Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जन्मदिनमा केक काट्ने चलन संस्कृति र स्वास्थ्य दुवैका लागि हानिकारक (भिडियाेसहित)

जन्मदिनमा केक काट्ने चलन संस्कृति र स्वास्थ्य दुवैका लागि हानिकारक (भिडियाेसहित)

हाम्रो पूर्वीय संस्कृतिमा जन्मदिनलाई विशेष दिन मानिन्छ। यो दिन शुभकार्य गरेर स्वस्थ रहने, दीर्घायु प्राप्त गर्ने आशीर्वाद लिइन्छ। दियो बाल्ने, अष्टचिरञ्जीवीको पूजा गर्ने, मन्दिर जाने र आमाबुबा तथा अन्य मान्यजनको आशीर्वाद लिनेजस्ता कार्य गरेर मनाइन्छ।

जन्मदिनको दिन वृद्धाश्रममा पुगेर वृद्धवृद्धालाई खानेकुरा वा लुगाफाटो बाँड्ने, दुःखी–गरिबलाई खुवाउने, घरमै वा सार्वजनिक स्थानमा फलफूलका बिरुवा रोप्ने जस्ता परोपकार र वातावरणमैत्री काम गर्ने हाम्रो संस्कार हो। यस्तै जन्मदिनका दिन घरमै खिर, हलुवा, लड्डु, मिठाइजस्ता पदार्थ खाने र आफ्नालाई खुवाउने पनि हाम्रो संस्कृति हो।

पश्चिमा संस्कृतिको अनुकरण गर्दै पहिले पहिले नेपालमा धनाढ्यहरूले जन्मदिनमा केक काटेर पार्टी गर्थे। तर अचेल अधिकांशको घरमा यो चलन पुगिसकेको छ। एक वर्ष पुगेका बच्चादेखि वृद्धवृद्धासमेतको जन्मदिन मनाइदिने (बर्थडे सेलेब्रेसन) चलन आएको छ, केक काटेर। अचेल जन्मदिनमा मात्र होइन विवाह वर्षगाँठ (म्यारिज एनिभर्सरी), संघसंस्थाको वार्षिकोत्सवलगायत अवसरमा केक काट्ने चलन मौलाएको छ। अचेल त हाम्रा नेताहरूले समेत केक काटेर जन्मदिन मनाएको रमाइलो दृश्य देख्न पाइन्छ, टेलिभिजन र युट्युबमा।

जन्मदिनमा पश्चिमाको अनुकरण गर्दै मनाइने बर्थडेले मानिसको स्वास्थ्य मात्र होइन, मस्तिष्क पनि ध्वस्त पारेको छ। हो, पश्चिमा जगतको नक्कल गर्नुपर्छ, तर राम्रा कुराको। स्वस्थ रहन उनीहरूले दिएको ज्ञानको ‘फलो’ हामीले गर्नैपर्छ। तर आफ्नै समाजमा भएको भरिपूर्ण संस्कृति मेटाएर मानिसको स्वास्थ्य र देशको संस्कृतिलाई हानि पुर्याउने काम कुनै पनि अर्थले राम्रो मान्न सकिँदैन।

पहिलेपहिले जन्मदिन वा कुनै पनि शुभअवसरमा आफ्नै घरमा बनाएका परिकार खाने चलन थियो, जुन स्वास्थ्यका दृष्टिले हितकर थियो। तर अचेल जुनसुकै चाडपर्व वा शुभकर्ममा बाहिरकै परिकार (केक, मिठाइजस्ता)लाई महत्त्व दिइन्छ। अझ अहिले त घरमा नभई रेस्टुरेन्ट वा पार्टी प्यालेसमा पार्टी गर्ने चलन आएको छ। यसबाट एकातिर मानिसको सिर्जनशीलता मर्दैछ, अर्कोतिर रेस्टुरेन्ट र पार्टी प्यालेसका अस्वस्थकर खानेकुराले मानिसलाई दिनप्रतिदिन अस्वस्थ बनाइरहेको छ।

