

अचानक रूपमा यस्ता लक्षण देखिएमा बिरामीलाई तुरुन्त अस्पताल लैजानुपर्छ। किनकी स्ट्रोकको उपचारमा एक मिनेटले पनि फरक पार्छ। जतिसक्दो अस्पताल छिटो लैजाँदा परिणाम राम्रो आउँछ।त्यसैले पनि स्ट्रोकको उपचारमा समयको असाध्यै ठुलो भूमिका हुन्छ ।

नेपालमा स्ट्रोकका बिरामी कति छन भन्ने एकिन तथ्यांक त छैन तर बर्सेनि ५० हजारको हाराहारीमा मानिसलाई स्ट्रोक हुने अनुमान गरिएको छ । तीमध्ये १५ हजारजति मृत्युको शिकार हुन्छन्। समयमै अस्पताल ल्याउन सके ती बिरामीको ज्यान बचाउन सकिन्छ। संसारभर नै व्यक्तिलाई अपांग बनाउने प्रमुख कारण स्ट्रोकलाई मानिन्छ। त्यसो त नेपालमा मानिसको मृत्युको तेस्रो प्रमुख कारणमा पर्छ स्ट्रोक।

मधुमेह भएका, उच्च रक्तचाप भएका, बढी मोटा व्यक्ति, शारीरिक व्यायाम नगर्ने, एकपटक स्ट्रोक भइसेको व्यक्तिलाई यसको खतरा अझ बढी हुन्छ। यसबाहेक धूमपान तथा मद्यपान गर्ने व्यक्तिलाई पनि स्ट्रोक हुने सम्भावना बढी हुन्छ। यस्ता व्यक्तिले आफू स्ट्रोकको खतरामा रहेको बुझ्नुपर्छ।

कस्ता व्यक्तिलाई हुन्छ?

स्ट्रोक जोकोहीलाई पनि हुनसक्छ। तर मधुमेह भएका, उच्च रक्तचाप भएका, बढी मोटा व्यक्ति, शारीरिक व्यायाम नगर्ने, एकपटक स्ट्रोक भइसेको व्यक्तिलाई यसको खतरा अझ बढी हुन्छ। यसबाहेक धूमपान तथा मद्यपान गर्ने व्यक्तिलाई पनि स्ट्रोक हुने सम्भावना बढी हुन्छ। यस्ता व्यक्तिले आफू स्ट्रोकको खतरामा रहेको बुझ्नुपर्छ। बढी ख्याल गर्नुपर्छ।

उपचार

नेपालमा दुवै प्रकारको स्ट्रोकको उपचार सम्भव छ। दिमागमा रक्तनली ‘ब्लक’ भएको होस् या रत्तश्राव दुवैको उपचार यहाँका धेरैजसो अस्पतालमा गरिन्छ। रगत जम्ने वा ‘क्लट’का लागि रगत पगाल्ने औषधि दिइन्छ। यो जति सक्दो चाँडो गर्नुपर्छ। जति चाँडो उपचार शुरु गरियो त्यति नै दिमागका सेल मर्नबाट जोगाउन सकिन्छ। भनिन्छ स्ट्रोककमा एक मिनेट मात्रै ढिला हुँदा २० लाख सेल मर्छन्।

सामान्यतया स्ट्रोक भएको दुई घण्टाभित्र अस्पताल लगियो भने बिरामीलाई छिटो निको बनाउन सकिन्छ। दुई घण्टाभित्र आएका ९० प्रतिशत बिरामी उपचारपछि आफ्नो काम आफैँ गर्न सक्ने हुन्छन्। थ्रोम्बोलाइसिस नामक औषधि समयमै दिन सकियो भने बिरामीलाई आफ्नो काम आफैँ गर्न सक्ने बनाउन सकिन्छ।

अर्को रगत नलीबाट मसिनो तार छिराएर रगत निकाल्ने गरिन्छ। यो सेवा नेपालमा केही अस्पतालमा मात्र छन्। यसका लागि दक्ष जनशक्ति चाहिन्छ र केही महँगो पनि छ। त्यसैर्ले सबै बिरामीले धान्न सक्दैनन्।

जनचेतना कम छ

नेपालमा स्ट्रोकबारे जनचेतना कम भएकै कारण धेरैले ज्यान गुमाउने गरेका छन्। धेरैले अपांग बनी अरुको सहारामा बाँच्नुपर्ने अवस्था छ। यसबारे जनचेतना बढाउन सरकारले पनि केही कदम चाल्नैपर्छ। बालमृत्य र मातृमृत्युदरमा जसरी सरकारले कार्यक्रम ल्याएको छ, स्ट्रोकका लागि पनि यस्ता खालका कार्यक्रम नल्याएसम्म यसबाट हुने मृत्यु कम गर्न सकिँदैन।

विदेशमा स्ट्रोकका लागि प्री हस्पिटल केयरको सुविधा हुन्छ। फोन गर्नेवित्तिकै दक्ष जनशक्तिसहितको एम्बुलेन्स केही मिनेटमै आइपुग्छ। यसकारण उनीहरूकोमा मृत्युदर कम छ। तर हामीकहाँ यस्तो सुविधा छैन। त्यसैले ‘प्रोटोकल’ बनाउनुपर्छ, स्ट्रोकको बिरामी आएपछि के कस्ता उपचारबाट शुरु गर्ने भन्ने। सरकारले यस्ता कुरामा ध्यान दिन जरुरी छ। उपचार पद्धति मात्र भएर हुँदैन, उपचार गर्न छिटो अस्पताल जानुपर्छ भन्ने चेतना नभएसम्म यसमा सुधार ल्याउन गाह्रो छ।

बच्न के गर्ने?

माथि भनेजस्तै ‘रिस्क फ्याक्टर’ भएका व्यक्तिले विशेष ख्याल गर्नुपर्छ। मधुमेह छ भने यसलाई नियमित डाक्टरको सल्लाहमा बस्दै नियन्त्रणमा राख्ने, उच्च रक्तचाप भएमा औषधि सेवन गरेर कम गर्ने, धूमपान मद्यपान त्याग्ने र नियमित शारीरिक व्यायाम गर्ने गर्नुपर्छ। यसका साथै स्ट्रोक भइहालेमा जतिसक्दो चाँडो अस्पताल पुग्नुपर्छ।

थप समाचार