धेरै चुनौती छन् नर्सिङ पेशामा

धेरै चुनौती छन् नर्सिङ पेशामा

स्याङ्जाकी खुस्बु आले मगर महाराजगञ्जस्थित मेट्रो काठमाडौं अस्पतालमा ओपीडीमा नर्स इञ्चार्ज छिन्। यसपालिको नर्सको कुरामा उनै खुस्बुका कुरा उनकै शब्दमा–

सानैदेखि दुःखी असहायलाई सहयोग गर्ने भावना हुन्थ्यो। अस्पतालमा नर्सले बिरामीको सेवा गरेको देख्दा म पनि ठूलो भएपछि यस्तै बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। संयोगले बुबाले पनि ‘छोरीलाई नर्स पढाउछुँ’ भनिरहनुहन्थ्यो। यिनै कुराले मलाई नर्स बन्न प्रेरणा दियो।

काठमाडौंस्थित न्यु नलेज अंग्रेजी स्कुलबाट विद्यालय तहको पढाइ पूरा गरेपछि २०६९ सालमा गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नर्सिङ पढ्न थालेँ। रुचिको विषय भएकाले उत्साहका साथ नर्सिङ पढ्न शुरु गरेँ। तेस्रो वर्षमा पढ्दै गर्दा २०७२ को वैशाख १२ गतेको याद आउँछ। क्याम्पसको पाँचौ तलामा ‘लिडरसिप म्यानेजमेन्ट’ पढ्दै थियौँ। भूकम्पले हल्लाउन छाड्नेवित्तिकै बिरामीलाई बोकेर तल लग्ने काममा लाग्यौँ। वेला वेलाको परकम्पले डर त लागिरहेकै थियो तर कर्तव्य पनि पूरा गर्नैपर्ने थियो।

पीसीएल नर्सिङ सकेपछि ७२ सालमै मैले अल नेपाल अस्पतालमा तीन महिना इन्टर्नसिप गरेँ। त्यसपछि ओजस्वी क्लिनिकमा डेढ वर्ष काम गरेँ। अहिले मेट्रो अस्पतालमा कार्यरत छु।

नर्सिङ विषय पढ्न र यो पेशामा लाग्न मेरो परिवारको साथ पाएकोले गर्दा आज म यहाँसम्म आइपुगेकी छु। यो पेशामा रहँदा मलाई गर्व लाग्छ। अस्पतालमा बिरामी विभिन्न समस्या लिएर आउँछन्। कतिपय बिरामीलाई सजिलै बुझाउन सकिन्छ भने कतिलाई बुझाउन निकै कठिन हुन्छ। धेरैले हामीलाई दिदीबहिनी र छोरीजस्तै व्यवहार गर्छन् भने कसैकसैले नराम्रो व्यवहार गर्छन्। जेजस्तो भए पनि हाम्रो कर्तव्य उनीहरूको सेवा गर्ने नै हो। त्यसैले उनीहरूले नबुझेका कुरा राम्ररी सम्झाएर प्रष्ट पारिदिन्छौँ।

म कार्यरत मेट्रो अस्पताल दीर्घरोग भएका बिरामीहरू उपचार गर्ने अस्पताल हो। मैले जिम्मेवारी पाएको बहिरंग विभाग (ओपीडी)मा बिरामी स्वास्थ्य परीक्षण र परामर्शका लागि आउँछन्। हाम्रो सेवाले बिरामी निको भई हाँसीखुशी घर फर्किएको पल साह्रै खुशी हुन्छु। हामीले सबैलाई गर्ने उपचार र सेवा त उही हो। कहिलेकाहीँ अप्रत्यासित घटनाको सामना गर्नुपर्छ। धेरै प्रयासका बाबजुत उपचार सफल नभएको देख्दा दुःख लाग्छ।

अस्पताल भनेको डाक्टर र नर्सको सहकार्यमा चल्ने संस्था हो। यी दुईबीच सानो ‘ग्याप’ रह्यो भने पनि बिरामीको उपचारमा असर पर्छ। उनीहरूले सहज रूपमा उपचार पाउँदैन। यसले अस्पतालको साख त घट्छ नै यहाँ कार्यरत डाक्टर र नर्सको कार्यक्षमतामाथि पनि प्रश्न उठ्छ।

ओपीडी विभागमा कार्यरत भएकाले डाक्टरको ‘प्रेस्किप्सन’ बिरामीलाई राम्रोसँग बुझाएर पठाउनु मेरो धर्म हो। औषधिको मात्रा, खाने समय र अपनाउनुपर्ने सावधानी बुझाएर पठाउने गरेकी छु।

पछिल्लो समय नर्सिङ पेशामा आकर्षण बढेको छ। यो राम्रो हो। सेवा गरेर कसैको जीवन बचाउने काम साधारण होइन। तर यसमा चुनौती पनि धेरै छन्। नर्स बन्नका लागि धैर्य, त्याग, सेवाभाव, सरलता र मिठो बोली आदि आवश्यक पर्ने रहेछ। नर्सिङ पेशामा चार वर्षमा सिकेको कुरा यही हो।

प्रस्तुति: अशिम सापकोटा