जन्मदिन, विवाह वर्षगाँठमा काटिने केककै कुरा गरौँ। यो कुनै पनि दृष्टिले स्वस्थकर छैन। बजारबाट ल्याएको केक देख्दा मात्रै आकर्षक हुने हो। प्रयोग भएका सामग्री (कच्चा पदार्थ) र बनाउने तरिका नै स्वस्थकर हुँदैनन्। मैदा, चिनी, क्रिम बनाउन प्रयोग हुने पदार्थ स्वास्थ्यका लागि ठीक होइनन्। यसमा प्रयोग हुने गुलियोले बालकदेखि प्रौढसम्मको स्वास्थ्यलाई हानि गर्छ। त्यो कसरी बन्छ? के के हालिन्छ भन्ने हामी देख्दैनौँ। बनाएर फूलबुट्टा भरेर जन्मदिन मनाउनेको नाम लेखेपछि मात्र हाम्रो हातमा पर्छ।

पहिले पहिले केक काट्दा वरिपरि बत्ती बालेर मुखले फुकेर निभाउने चलन थियो। अचेल केक काट्ने वेलामा एक किसिमको झिरझिरे बत्ती (बर्थडे स्पार्कलर्स) बाल्ने चलन आएको छ। त्यो बिस्तारै माथि पुग्छ र घट्दै घट्दै केहीबेरमा निभ्छ। यसैगरी केक काट्ने समयमा ‘स्नो स्प्रे’ नामको रसायन छर्किने चलन पनि छ। झिरझिरे बत्त्ती एक्कासी माथि पुग्दा र बिस्तारै निभ्दै गर्दा निस्किने तथा स्प्रेको रसायन पर्दा केक झनै प्रदूषित बन्छ। आँखाले नदेखिने हानिकारक कणहरू केकमा पर्छन्। यस्तो केक खाँदा  विशेषगरी बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पार्छ। सुस्वास्थ्य र दीर्घायुको कामना गर्दैगर्दा हामीले खाने पदार्थ नै अस्वस्थकर भएपछि आशीर्वादको के अर्थ!

हामीले हाम्रा छोराछोरीलाई कस्तो बनाउने? सानैदेखि अनि अर्को कुरा घरमै आफ्नो हातले बनाएका स्वस्थकर खानेकुरा खुवाएर उनीहरूलाई स्वस्थ्य बनाउने कि बजारका खानेकुरा खुवाएर सानैमा अस्वस्थ? यहाँनेर स्वास्थ्य मात्र नभएर शिक्षा र संस्कारको पनि कुरा छ। उनीहरूलाई के सिकाउने?

बत्ती (दीप) बालेर उज्यालो पारेर ‘ऊजस्तै निरन्तर बलिरहुँ’ भन्ने भावनाले मनाउनुपर्ने जन्मदिन अचेल बत्ती निभाएर मनाइन्छ। जन्मदिनमा ‘अब मेराे बाटाे अँध्याराे हाेस् भन्न खाेजेकाे पाे देखियाे। यस्तो देख्दा उनीहरूको मनमस्तिष्कमा ‘जन्मदिन भनेको बत्ती निभाएर केक काट्ने अवसर हो’ भन्ने बस्छ। जन्मदिनमा अस्वस्थकर खानेकुरा खानुपर्ने रहेछ भन्ने लाग्नसक्छ।

घरमै परिकार बनाएर खाँदा स्वस्थ्य होइने पक्ष त छँदैछ, त्यसबाट उनीहरूले सिक्ने सिपको पनि महत्त्व छ। परनिर्भरबाट आत्मनिर्भर बनाउने कुरा छ। जन्मदिन मनाउँदा साथीभाइलाई चकलेटको साटो स्वास्थ्यलाई फाइदा गर्ने खानेकुरा– बदाम, छोकडा, किसमिस जस्ता ‘ड्राइ फ्रुट्स’  बाँड्नु राम्रो हो।

म त भन्छु, जन्मदिनमा पश्चिमाको अनुकरण गर्दै मनाइने बर्थडेले मानिसको स्वास्थ्य मात्र होइन, मस्तिष्क पनि ध्वस्त पारेको छ। जन्मदिनमा हामीले केक मात्र काटेको होइन,  संस्कृति काटेको हो। जानी नजानी स्वास्थ्यलाई जोखिममा पारेको हो।

हो, पश्चिमा जगतको नक्कल गर्नुपर्छ, तर राम्रा कुराको। स्वस्थ रहन उनीहरूले दिएको ज्ञानको ‘फलो’ हामीले गर्नैपर्छ। तर आफ्नै समाजमा भएको भरिपूर्ण संस्कृति मेटाएर आफ्नो  स्वास्थ्य र देशको संस्कृतिलाई हानि पुर्याउने काम कुनै पनि अर्थले राम्रो मान्न सकिँदैन।

एकपटक मनन गरौँ।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या