Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमै हुने ‘टेस्ट’हरू किन बाहिर पठाउने?

नेपालमै हुने ‘टेस्ट’हरू किन बाहिर पठाउने?

नेपालले पछिल्लो समय मेडिकल क्षेत्रले निकै फड्को मारिसकेको छ। सुविधासम्पन्न अस्पतालदेखि गुणस्तरीय ल्याबसम्म खुलिरहेका छन्। यसका कारण धेरै उपचार र जाँच अब नेपालमै सम्भव भइसकेका छन्। यति हुँदाहुँदै पनि केही बिरामीको चाहनाले उपचारका लागि बाहिर जानु स्वभाविक नै मानिन्छ। तर नेपालमै सम्भव हुने विभिन्न ‘टेस्ट’हरू भने अझै पनि बाहिर जानबाट रोक्न सकिएको छैन।

उदाहरणका लागि ठूलो टेस्टमा जानै पर्दैन। थाइराइड टेस्ट आजभोलि अधिकांश ल्याबले गर्छन्। तर त्यही टेस्टका लागि अझै पनि रगत संकलन गरेर बाहिर पठाइन्छ। यो असाध्यै दुःखद कुरा हो। हाम्रै देशमा यो सम्भव हुँदाहुँदै पनि किन अन्य देश पठाउनुपर्यो। त्यो टेस्ट नेपालमै गर्दा कुनै नेपालीले खोलेको ल्याब ‘सस्टेन’ हुने हो। यो तहबाट हामीले सोच्नै सकेका छैनौँ।

अर्को कुरा रगत संकलन गरेर अर्को देशमा टेस्टका लागि पठाउँदा कस्तो ठाउँमा राखिन्छ त्यहाँ पुग्दासम्म त्यसको गुणस्तर आदिको पनि प्रश्न आउँछ। टेस्टको रिपोर्ट कस्तो आउने भन्ने धेरै कुरामा निर्भर रहन्छ। त्यसैले त्यो संवेदनशिलतालाई कत्तिको ख्याल गरिन्छ, सोचनीय विषय हो।

नेपालमै टेस्ट गर्दा हामी बिरामीलाई के भएको हो, लक्षण के छन्, यसअघि के भएको थियो लगायत सोधेर टेस्ट गर्न सक्छौँ, जुन तुरुन्त हुन्छ। नेपालमै गरिएको टेस्टको रिपोर्ट स्वभाविक रूपमा छिटो पनि आउँछ। रिपोर्टका आधारमा बिरामीले छिटो निर्णय लिन सक्छन्। तर अन्य देशमा टेस्ट गर्न रगत पठाउँदा एक त समय लाग्छ, अर्को कुरा बिरामीको रगत कसले लिएको हो, कसले बिरामी हेर्योलगायत कुरा यी कुरा गौण बन्छन्। संकलित रगत मात्र हेरिन्छ। योसँगै रिपोर्टमा केही शंका लागेमा पुनः टेस्ट गर्न पनि असम्भव वा निकै ढिला हुन्छ। तर नेपालमै टेस्ट गरेर केही शंका लागेमा बिरामीलाई पुनः बोलाएर टेस्ट गर्न सकिन्छ। अर्थात् क्रस चेक गर्न सकिन्छ।

रगत संकलन गरेर अर्को देशमा टेस्टका लागि पठाउँदा कस्तो ठाउँमा राखिन्छ त्यहाँ पुग्दासम्म त्यसको गुणस्तर आदिको पनि प्रश्न आउँछ। टेस्टको रिपोर्ट कस्तो आउने भन्ने धेरै कुरामा निर्भर रहन्छ। त्यसैले त्यो संवेदनशिलतालाई कत्तिको ख्याल गरिन्छ, सोचनीय विषय हो।

अन्य देशमा यस्ता टेस्ट गर्दा आफ्ना नागरिकको ‘मिडियन’ बनाएर टेस्ट गरिन्छ। तर हामी सबैको मिडियन उनीहरूसँग म्याच नहुन सक्छ। उनीहरुको जीवनशैली, खानपान, दैनिकी हाम्रो भन्दा फरक हुन्छ, जसका कारण त्यही मिडियन प्रयोग गर्दा हामीमा शतप्रतिशत नमिल्न सक्छ। यो कुरा बिरामीले बुझ्न सक्दैनन्। हामी मेडिकल पर्सनले ख्याल गर्नैपर्छ।

