नलोभिनुस् बजारका रंगीचंगी खानेकुरामा, दाजुभाइलाई खुवाउनुस् आफ्नै घरका परिकार

नलोभिनुस् बजारका रंगीचंगी खानेकुरामा, दाजुभाइलाई खुवाउनुस् आफ्नै घरका परिकार

तिहार साँस्कृतिक एवं सामाजिक महत्त्वको पर्व हो। काम वा व्यवहारले टाढा ढाटा रहेका दाजुभाइ दिदीबहिनीबीच भेट गराउने पारिवारिक मिलनको पर्व पनि हो। चाडपर्व भेटघाट रमाइलो भन्नेबित्तिकै खानपानको कुरा त आइहाल्छ नै।

तिहारमा लक्ष्मीपूजाका लागि होस् वा भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई दिन सेलरोटी, मिठाइको महत्त्व छ। यसैगरी विभिन्न किसिमका खाने मसला (ड्राई फ्रुट्स) पनि दाजुभाइलाई दिदीबहिनीले दिन्छन्।

दिदीबहिनीले दाजुभाइको आरोग्य र दीर्घायुको कामना गर्ने पर्व हो भाइटीका। त्यसैले उनीहरूलाई दिने खानेकुरा र सगुन पनि स्वास्थकर हुनुपर्छ। तबमात्र दाजुभाइ स्वस्थ र लामो आयुका हुन सक्छन्।

तिहार अँध्यारोबाट उज्यालोतर्फ लैजान प्रेरित गर्ने चाड हो। अकाल मृत्युबाट जीवनतिर लैजान हौसला दिने चाड हो। अस्वस्थकर र अनियन्त्रित खानपान गरेर उज्यालोबाट अँध्यारो र जीवनबाट मृत्युतर्फ जाने बाटो नरोज्नुस्।

सेलरोटी, अनरसाहरू चिल्लो नभई बन्दैनन्। यसैगरी गुलियो पनि हुनैपर्छ। घरमा बनाएका सेलरोटी स्वस्थकर हुन्छन्। यसमा दुईमत छैन। तर आफ्ना दाजुभाइमा के स्वास्थ्य समस्या छ, उनीहरूलाई कति दिने भन्ने जानकारी दिदीबहिनीले राख्न जरुरी छ।

यस्तै दाजुभाइले पनि हात परेका खानेकुरा सन्तुलन मिलाएर खान जरुरी छ। घरमा बनाइने सेलरोटी त भइहाले। अचेल धेरै दिदीबहिनीको आँखा मिठाइ पसलमा सजाएर राखिएका रंगीचंगी मिठाइमा जाने गरेको छ।

वर्षमा एकपटक खुवाउने हो, आफ्ना दाजुभाइलाई ‘भेराइटी’ खुवाऊँ न भन्ने सोच सबैको हुन्छ। तर बजारमा देखिने रंगीचंगी मिठाइको कथा अर्कै हुन्छ। प्रायजसो मिठाइ मैदाबाट बनेका हुन्छन्। यसैगरी तिहारका लागि लक्ष्य गर्दै धेरै समयअघिदेखि बनाइएका हुन्छन्।

चिनीको मात्रा बढी भएका हुन्छन्। एउटै तेल महिनौँसम्म प्रयोग भइरहेका हुन्छन्। यसकारण ती मिठाइ स्वस्थकर हुँदैनन्। दीर्घरोगको सम्भावना त छँदैछ। तत्काल ‘फुड प्वइजन’को हुनसक्छ।

लक्ष्मीपूजाका दिन लक्ष्मीलाई चढाउन घरमै बनाइने सेलरोटी, खीर हलुवा स्वथकर हुन्छन्। लक्ष्मीलाई चढाउने र दाजुभाइलाई दिने मिठाइ आफैँ बनाउनु उपयुक्त हुन्छ। बेसन, बदामलगायतका लड्डु बनाउन सजिलो छ। घरमै दुईजनाको मेहेनतले लड्डु तयार पार्न सकिन्छ। घरमै बनाइएका हलुवा, खिर आदिले पनि दाजुभाइको सत्कार गर्न सकिन्छ।

नरिवल, छोकडा, काजु, बदाम, ओखर र किसमिस जस्ता वस्तु स्वास्थ्यका लागि लाभदायक छन्। स्याउ,केरा र सुन्तलालगायतका फलफूल पनि स्वस्थकर हुन्छन्। मात्रा मिलाएर खाँदा शारीरीक हिसाबले मात्र नभई मानसिक रूपले स्वस्थ रहन मद्दत गर्छ।

उच्च रक्तचाप, मधुमेह दीर्घरोग भएकाले मात्र होइन धेरै गुलियो, चिल्लो पदार्थ अरुले पनि धेरै नखानु बेस्। अचेल धेरैजसोका मानसिकता के छ भने डिपार्टमेन्ट स्टोरजस्ता ठूल्ठूला पसलबाट ल्याइएका, रंगीचंगी प्याकेटमा सजिएका खानेकुरा दिन सकियो भने दाजुभाइ खुशी हुन्छ। अनि कति दाजुभाइ पनि घरका खानेकुरा भन्दा बजारबाट ल्याएका खानेकुरा दिदीबहिनीले दिएको देख्दा दंग पर्छन्।

हो हेर्नका लागि र क्षणिक रूपमा जिब्रोका लागि पनि यी खानेकुरा राम्रा र स्वादिला हुन्छन्। तर स्वास्थ्यका दृष्टिले यी लाभदायक हुँदैनन्। हानिकारक हुन्छन्।

तिहार सकिएलगत्तै धेरै मानिस अस्पताल दौडिनुपर्ने अवस्था हामी देख्छौँ। अस्पतालहरू बिरामीले भरिन्छन्। जथाभावी वा अनियन्त्रित रूपमा खानपान गर्दा ठूला चाडपर्वपछि यस्ता समस्या देखिने गरेको हो। हामी धुमधामसँग पूजा गर्छौँ लक्ष्मी भित्र्याउँछौँ। तर रमाइलोका नाममा अस्वस्थकर र अनियन्त्रित खाना खान्छौँ। व्यथै खर्च बढाउँछौँ। रोगी बन्छौँ।

तिहार अँध्यारोबाट उज्यालोतर्फ लैजान प्रेरित गर्ने चाड हो। अकाल मृत्युबाट जीवनतिर लैजान हौसला दिने चाड हो। अस्वस्थकर र अनियन्त्रित खानपान गरेर उज्यालोबाट अँध्यारो र जीवनबाट मृत्युतर्फ जाने बाटो नरोज्नुस्। सबैलाई तिहारको शुभकामना!