नेपालमा अझै राम्ररी बुझाउन सकिएको छैन फर्मासिस्टको महत्त्व

नेपालमा अझै राम्ररी बुझाउन सकिएको छैन फर्मासिस्टको महत्त्व

औषधि हाम्रो शरीरको लागि निकै महत्त्वपूर्ण वस्तु हो। औषधि ठिकसँग प्रयोग गर्दा शरीरलाई फाइदा पुग्छ भने यसको सदुपयोग गर्न नजान्दा हानि पुर्याउँछ। बिरामीलाई औषधिको प्रयोगबारे निर्देश गर्न फर्मासिस्टको महत्त्वपूर्ण भूमिका हुन्छ। तर नेपालमा अझै पनि फर्मासिस्टको महत्त्व राम्ररी बुझाउन सकिएको छैन।

फर्मासिस्ट भन्नेबित्तिकै सर्वसाधारणले औषधि पसलमा बसेर औषधि बेच्ने मात्र बुझ्छन्। तर फर्मासिस्टको काम त्यतिमा मात्रै सीमित छैन। औषधि पसलमा बसेर औषधि वितरण गर्नु मात्रै फर्मासिस्टको काम होइन। बिरामीको उपचार शुरु हुने अवस्थादेखि नै फर्मासिस्टको महत्त्वपूर्ण भूमिका हुन्छ। उनीहरूले बिरामीको अवस्था रोग विविध पक्षलाई हेरेर औषधिको मात्रा मिलाउने कामसमेत गर्छन्।

बिरामी अस्पताल पुगेर चिकित्सकलाई देखाएपछि चिकित्सकले आवश्यकताअनुसार औषधि लेख्छन्। डाक्टरले औषधिको मात्रा लेखिदिएपछि फर्मासिस्टको काम शुरु हुन्छ। चिकित्सकले लेखेको औषधि कसरी खाने, कति मात्रामा खाने भनेर फर्मासिस्टले दिन्छन्। तर यतिमा मात्र उनीहरूको काम सीमित हुँदैन। उनीहरूले बिरामीलाई औषधिको ‘साइड इफेक्ट’ भयो भने के गर्ने, कसरी आफ्नो औषधिको बारेमा जानकारी लिने समेत बुझाउँछन्।

नेपालकाे सन्दर्भमा कुरा गर्ने हो भने १०० ‘बेड’ भएको अस्पतालमा एउटा क्लिनिकल फर्मासिस्ट हुनुपर्छ। तर हामीकहाँ सबै अस्पतालमा छैनन्। प्राइभेट अस्पतालबाट यसको अभ्यास भइरहेको छ। क्लिनिकल फर्मासिस्टको मुख्य काम–बिरामीलाई दिइएको औषधिले उनीहरूलाई नकारात्मक असर नगरोस् र उनीहरूको स्वास्थ्यमा छिटो सुधार आओस् भनेर औषधिको सबै पक्ष हेर्ने नै हो।

पछिल्लो समय दीर्घरोगीहरू निकै बढेका छन्। एउटै बिरामीले विभिन्न किसिमको औषधी खानुपर्ने हुनसक्छ। मधुमेह क्यान्सर, उच्च रक्तचापजस्ता समस्या भएका बिरामीमा औषधिको अझ बढी व्यवस्थापन गर्न जरुरी हुन्छ। धेरै किसिमका औषधिको प्रयोग गर्दा मात्र मिलाएर खान नजान्दा औषधिले असर पनि गर्न सक्छ। त्यस्तो परिस्थितिमा कुन औषधि कसरी खाने, कुन वेला खाने भनेर बिरामीलाई सल्लाह दिने काम फर्मासिस्टको हुन्छ।

नेपालमा ‘क्लिनिकल फर्मासिस्ट’को समेत अवधारणा आइसकेको छ। केही अस्पतालमा क्लिनिकल फर्मासिस्टको व्यवस्था गरिएको छ। उनीहरूले चिकित्सक र स्वास्थ्यकर्मीसँग मिलेर अस्पतालको शय्यामा पुगेर औषधिबारे बिरामीलाई बुझाउने काम गर्छन्। उनीहरूमा औषधिका कारण आउन सक्ने जटिलता कम गर्न सहयोग गर्छन्। जटिलता देखिएमा तुरुन्त चिकित्सकलाई खबर गरी त्यसको जोखिम न्यूनीकरण समेत गर्छन्।

नेपालकाे सन्दर्भमा कुरा गर्ने हो भने १०० ‘बेड’ भएको अस्पतालमा एउटा क्लिनिकल फर्मासिस्ट हुनुपर्छ। तर हामीकहाँ सबै अस्पतालमा छैनन्। प्राइभेट अस्पतालबाट यसको अभ्यास भइरहेको छ। क्लिनिकल फर्मासिस्टको मुख्य काम–बिरामीलाई दिइएको औषधिले उनीहरूलाई नकारात्मक असर नगरोस् र उनीहरूको स्वास्थ्यमा छिटो सुधार आओस् भनेर औषधिको सबै पक्ष हेर्ने नै हो।

हामी जति बढी औषधि बिरामीका लागि ‘प्रेस्क्राइब’ गर्छौँ, उति नै औषधि औषधिबीच ‘अन्तरद्वन्द्व’ भई कतिपय ठाउँमा बिरामीलाई नकारात्मक असर पर्नसक्छ। यसका कारण बिरामीको रोग समयमै निको नहुने, लामो समयसम्म बिरामी अस्पतालमा भर्ना हुनुपर्ने, उपचारमा लाग्ने खर्च वृद्धि हुने र उपचार कठिन हुन जानेजस्ता समस्या बढ्न सक्छ। त्यसैले औषधि औषधिबीचको  अन्तरद्वन्द्व वेलैमा पत्ता लगाई बिरामीको सुरक्षा गर्ने काम अस्पतालभित्र क्लिनिकल फर्मासिस्टले गरेको हुन्छ।

फर्मासिस्टको यही भूमिकाबारे सर्वसाधारणलाई ज्ञान दिन हरेक वर्ष सेप्टेम्बर २५ विश्वभर फर्मासिस्ट डे मनाइन्छ। फर्मासिस्ट डेको यो वर्षको नारा ‘सबैका लागि सुरक्षित प्रभावकारी औषधि’ रहेको छ।

प्रस्तुति : अशिम सापकाेटा