नेपालमै भएका ल्याबहरूले समन्वय गर्न नसक्नुका कारण धेरै टेस्ट बाहिर गइरहेका छन्। यसलाई रोक्न अब भने हामीले केही गर्ने बेला आएको छ। सरकारले पनि ‘बोल्ड’ निर्णय लिएर नेपालमा हुने टेस्ट बाहिर पठाउन नपाइने नियम ल्याउनुपर्छ। यसले बिरामीकै हितमा काम गर्छ।

बिरामीको सही रिपोर्ट पाउने र सोही बमोजिम उपचार पाउने अधिकार हो। साधारणभाषामा नेपालमा हुने टेस्ट नेपालमै हुनुपर्छ भन्ने नै हो। यो नियन्त्रण भएन भने नेपालमा भएका ल्याब ‘कलेक्सन सेन्टर’ बन्न पुग्छन्।

यो कुरा नेपालका ल्याबहरूले पनि विचार गर्नुपर्छ। यहाँ सम्भव भएका टेस्टहरु एक अर्कासँग समन्वय गरी यहीँ गराउने वातावरण सिर्जना गर्नुपर्छ। यसले गर्दा नेपालको पैसा नेपालमै रहन्छ। बाहिरिन पाउँदैन। ल्याब सञ्चालन हुन पनि कुनै समस्या हुँदैन। एउटाको ल्याबमा नहुने टेस्ट नेपालकै अर्को ल्याबमा त हुनसक्छ। समन्वय गरी त्यहाँ पठाउन सकिन्छ। त्यसका लागि ल्याब सञ्चालन गर्नेहरूबीचसहकार्यको भावना हुनुपर्छ।

म वीर अस्पतालमा काम गर्छु। त्यसअलावा मेरो आफ्नै ‘जेनेटिक’ रिसर्च ल्याब छ। मेरो रिसर्च ल्याबमा हुने अधिकांश टेस्ट अहिले पनि भारतलगायत देशमा पठाइन्छ। पहिले जेनेटिक धेरै टेस्ट नेपालमा हुँदैनथ्यो। त्यसैले बाहिर पठाउनुको विकल्प थिएन। त्यसैले मैले नै कति पठाएँ। तर अब नेपालमै सम्भव छ भने किन बाहिर पठाउने भन्ने मेरो प्रश्न हो।

यसको मतलब सबै टेस्ट मेरै ल्याबमा पठाउनु भनेको पनि हैन। मेरो प्रश्न नेपालका ल्याबहरूले गर्ने टेस्टका लागि किन बाहिर पठाउने भन्ने मात्र हो। यसमा विश्वसनीयताको पनि कुरा आउँछ। यसरी मानिसको रगत बाहिर पठाउनु आफैँमा संवेदनशील विषय हो। त्यसको ‘मिसयुज’ भयो भने को जिम्मेवार हुने? अर्को कुरा नेपालभित्रै जाँच गर्दा केही शंका लागेमा पुनः जाँच गर्न सकिन्छ। यस्ता धेरै टेस्टको रिपार्ट लिएर मकहाँ बिरामी आउँछन्, जसको बारेमा के बुझ्ने भन्नेमा म अलमलमा पर्छु। आधा लेखिएको रिपोर्ट हेरेर बिरामीलाई के सल्लाह दिने? फेरि टेस्ट गराउनुस् भनुँ, महंगो शुल्क तिरेर टेस्ट गरिसकेका हुन्छन्। ज्यादै अप्ठेरो स्थिति हुन्छ।

जसरी नेपालमा हुनसक्ने उपचार नेपालमै गराऊँ भनिन्छ त्यसैगरी बिरामीको सही र समयमै उपचार गर्न पाउने अधिकारको सुनिश्चितताका लागि पनि नेपालमा हुने टेस्टहरू यहीँ गराऊँ भन्न चाहन्छु।

थप समाचार